कचहरी डट कम ।। पछिल्लो समयमा हुम्लालाई छिचोल्ने कर्नाली किनारको बाटोमा पाइला पिच्छे होटलहरु स्थापना भएका छन् तर सरसफाइमा पूर्ण वेवास्ता गरिएको देखिन्छ ।
सदरमुकाम सिमकोटदेखि चंखेलीसम्म करीब सयभन्दा धेरै होटलहरु छन् । यी होटलहरुमा ९० प्रतिशत जतिमा न त राम्रो चर्पी छ, न त सरसफाइमा ध्यान दिइएको छ । मात्र खाना बनाएर दिनु र खाजाको नाममा चाउचाउ पकाएर दिने काम हुन्छ । अरु सरसामान र वस्तुहरु विरलै पाइन्छ । तर विभिन्न प्रकारका रक्सीहरु न खोजे पनि पाउन सकिन्छ ।
हाल हुम्लाका खार्पु, यांचु, बोक्चगौंडा, लालीबगर, छारे, लेप्चे, लिप्ने, रातापानी, ज्युला, स्यालतडी, दुल्ली, सर्केगाड, न्यासी, कल्पे, सलीसल्ला, लोती, देउली, जाच्या, मेल्छाम बगर, सातथाप्ले, जोगीमा–या, लेब्रा र चंखेली जस्ता ठाउँहरुमा होटलहरु स्थापना गरिए पनि बटुवाहरुका लागि खानाको मात्र व्यवस्था गरिएको पाएको छ । तर होटलको आन्तरितक, बाह्य र अरु सरसफाइमा ध्यान जान नसकेको स्थलगत अध्ययनबाट थाहा भएको छ ।
सिमकोटदेखि पिप्लांगसम्म प्रति छाक दुई सय र लोतीबाट एक सय रुपैंया पर्ने गरेको छ । होटलमा चिया, नास्ता र अन्य सामानहरु त्यति धेरै पाइदैन तर विभिन्न प्रकारका रक्सीहरु भने प्रशस्त मात्रामा पाइने गरेको छ ।
जिल्लाभरी विभिन्न सरकारी तथा गैरसरकारीस्तरबाट विभिन्न प्रकारका चेतनाका कामहरु गरिए पनि यी सेवा सुविधाहरु ग्रामीणस्तरसम्म पुग्न सकेको छैन ।
यति हुँदा हुँदै पनि मुगु जिल्लाको गमगढीसम्म मोटरबाटो पुग्दा यो बाटोमा पुनः फेरी चहलपहल बढेको छ । प्रत्येक होटलमा दिनको एक हजारदेखि १० हजारसम्म बिक्री हुने गरेको पाइन्छ तापनि स्थानीय परिकारहरु, सरसफाइमा ध्यान, एकरुपताको दररेट तथा राम्रो व्यवस्थापन भएमा गाउँ गाउँमा रहेका विभिन्न प्रकारका प्राकृतिक तथा धार्मिक स्थलहरु पनि आय आर्जनको स्रोत बन्ने सक्ने दार्मा गाउँका युवा प्रेम बहादुर शाहीले बताए ।
विभिन्न स्थानमा स्थापना भएका यी होटलहरुमा सरसफाइ र अन्य व्यवस्थापनमा ध्यान दिन सकेमा होटल व्यवसाय आम्दानीको राम्रो स्रोत बन्ने देखिन्छ ।