साँच्चै, अशोक दाइ ! तपाईको कलममा के छ, हँ त्यस्तो जादु ?

साँच्चै, अशोक दाइ ! तपाईको कलममा के छ, हँ त्यस्तो जादु ?

कर्णबहादुर रोकाया, हुम्ला / हो म राष्ट्यिस्तरको पत्रिकामा काम शुरु गरेको स्पेशटाइम दैनिकबाट भएको हो । त्यो अवसर पत्रकार साथी कृष्णराज सर्वहारीबाट भएको हो । म त्यतिखेर कीर्तिपुरको नयाँ बजारमा बस्थें । म  हातेमालो साहित्य समुह बनाएर हुम्लाको पहिलो हवाई पत्रिका हुम्लाश्री र हिमाली मुस्कान मासिक पत्रिकाहरु प्रकाशन गर्थे । त्यहि क्रममा नयाँ बजारको एक पत्रिका पसलमा मित्र कृष्णराज सर्वहारीजीसँग भेट भएको हो । उहाँ पनि दाङमा निवासी हुनु भएकोले पनि भावनात्मक रुपमा सम्पर्क बढ्दै गयो । त्यसपछि विभिन्न प्रकारका हवाई पत्रिकाहरु आदान प्रदान गर्ने क्रम बढ्दै गयो । साहित्यिक तथा पत्रकारिताका कुराहरुको बारेमा जानकारी आदान प्रदान हुँदै गयो । स्पेशटाइम दैनिक प्रकाशन हुने भएकोले उहाँकै सम्र्पक स्रोतबाट म हुम्ला जिल्लाको संवाददाता हुन पुगें र विभिन्न राष्ट्यिस्तरका पत्रकारहरुसँग चिनजान हुने क्रम बढ्दै गयो ।

म जे जसरी र जुन उत्साह, उमंग र उल्लासका साथ स्पेशटाइममा आवद्ध भएँ तर गोली विनाको शिकार, बोली विनाको मान्छे, झोली विनाको यात्री, सोली विनाको व्यापारी र खोली विनाको पानी झैँ म रित्तो, खाली, कच्चा, काँचो र अल्लारे रहेछु । त्यहाँ काम गर्दा मेरो अगाडि विशाल नारा, न्यालु, चाङ्ला, चंखेली, मुने, डाँफे, घुच्ची र हाउडी जस्ता विशाल हिमशिला जस्ता हिमालहरु अजंग भएर पो उभिएका रहेछन् । म त निस्सासिएँ, आत्तिएँ र भक्कानिएँ  तर पत्रकार बन्ने मनको तलतल र धोको मार्न सकिन ।

त्यहाँ नाम चलेका राष्ट्यिस्तरका पत्रकारहरु श्री आर्चाय, नयनराज पाण्डे, करुणानिधि शर्मा, नवराज गौतम, गोबिन्द पोखरेल, प्रशान्त अर्याल, अशोक श्रेष्ठ, केदार कोइराला, चंकी श्रेष्ठ लगायतका धेरै व्यक्तित्वहरुसँग नजिक हुन पाएँ । उहाँहरुले प्रयोग गर्ने र लेख्ने पत्रकारिताका सामान्य प्राविधिक शब्दावलीहरु समाचार, न्यूज, हार्ड न्यूज, सफ्ट न्यूज, आर्टीकल, फिचर, एङ्कर न्यूज, स्कुप न्यूज, प्रीन्टलाइन, बाइलाइन, डेटलाइन, डेडलाइन, क्याप्सन जस्ता शब्दावली नयाँ भए पनि मलाई यी शब्दहरुले मोहनी लगाउन थाले तर तर यी शब्दहरु खै के कुराको तारतम्य नमिलेर हो वा केले हो मैलै चार पाँच महिनासम्म खोजेर पनि पाइन तर खोज्न भने छोडिन । लाटो गाउँको गाँडो तन्नेरी झैँ हिमाली मुस्कान पत्रिकाको स्थानीय संवाददाता भएकोले बोन धर्मको अवशेषभित्र हुम्ला भन्ने लेख लेखेर पत्रकारको नामसँग मेरो नाम जोडिन थालेको थियो ।

अग्रज पत्रकार दाजुहरु दैनिक र साप्ताहिक पत्रिका पढेर नमुना खोज भन्ने सल्लाह दिनुहुन्थ्यो तर काँ, के, कसरी खोज्ने केही थाहा पत्ता थिएन । कागलाई बेल पाक्यो हर्ष न विस्मात भने झैँ म त कुहिरोभित्रको काग झैँ रुमलिएको थिएँ । तापनि पत्रकार बन्ने लालसाले च्यापिरह्यो, चिमोटिरह्यो, पछ्याइरह्यो र आजसम्म पनि पत्रकार बन्ने लालसाले पछयाइरहेको छ । कसरी पत्रकार बन्ने, जसरी पनि पत्रकार बन्ने अठोट बढ्दै थियो, त्यो बेला ।

रात दिन लेख्यो न छेऊ न टुप्पो । न त समाचार न त आार्टिकल । न त लेख न त रिपोतार्ज र त न हुन्थ्यो फिचर तर पनि लेखि रहेँ, निरन्तर लेखि रहेँ र लेखि रहेँ । अहिलेसम्म लेखिरहेको छु । एक असल पत्रकार बन्ने लालसाले लेखिरहेको छु । दाईहरु अशोक श्रेष्ठ, नयनराज पाण्डे, गोबिन्द पोखरेल, करुणा निधि शर्मा, प्रशान्त अर्यालहरुले उत्साह थप्दै ओहो भाई दुर्गमका धेरै कुराहरु नयाँ नयाँ होलान् । यसलाई मिलाएर यस्तो लेख, उस्तो लेख, यसरी लेख, त्यसरी लेख तर खै ? कसरी लेख्ने थाहा छैन । न त सीप छ । न त रुप छ । मात्रै छ अठोट र उत्साह मात्रै । र त मैले लेखि रहेँ, लेखि रहेँ र लेख्दैछु आजसम्म पनि र लेखिरहनेछु पछिसम्म पनि !

खोज्न थालेँसीप, प्रविधि, विधि, विधान र नयाँ कुराहरु पत्रकारिताको ? चाहार्न थाले काठमाडौंमा भएका पुस्तक पसलहरु । परिचय दिन थाले स्पेशटाइम दैनिकको हुम्ला संवाददाताको नाममा । न त छेउ न त टुप्पो भेटाएँ । तापनि लागि रहेँ अक्षरहरुको खात, पोको, डल्लो बोकेर स्पेशटाइमको केन्द्रीय कार्यालय पानीपोखरीमा । हुम्लाबाट हुलाक र फ्याक्सबाट पनि ।

दुर्गमको ठिटो देखेर दाजुहरु अशोक श्रेष्ठ समाचार प्रमुख, नयनराज पाण्डे शनिवार विशेष स्पेश विशेष लगायतहरुको हातमा त्यो अक्षरको डल्लो, पोको र खात पुगेर छानिएपछि समाचार, फिचर, लेख र रिपोतार्ज समेत भएर सुन्दर रुपमा प्रकाशनमा आउन थाले । म त तीन छक्क पर्थे । खै के कसरी लेखिएको हो । मलाई कहाँबाट करेन्ट लागेको हो कि जादुले छोएको हो ? म आफै मनमनै तिर्मिराउने पुग्थे ? डराई डराई अग्रज दाईहरुलाई सोध्थे, मैले त अक्षरको डल्लो मात्र दिएको थिएँ, यो कसरी भयो ? उहाँहरु भन्नु हुन्न्थ्यो यही त हो पत्रकारिता, म त अचम्म हुन्थे ? मलाई पत्रकारिताको चुम्बकीय शक्तिले तानिरह्यो र आजसम्म पनि तानिरहेको छ । यो एक दशकभन्दा लामो समयसम्म ? मैंले त्यो बेलादेखि त्यस्तै प्रकारले लेख्न प्रयास र अभ्यास गरिरहेको छु । सिकिरहेको छु पत्रकारिताका विविध विधा र सीपहरुलाई ।

धेरै समयपछि मलाई थाहा भयो पत्रिकाहरुमा त त्यसलाई अझ राम्रो बनाउनका लागि एडिटर अर्थात् सम्पादक, कपी एडिटर, समाचार प्रमुख, कार्यकारी सम्पादक, डेस्क सम्पादक, चिफ रिपोर्टर, रिपोर्टर, स्टिङ्गर आदि आदि । त्यो पत्रिकाको समाचार प्रमुख त अशोक दाइ (हाल उहाँ हामी माँझ हुनुहुन्न्) हुनुहुँदो रहेछ । स्पेश विशेषका नयनराज पाण्डे (लु र उलार उपन्यासका उपन्यासकार) र अरु प्रशान्त अर्याल ( हाल नेपाल साप्ताहिकका प्रधान सम्पादक), केदार कोइराला, गोबिन्द पोखरेल, करुणानिधि शर्मा, नवराज गौतम र चंकी पाण्डे लगाायत विभिन्न पत्रकारहरु हुनुहुन्थ्यो । उहाँहरुकै तिलस्मी हात र सीपयुक्त कलमबाट त्यस्तो भएको रहेछ ।

टाढा अर्थात् दुर्गमका कारण म काठमाडौं जाँदा मेरो सम्पर्क प्रत्यक्ष रुपमा समाचार प्रमुख अशोक दाइसँग हुन्थ्यो । उहाँ अस्ति व्यस्त भएर पनि मलाई धेरै समय दिनुहुन्थ्यो । म अक्षरको पोको उहाँलाई बुझाउँथे । मैले चार पाँच पल्ट लेखेर पनि अक्षरको खात भएको त्यो सामाग्रीलाई भोलिपल्ट उहाँको हातबाट राम्रा राम्रा र सुन्दर समाचार, लेख र फिचर भएर प्रकाशन हुँदा म अचम्मा पर्थे ? अनि भाइहरु मान ( मान बहादुर रोकाया, ऊ अहिले हुम्लाको पहिलो विद्यावारिधिकर्ता भएको छ), विदुर ( कोरियामा विद्यावारिधिरत), देवेन्द्र (अनुवांशिक इन्जिनियरिङ्गमा विद्यावारिधिकर्ता), आविष्कार (विद्यावारिधिकर्ता), उत्तम ( विद्यावारिधिकर्ता) हरु सोध्थे ? दाइ के तपाईले नै लेख्नु भएको हो ? म भन्थे अलिअलि हो, अलिअलि हैन ? मैले उनीहरुका केही लेखहरु पुर्नलेखन गरेर स्पेशटाइममा छाप्नका लागि सहयोग पनि गरें ।

म निरन्तर रुपमा पत्रकारिताको पछि पछि लागि रहेको छु । त्यही क्रेजले त्रिचन्द्र क्याम्पसमा मैंले स्नातक तेस्रो वर्षमा कार्यपत्रमुलक विषयमा पत्रकारिता लिएँ र हुम्ला संवाद साप्ताहिक र कर्णाली प्रवाह मासिक नमुना पत्रिका पनि प्रकाशन गरेको छु । त्यस्तै हुम्लामा बाल पत्रकारिताको तालिम दिने क्रममा करीब दुई दर्जन भित्तेपत्रिका प्रकाशन गर्ने क्रममा संलग्न भएको छु । हुम्लाका सबै प्रकारका पत्रिकाहरुमा पूर्ण तथा आंशिक रुपमा सहभागी भएको छु । जस्तै ः हिमाली मुस्कान हस्तलिखित भित्तेपत्रिका (जो मानसरोवर उच्च माविका विद्यार्थीहरुले निकालेका थिए ), हिमाली मुस्कान मासिक (कर्नालीको पहिलो दर्ता पत्रिका), हाम्रो हिमाली मुस्कान त्रैमासिक, हुम्ला संवाद, हिमचुली (हुम्लाको पहिलो बालिभित्तेपत्रिका), कर्नाली डट कम (हुम्लाको पहिलो साप्ताकि पत्रिका), हुम्लाश्री (हुम्लाको पहिलो हवाईपत्रिका) र कचहरी (मासिकदेखि साप्ताहिक पत्रिका) मा सम्पादक प्रकाशक छु । यो स्पेशटाइम दैनिक पत्रिका र त्यहाँ काम गर्ने माथि उल्लेखि दाइहरुको नै देन हो ।

मैँले पत्रकारिता गरेर नै जानि नजानि नयाँ नयाँ प्रयोग गर्दै आएको छु । नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक कुरालाई प्रभाव पार्ने जनयुद्धको समयमा पनि सहजीकरणको काम गरेर द्वन्द्व न्यूनिकरणमा सहयोग गरी नजानिकनै शान्ति पत्रकारिताको अभ्यास गर्न पुगेँ । गाउँघरका समाचार खोज्ने क्रममा आञ्चलिक अर्थात् ग्रामीण पत्रकारिताको बारेमा नयाँ प्रयोग गरिरहेको छु । हुम्लामा बसेर पनि यो विद्युतीय अर्थात् ईपत्रकारिताको माध्यमबाट छापा, अनलाइन तथा श्रव्यदृष्य माध्यममा केही मात्रामा भए पनि काम गरिरहेको छु । हालका दिनहरुमा पत्रकारितामा प्रयोग भएको मल्टिमिडियाको प्रयोग गरिरहेको छु । हाल म पत्रकारिताको फरक पाटो वैकल्पिक अर्थात् ग्रामीण पत्रकारिताको प्रयोगमा लागेको छु । पटक पटक सोच्ने गर्छु ? साँच्चै ! अशोक दाइ तपाईको कलममा के छ हँ त्यस्तो जादु ! आजसम्म पनि मलाई पत्रकारिताको मोहनी, जादु, तिलस्मीपन र यसको तलतलले छोड्न सकेको छैन ? मेरा यी अक्षरका शब्द सुमन तपाईलाई समर्पण गर्छु अशोक दाइ तपाईलाई !

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका