दाङ, पुस ९ –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रले शक्तिशाली भएर नभई छटपटीमा विज्ञप्ति निकालेको आरोप लगाउनुभएको छ । दाङको घोराहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले पूर्व राजाको वक्तव्य धमिलो पानीमा माछा मार्ने प्रयास बाहेक अरु केही नभएको तर्क गर्नुभयो । पूर्व राजाले धेरै बोले दुःख पाउने भन्दै प्रधानमनत्री प्रचण्डले नबोल्न सुझाव दिनुभयो ।
पूर्व राजाले गएको बुधबार विज्ञप्ती निकालेर मूल्य र मान्यतामा आधारित राजनीति नभएको, नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाएको, बाह्य शक्तिको आडमा अस्थायी सत्ता हावी भएको भन्दै दुःखेसो गर्नुभएको थियो ।प्रधानमन्त्रीले संविधान संशोधन, चुनाव, महाअभियोग लगायतका विषयमा सहमतिमा आउन दलहरुलाई आग्रह गर्नुभयो ।
संसदमा प्रस्ताव दर्ता भइसकेकाले फिर्ता हुन नसक्ने भन्दै संसदबाटै त्यसको समाधान निकाल्नुपर्ने दोहोर्याउनुभयो । संशोधन प्रस्ताव फेल गरेर देखाउन विपक्षीलाई आग्रह गरेका उहाँले यसलाई चुनौति नठान्न पनि आग्रह गर्नुभयो ।
संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशको विषयमा एमालेले चाहिने भन्दा बढि उचालेको उहाँको आरोप थियो । प्रधानमन्त्री प्रचण्डले आफूले पद सम्हालेदेखिनै विपक्षीले नाकारात्मक टिप्पणी गरेर काम गर्न नदिएको गुनासो गर्नुभयो ।