चितवन, पुस २७–
नेपालमा रहेका पुरातात्विक संरचनाहरुको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सबै लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नारायणगढको नारायणी नदी किनारमा आयोजित ११ औँ चितवन महोत्सवको अवसरमा बुधबार आयोजित ‘संघीय संरचना पछि पर्यटन विकासमा चितवन’ विषयक कार्यशाला गोष्ठीमा मन्तव्य राख्दै सरोकारवालाहरुले पर्यटकीय महत्व बोकेका धरोहरहरुलाई संरक्षण गर्नुपर्ने हामी सबैको दायित्व भएको बताएका हुन् ।
कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पर्यटन व्यवसायले गुणस्तरीय जीवन यापनमा सहयोग पुर्याउने र नयाँ–नयाँ व्यवसायमा व्यक्तिलाई आकर्षित गर्ने बताए । नेपालको छिमेकमा भारत र चीनजस्ता ठूला देशहरु भएकाले त्यहाँका मध्यम वर्गीय परिवारका व्यक्तिलाई मात्र नेपाल भित्राउन सकियो भने पनि नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने भट्टको भनाइ थियो । नेपालको केन्द्रबिन्दुको रुपमा चितवन रहनुका साथै चितवनमा विविधता भएकाले चितवनलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन सकिने भट्टले बताए । चितवनमा अध्ययन र अनुसन्धानको लागि समेत विदेशका विभिन्न विश्वविद्यालयबाट अनुसन्धानकर्ताहरु ल्याउन सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टले चितवनको पर्यटन व्यवसायलाई सबै ठाउँमा जोड्न लाग्नुपर्ने बताए ।
कार्यक्रममा महोत्सवका सदस्य सचिव एवम् उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले दियालो बंगलासहितका पुराना धरोहर संरक्षण गर्न चितवनबासी एक हुनुपर्ने बताए । कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै स्रोत व्यक्ति तथा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले पर्यटन व्यवसायसँग सम्बन्धित पर्यटन नीति परिवर्तन हुनपर्ने बताए । पर्यटन क्षेत्रमा दक्ष जनशक्ति नभएको, सूचना प्रविधि मार्फत यहाँको पर्यटकीय क्षेत्रको बारेमा विश्व सामु प्रचार प्रसार गर्नुपर्नेमा सुवेदीले जोड दिए ।
कार्यक्रममा चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले मन्तव्य राख्दै चितवनको पर्यटकीय क्षेत्र सिराईचुलीदेखि सौराहासम्म र देवघाटदेखि गोलाघाटसम्म फैलिएकोले यसको प्रवद्र्धनमा लाग्नुपर्ने बताए । कार्यक्रममा जिल्ला विकास समिति चितवनका शाखा अधिकृत प्रकाशचन्द्र पौडेल, मध्य नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, देवघाटधाम संरक्षण प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पिया, देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शैलेन्द्र कुमार पिया, नेचर गाईड एशोसिएसन चितवनका अध्यक्ष उदयचन्द्र अर्याल, मेघौली पर्यटन परिषद्का अध्यक्ष कृष्ण प्रसाद भुर्तेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम चितवन महोत्सवको गोष्ठी तथा सेमिनार संयोजक राजेन्द्र प्रसाद ओलीको अध्यक्षतामा आयोजना गरिएको थियो । यसैबीच, महोत्सवको चौथो दिन पुस २८ गते बिहीबार व्यवसायिक कृषिका लागि आधुनिकीकरण विषयक कार्यशाला गोष्ठी उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने गोष्ठी तथा सेमिनार समितिका सदस्य सचिव एवम् उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत दिपकराज विष्टले जानकारी दिए ।