वैशाख, काठमाडौं । नेपालमा भलिबल त्यति चर्चित छैन, जति फुटबल, क्रिकेट चर्चित छन् । भलिबलका राष्ट्रिय खेलाडीहरुलाई पनि कमैले चिन्छन् । तर, मानबहादुर श्रेष्ठ जस्ता प्रतिभा अन्धकारमा जूनकिरी चम्केझैं चम्किरहेका छन् ।
भलिबल खेल्न सुरु गरेको १० वर्षमा उनले आर्जन गरेको सफलता लोभलाग्दो छ । मानबहादुर जहाँ-जहाँ खेल्न जान्छन्, केही न केही उपाधि जितिहाल्छन् । टिमले नजितेका प्रतियोगितामा समेत उनले व्यक्तिगत उपाधिहरु जितेर सबैलाई चकित पार्दै आएका छन् ।
उनको खेलको प्रभावले विपक्षी पनि नतमस्तक भइदिन्छन् । यसैको उदाहरण हो, एसियाली भलिबल महासंघअन्तर्गतको चौथो एसियाली सेन्ट्रल जोन भलिबलमा माल्दिभ्सका खेलाडी ओलि हुजामले पाएको पदक मानबहादुरको नाममा समर्पित गर्नु ।
अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको झण्डै ४२ वर्षपछि नेपाली पुरुष भलिबल टोलीले ०७३ साल चैतमा माल्दिभ्समा सम्पन्न एसियाली सेन्ट्रल जोन भलिबलमा कास्य पदक जित्दा मानबहादुर टोलीमा महत्वपूर्ण सदस्य थिए । जुन अन्तर्राष्ट्रिय भलिबल प्रतिगोगितामा नेपाली टोलीले जितेको एकमात्र पदक हो ।
प्रतियोगितामा मानबहादुरले ‘बेस्ट आउटसाइड हिटर’ को उपाधि पनि पाएका थिए ।
राष्ट्रिय प्रतियोगितामा नेपाल आर्मी क्लबबाट पनि मानबहादुरले आफूलाई प्रमाणित गरेका छन् । यस वर्षको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा उनी फुटबलका किरण चेम्जोङ, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, क्रिकेटका सन्दिप लामिछाने र गल्फकी प्रतिमा शेर्पासँग प्रतिस्पर्धामा छन् ।
क्रिकेट छाडेर भलिबल
मानबहादुर १५ दिनको हुँदा नै बुवाले अर्को श्रीमती ल्याएर आमालाई छाडिदिए । यसैले उनी मामाघरमा बसेर हुर्किए । उनलाई मामाघरबाट खेल्ने समय पर्याप्त मिल्थ्यो । विद्यालयमा पनि खेलकूद गतिविधि नियमित हुन्थ्यो ।
सुरुका दिनमा उनमा क्रिकेट मोह थियो । तर, त्यो लामो समय टिकेन । नवलपरासी कावासोतीमा रहेको जीवनज्योति माविमा ८ कक्षा पढ्दा उनको खेल मोह क्रिकेटबाट भलिबलतिर बढ्यो । ‘त्यो बेला स्कूलमा क्रिकेट त खेलियो तर, प्रतियोगिता नै नहुने । आफैं-आफैं यत्तिकै खेल्ने मात्रै भयो । भलिबलको प्रतियोगिताहरु भइरहेका हुन्थे । हाम्रो खेलकुदका सर निराजन महतो भलिबलमा राम्रो हुनुहुन्थ्यो । उहाँसँगै सिकेर मैले पनि भलिबल सुरु गरें,’ उनी सम्झन्छन् ।
उनले ०६५ सालबाट भलिबल खेल्न सुरु गरेका हुन् । सुरुमा त्यति उम्दा थिएनन् । निराजन सरले उनको खेल खारेर अगाडि ल्याइदिए । यसैले मानबहादुर आफ्नो पहिलो गुरुको रुपमा निराजन सरलाई सधैँ सम्झन्छन् ।
उनी नवलपरासी हुँदै पश्चिमाञ्चल क्षेत्रीय टिममा पुगेर स्कूले उमेरमै राष्ट्रपति रनिङ शिल्ड भलिबल खेल्न थाले । त्यही समयका प्रतियोगिताहरुमा उनी उत्कृष्ट स्पाइकरको अवार्ड पाउँथे । ‘विद्यालयमै हुँदा प्रशिक्षकले नै यसरी सिकाइदिनुभयो कि भलिबल कहिले पनि छाड्न मन लागेन । त्यसपछि क्रिकेट कहिल्यै खेलिनँ, भलिबलमै समय बित्यो,’ उनले भने ।
पश्चिमाञ्चलदेखि राष्ट्रिय टिमसम्म
कलिलो उमेरमै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मानबहादुरले देखाएको खेल धेरैले नियालेका थिए । यसले उनलाई पश्चिमाञ्चलको सिनियर टिममा स्थान मिल्यो । ‘पश्चिमाञ्चलमै हुँदा जापानी प्रशिक्षकबाट पनि सिक्ने मौका पाएँ । जापानी प्रशिक्षक सिगेरो नेमोतोबाट दुई महिना सिकेपछि मेरो खेल झनै खारियो,’ उनी भन्छन् ।
२०६८ मा पश्चिमाञ्चलको सिनियर टिमबाट खेलेका मानबहादुरमा धेरैले असिमित सम्भावना देखे । यसैले उनलाई नेपाल प्रहरीको टिममा स्थान मिल्यो । करारमा झण्डै दुई वर्ष उनले प्रहरीको टिमबाट खेले ।
माल्दिभ्समा भएको तेस्रो एसियाली सेन्ट्रल जोन भलिबलमा नेपाली टोलीले आश गरिएअनुरुप प्रदर्शन नगरे पनि मानबहादुरले आफ्नो प्रभाव कायम राखे । यसैले माल्दिभ्ससँग खेलपछि ओलि हुजामले आफूले पाएको पाएको पदक मानबहादुरलाई दिए
पश्चिमाञ्चलबाट ०६९ सालमा पुलिसमा गएका मानबहादुर ०७१ सालमा आर्मीमै जागिर सुरु गरेर आर्मी टिमबाट खेल्न थाले । ‘मेरो खेल हेरेपछि पुलिसमा करारमा मात्रै रहेको थाहा पाएर आर्मीको प्रशिक्षकले बोलाउनुभयो । भलिबलबाटै जागिर पनि मिल्ने भएपछि आर्मीमा गएँ,’ उनले भने । आर्मीबाट खेलेको झण्डै एक वर्षमा मानबहादुर राष्ट्रिय टिमको सदस्य बन्न पाए । उनले सन् २०१५ मा बंगलादेशमा भएको एशियाली सेन्ट्रल जोन भलिबलमा बंगलादेशविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् । त्यसपछि उनी निरन्तर राष्ट्रिय टिममा छन् ।
बिर्सनै नसक्ने क्षण
हरेकको जीवनमा केही यस्ता क्षणहरु हुन्छन्, जसले पछिसम्म पनि झक्झकाई रहन्छ । अझ खेलाडीको जीवनमा उत्साहका त्यस्ता जीवन्त क्षण हुन्छन् जसले खेल्न छाड्दासम्म पछ्याइरहन्छ ।
अन्तर्राष्ट्रिय भलिबलमा भाग लिन थालेको झण्डै ४२ वर्षपछि नेपाली पुरुष भलिबल टोलीले उपाधि जित्दाको क्षण मानबहादुर बिर्सन सक्दैनन् । भलिबलमा लागेर उनले पाएको ठूलो सफलताले उनलाई अरु कुरा सोच्न दिएन ।
माल्दिभ्समा भएको तेस्रो एसियाली सेन्ट्रल जोन भलिबलमा जितेको कास्य पदकपछि नेपाली टोलीमाथि गरिएको आश यसपटक भने निराशामा बदलियो । चौथो एसियाली सेन्ट्रल जोन भलिबलमा नेपाल पदकविहीन बन्यो ।
नेपाली टोलीले आश गरिएअनुरुप प्रदर्शन नगरे पनि मानबहादुरले आफ्नो प्रभाव कायम राखे । यसैले माल्दिभ्ससँग खेलपछि ओलि हुजामले पाएको पदक मानबहादुरलाई दिए । ‘माल्दिभ्सका हुजामले मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाए । तर, उनको नाम बारम्बार उच्चारण हुँदा पनि उपाधि लिन गएनन्,’ मानबहादुर भन्छन्, पछि उनले लिए र यो उपाधि मेरो होइन, तिम्रो हो भनेर मेरो हातमा ल्याएर अवार्ड राखिदिए ।’
किर्गीस्तानसँग तेस्रो स्थानका लागि भएको खेल हार्दा पनि उनले बेस्ट स्पाइकरको अवार्ड पाए । ‘तेस्रोमा जितेको कास्य पदक त मेरा लागि अविस्मरणीय छ । त्यो अहिलेसम्मकै उत्कृष्ट खेल हो,’ उनले भनेका छन्, ‘योपटक हाम्रो रिसिभमा केही कमजोरी देखियो । सोचेजस्तो हुन सकेन । अर्को पटक थप मेहनत गर्ने छौं ।’
विजयी कप्तान
गएको वर्ष नेपाल आर्मी क्लबको कप्तान भएर खेलेको तीनवटै प्रतियोगितामा मानबहादुरले जित दिलाए । यसमा उनको खेलसँगै संयोजन र व्यवस्थापनको कला पनि झल्किन्छ । उनको कप्तानीमा आर्मीले राखेप च्याम्पियनसिप, प्रधानसेनापति कप र एनबीए कपको उपाधि उचाल्यो । ‘आफ्नो कप्तानीमा उपाधि जित्दा खुशी लाग्छ । टिमलाई राम्रो नेतृत्व दिन पाएको छु । सबै कुरा राम्ररी नै भइरहेको छ । आफूलाई कप्तान चलाउँदा गर्व पनि लाग्छ । प्रशिक्षकले दिएको जिम्मेवारी र गरेको विश्वासमा खुशी मिल्छ,’ उनी भन्छन् ।
प्रशिक्षकले गरेको विश्वासमा मानबहादुरमा खरो उत्रिए । २०७४ को सुरुमा कप्तानी सम्हालेका उनले वर्षको तीन उपाधि जिताएका हुन् । जसमा उनले प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बेस्ट स्पाइकर, राखेप च्याम्पियनसिप भलिबलमा बेस्ट प्लेयर, एनबीए कपमा बेस्ट प्लेयरको अवार्ड पनि पाए ।
०७४ सालमै एनबीएले दिएको वर्षकै उत्कृष्ट खेलाडीको अवार्ड पनि उनले पाए । यस्तै उपलब्धिहरुले ६ फिट अग्ला मानबहादुरको उचाइ अझै अग्ल्याएको छ ।
भलिबलले जुराइदियो जोडी
भलिबलमा लागेर मानबहादुरले पाएको सुखी जीवनमा श्रीमतीको पनि राम्रो साथ छ । मानबहादुरको भलिबल प्रेमले नै जीवनको प्रेम जुराइदिएको हो ।
उनकी श्रीमती लिसा थापा पनि भलिबलकै खेलाडी हुन् । लिसा जावलाखेल क्लबबाट खेल्थिन् । एनबीए कप खेल्न जाँदा मानबहादुर र लिसाको चिनजान भयो । ‘मेरा खेल हेर्दा उनलाई राम्रो लागेछ । चिनजानपछि नम्बर साटासाट भयो । पछि हामी दुई वर्ष प्रेममा बस्यौं र बिहे गर्यौं,’ मानबहादुर भन्छन् ।
क्रिकेट-फुटबल खेलाडीहरुलाई सबैले चिन्छन् । समाजमा उनीहरुको छुट्टै प्रतिष्ठा छ । तर, अरु खेलका खेलाडीले उस्तै काम र उस्तै मेहनत गर्दा पनि ओझेलमा पर्ने परिस्थिति मानबहादुरलाई मन परेको छैन
अहिले उनीहरुको तीन महिनाकी छोरी छिन् । विवाहपछि लिसाले भलिबल खेल्न पाएकी छैनन् । उनलाई अहिले पनि खेल्न धेरै मन छ ।
‘बिहेपछि बुढाबुढी नै खेलिन्थ्यो । आफै अभ्यास गर्दै बस्थ्यौं । बच्चा भएपछि अलि मिलेन,’ मानबहादुर सुनाउँछन्, ‘आमा, श्रीमती, छोरी र म हामी चार जनाको परिवार भलिबलबाटै पालिएका छौं । मसँग जेजति छ सबै यही खेलको देन हो ।’
कमाइ कति ?
क्रिकेट-फुटबल खेलाडीहरुलाई सबैले चिन्छन् । समाजमा उनीहरुको छुट्टै प्रतिष्ठा छ । तर, अरु खेलका खेलाडीले उस्तै काम र उस्तै मेहनत गर्दा पनि ओझेलमा पर्ने परिस्थिति मानबहादुरलाई मन परेको छैन ।
‘मैले पारस खड्का भेटेको छैन, विमल घर्तीमगर भेटेको छैन तर उनीहरुलाई म राम्ररी चिन्छु । अरु धेरैले पनि चिन्छन् । मिडियामा आउने कुरा र चर्चा पाउने कुरा भिन्न छ,’ उनी भन्छन्, ‘भलिबल खेलाडी पनि उस्तै कर्ममा छन् । राष्ट्रकै लागि खेलिरहेका छन् । उनीहरुको अवस्था भिन्न छ ।’
विस्तारै त्यो क्रम भलिबलमा पनि आइरहेको र मानिसहरुले सम्झन थालेकामा भने उनलाई खुशी लाग्छ ।
जुनियर टिमहरुमा खेल्दा प्रतियोगिताको ५ हजार रुपैयाँ लिएको सुनाउने मानबहादुरको कमाई अहिले कति छ ? ‘अहिले मासिक रुपमा यति नै कमाउँछु भन्ने त छैन । खेल हुँदा र नहुँदा फरक हुन्छ । गएको वर्ष झण्डै ७ लाख रुपैयाँ कमाइ भयो । भलिबलमै लागेर पनि बाँच्न सकिने भएको छ,’ उनले भने ।
मानबहादुर दैनिक ६ घण्टा अभ्यास गर्छन् । बिहान ४ घण्टा र बेलुका २ घण्टा अभ्यास गर्ने गरेको उनले सुनाए ।
अब नेपाल दक्षिण एसियामा राम्रो उपस्थिति जनाउन सक्ने उनलाई विश्वास छ । मानबहादुरले २०६८ सालमा भलिबलको क्षेत्रीय रेफ्री र २०७० मा राष्ट्रिय रेफ्रीको अनुमति पनि पाइसकेका छन् । यसले उनलाई खेल जीवनपछि के गर्ने त भन्ने बाटो देखाएको छ ।