गाउँले न्यूज, ३ असार, काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइ भइरहेका बेला अकस्मात लडेर निधन भएको इजिप्टका सरकारी अधिकारीहरुले जनाएका छन् ।
उनको पार्टी मुस्लिम ब्रदरहुडले भने सरकारी भनाइको खण्डन गर्दै उनको हत्या भएको दाबी गरेको छ ।
अधिकारवादी र परिवारका सदस्यहरुले गम्भीर स्वास्थ्य समस्या हुँदाहुँदै उचित उपचार नपाएर उनको ज्यान गएको भन्दै सरकारको कडा आलोचना गरेका छन् । ६७ वर्षीय मोर्सी उच्च रक्तचाप र मधुमेहलगायत रोगबाट पीडित थिए । परिवारका सदस्य तथा अधिकारवादीहरुले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका थिए । गत अक्टुबरमा उनका कान्छा छोरा अब्दुल्लाले एक टेलिभिजन अन्तरवार्तामा उपचार नगरी बुवालाई अलग राखिएको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए ।
मोर्सी इजिप्टमा हाल प्रतिबन्धित इस्लामिस्ट मुभमेन्ट मुस्लिम ब्रदरहुडका शीर्ष नेतामध्ये एक हुन् । इजिप्टको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाउँदै सन् २०१२ मा त्यहाँको सत्ता सम्हालेका थिए । तर सत्ता सम्हालेको १ वर्षपछि सन् २०१३ मा त्यहाँको सैनिकले उनको सरकार अपदस्थ गराएको थियो ।
उनीमाथि प्यालेस्टाइन इस्लामिक ग्रुप ह्याम्ससँग सम्बन्ध राखेकाे लगायत अभियोग लगाइएको छ ।