Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा जताततै अन्धाधुन्ध प्लटिङ, उपमहानगरपालिका घोलखेतमा सिमित – Gaule Khabar

चितवनमा जताततै अन्धाधुन्ध प्लटिङ, उपमहानगरपालिका घोलखेतमा सिमित

चितवनमा जताततै अन्धाधुन्ध प्लटिङ, उपमहानगरपालिका घोलखेतमा सिमित

चितवन, माघ १२–

अन्धधुन्ध प्लटिङ गरेर घडेरी बिक्री गर्ने परिपाटी चितवनमा मात्रै नभएर देशभरकै समस्या हो । चितवनमा यसलाई रोक्न केही पहल भए पनि सार्थक हुन सकेको छैन । जहाँ पायो त्यही बिना मापदण्डका प्लटिङ फष्टाउँदा भरतपुर उपमहानगरपालिका भने घोलखेतमा हुने प्लटिङ रोक्न केन्द्रित भएको छ । तर, व्यवसायीले घोलखेतमा प्लटिङक गर्ने परिपाटी कमै छ ।
उपमहानगरपालिकाले जग्गा खण्डिकरण अर्थात प्लटिङले कृषिभुमि घडेरीमा परिणत भएको र मापदण्डको पालनाका बारेमा पनि प्रश्न उठेको भने स्वीकार गरेको छ । पुस २६ गते सम्पन्न उपमहानगरपालिकाको परिषद्मा कार्यकारी अधिकृत महेश बरालले नै यो कुरा उठाए । भूउपयोग योजनाको स्पष्ट कानुनी आधार नभएका कारण सबै ठाउँमा प्लटिङ रोक्न नसकेको उनले बताए । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
‘कृषिको विशिष्टिकृत तथा पकेट क्षेत्रको रुपमा रहेको चितवनमा हाल जग्गा खण्डिकरण (प्लटिङ)को समस्याले कृषि भूमिको घडेरीकरणमा तीव्रता आएको र यसमा मापदण्ड पालनको प्रश्न उठे पश्चात सर्वप्रथम यस विषयलाई नगर विकास समितिमार्फत सम्बोधन गर्ने प्रयास गरियो’ परिषद्मा कार्यकारी अधिकृत बरालले पेस गरेको लिखित प्रस्ताव पत्रमा भनिएको छ ।
नगर विकास समिति भएको ठाउँमा प्लटिङका लागि सो समितिले स्वीकृति दिनुपर्ने नियम छ । तर, भरतपुरको नगर विकास समितिको कार्यअवधि केही समयअघि सकिएको छ । वेथिति मौलाएको ठाउँमा पदाधिकारी खाली भए पनि नियुक्तिको चासो दिइएको छैन । समिति नभएको ठाउँमा स्थानीय निकायले पनि प्राविधिक समितिमार्फत प्लटिङका विषयमा निर्णय लिन पाउँछ ।
‘नगर विकास समितिका पदाधिकारीको अवधि सकिएको अवस्थामा सबै सरोकारवालाहरुको उपस्थिति तथा छलफलबाट उमनपास्तरीय निर्णय गरी प्लटिङलाई व्यवस्थित गरिएको छ’ कार्यकारी अधिकृत महेश बरालको भनाइ छ । मालपोत तथा नापीलगायतका कार्यालयहरुले ‘सार्थक सहयोग’ गरेको अवस्थामा प्लटिङ क्षेत्र व्यवस्थित हुने बरालले बताएका छन् ।
परिषद्मै कार्यकारी अधिकृत बराल यसरी प्रस्तुत भए पनि प्लटिङ व्यवस्थित गर्न नगरपालिका नै अधिकार सम्पन्न छ । नगरविकास समिति नभए पनि प्राविधिक समितिको सिफारिसमा स्थानीय निकायले प्लटिङको मापदण्ड हेरेर स्वीकृति दिने नियम छ । प्लटिङका लागि निश्चित मापदण्ड तोकिएका छन् । मापदण्ड पुरा नगरे स्वीकृति पाउँदैनन् ।
तर, कार्यकारी अधिकृत बरालले अरु ठाउँमा नसक्ने भएपछि घोलखेतमा भए पनि प्लटिङ रोक्ने पहल गरेको बताउँछन् । बोलीचालीमा घोलहरु भनिने भरतपुर क्षेत्रका होचो तर ज्यादै उर्बर कृषि भुमिमा आवास निर्माण गर्दा जोखिम बढ्ने बरालको भनाइ छ । उपमहानगरपालिकाले यस क्षेत्रमा प्लटिङ रोक्न वा थप प्राविधिक मापदण्ड तोक्ने तयारी गरेको उनले बताए ।
‘भूउपयोग योजनाको लागि स्पष्ट कानुनी आधार तयार नभएसम्म विपद् व्यवस्थापनको प्रावधानलाई टेकेरै भए पनि घोल क्षेत्रको प्लटिङलाई रोक्ने वा व्यवस्थित गर्ने प्रयास गरिने छ’ परिषद्मा प्रस्तुत प्रस्ताव पत्रमा उल्लेख छ ।
उपमहानगरपालिकाले घोल क्षेत्रको बढी चिन्ता गरे पनि प्लटिङ अहिले त्यहाँभन्दा बढी अन्य क्षेत्रमा नै मौलाएको छ । प्लटिङ गर्नेले मापदण्ड पुरा गरेर स्वीकृति लिने परिपाटी नै सुरू भएको छैन । बिना स्वीकृतिका प्लटिङमा घडेरी किन्दा प्राकृतिक प्रकोपका बेलामा संकटमा पर्नुका साथै भोलि गएर सरकारी सुविधा उपभोगमा पनि अप्ठ्यारो आउने अवस्था रहन्छ ।
प्लटिङ स्वीकृति गराएर कारोबार गर्नुपर्नेमा त्यसो नगरेको पाइएपछि चितवन जिल्ला प्रशासन कार्यालयमा गत साउनको दोस्रो हप्तासर्वपक्षीय छलफल भएको थियो । सो छलफलले मापदण्ड पुरा नगर्ने र सम्बन्धित निकायबाट स्वीकृति नलिइ घर जग्गा कारोबार गर्न व्यवसायीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले एक महिनाभित्रमा मापदण्ड पूरा गरी स्वीकृति लिएर मात्रै कारोबार गर्न बैठकमा सहभागी जग्गा व्यवसायीलाई चेतावनी दिएका थिए । सिंह रहेका बेलामा समेत अटेर गरेर बसेका जग्गा व्यवसायीहरु सिंहको सरूवापछि निश्चिन्त झै भएर धमाधम अनधिकृत प्लटिङमै रमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका