आज विश्व एचआईभी एड्स दिवस, नेपालमा संक्रमण घट्दै

आज विश्व एचआईभी एड्स दिवस, नेपालमा संक्रमण घट्दै

काठमाडौं, मंसिर १६–

पछिल्लो समय नेपालमा एचआईभी एड्सको सङ्क्रमण घट्दै गएको छ । एचआईभीको नयाँ सङ्क्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको स्वास्थ्य मन्त्रालयको दाबी छ ।एचआईभीरएड्ससम्बन्धमा बढ्दो जनचेतनाले गर्दा एड्सप्रति मानिसको धारणा बदलिएको स्वास्थ्य मन्त्रालय सम्बद्ध अधिकारीहरू बताउँछन् ।
स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा.तरुण पौडेलले नेपालमा सन् २०१० को तुलनामा १४६ प्रतिशतले एन्टिरेट्रोभाइरल (एआरभी) औषधिमा पहुँच बढेको जानकारी दिँदै हाल नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआईभी सङ्क्रमण रहेको अनुमान गरिएको बताए । तीमध्ये पुरुष २४ हजार ४४९ र महिला १४ हजार ९४८ छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर वर्गमा ०।२ प्रतिशत एचआईभी दर रहेको जानकारी पनि डा.पौडेलले दिए ।
विश्वमा सन् २००० को तुलनामा ३५ प्रतिशतले एड्सको सङ्क्रमण दर घटेको जानकारी दिँदै डा.पौडेलले बच्चामा हुने सङ्क्रमण दर पनि ५८ प्रतिशतले कम भएको बताउनुभयो ।
सन् २००७ मा एचआईभी लाग्नेको सङ्ख्या नेपालमा ७० हजार सात सय थियो भने सन् २००९ सम्ममा उक्त सङ्ख्या ६३ हजार ५२८ मा झरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् २००९ सम्ममा दर्ता भएका एड्स रोगीको सङ्ख्या १६ हजार २६२ छ ।
डा.पौडेलका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइन्छ ।
हाल विश्वमा तीन करोड ३३ लाख मानिस एचआईभी सङ्क्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको हो । एचआईभी/एड्सबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ मा अन्तर्राष्ट्रिय एड्स दिवस मनाउने गरिन्छ । आज (बिहीबार) ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका विश्व एड्स दिवस मनाउन लागिएको छ ।
एचआईभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत् रूपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउने गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ