चितवन, माघ २०–
चितवनको भरतपुर अस्पतालले ओपिडी सेवाको समय बिस्तार गर्ने भएको छ । अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले अस्पतालको ओपिडी सेवालाई दिउँसो ४ बजेसम्म बढाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयको परिपत्र र बिरामीहरुको सेवालाई मध्यनजर गर्दै जनतालाई राहात दिन ओपिडी सेवाको समयअवधी बढाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । अस्पतालले अहिले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै ओपिडी सेवा सञ्चालन गर्दै आएको थियो । अस्पतालले दिउँसो २ बजेपछि सञ्चालन गरेको इएचएस सेवा भने हटाएको छ । शूल्क महंगो भएको र बिरामीको आर्कषण इएचएसमा नभएपछि साधारण ओपीडी सेवाको समय नै बढाइएको मेसु डा. मरासिनीले बताउनुभयो । अस्पतालले बिहानी सत्रको ओपीडी शूल्कलाई यथावत नै राखेको छ भने दिउँसो २ बजेपछिको ओपिडी टिकटको रकम ५० रुपैया तोकेको छ ।यसअघि इएचएसको टिकट शूल्क तीन सय राखिएको थियो ।
‘यसरी सेवा गर्ने चिकित्सक र कर्मचारीहरुले अत्तिरीक्त सुविधा दिने छौं’ मेसु डा मरासिनीले भन्नुभयो, ‘अस्पतालले चालु आर्थिक बर्षको असार मसान्तसम्म यहि व्यवस्था लागु गरेर ट्रायल फेजका रुपमा यसलाई हेरिने छ ।’ अस्पतालले हाल जनरल वेड चार्जका रुपमा ५० र पेइङमा ३ सय लिदै आएकोमा त्यसलाई समायोजन गरेर दुवै बेडमा एकमुष्ठ एक सय रुपैयाँ लिने निर्णय अस्पताल सञ्चालक समितिको बैठकले गरेको छ ।