Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मालपोत कार्यालय चितवनको पाँच महिनामा ७० करोड राजस्व – Gaule Khabar

मालपोत कार्यालय चितवनको पाँच महिनामा ७० करोड राजस्व

मालपोत कार्यालय चितवनको  पाँच महिनामा ७० करोड राजस्व

दिपेन्द्र अधिकारी

चितवन,पुस ८-

जिल्ला मालपोत कार्यालय चितवनले पाँच महिनाको अवधिमा ७० करोडभन्दा माथि राजस्व असुली गरेको छ ।

मालपोत कार्यालय चितवनको मंसिर महिनासम्ममा कूल ७० करोड ३५ लाख ५५ हजार ७३३ रूपैयाँ राजस्व असुली भएको छ । यही अवस्थामा जग्गाको कारोबार र राजस्व असुली भएमा १ अर्ब ५० करोड बढी राजस्व मालपोत कार्यालयबाट संकलन हुने कर्मचारीहरु बताउँछन् ।

कार्यालयले मंसिर महिनामा मात्रै २० करोड राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख दिवाकर पौडेलका अनुसार सबै भन्दा बढी घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट राजस्व असुली भएको छ ।

गत कात्तिक महिनासम्ममा ५० करोड ३९ लाख ७३ हजार ४४४ रूपैयाँ राजस्व असुली भएकोमा मंसिर महिनामा मात्रै २० करोड रूपैयाँ राजस्व असुली भएको हो । आर्थिक वर्ष ०७२, ०७३ मा कूल ९४ करोड १५ लाख ३२ हजार ७२० रूपैयाँ राजस्व असुली भएकोमा यस आवको ५ महिनामै ७० करोड राजस्व असुली भएको छ । राजस्व संकलनको अवस्था हेर्दा अघिल्लो वर्षभन्दा यस आर्थिक वर्षमा जग्गाको कारोबार अत्यधिक बढेको पाइन्छ ।

अघिल्लो आर्थिक वर्षमा घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत कूल ८५ करोड ६८ लाख ४ हजार २४४ रूपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको ५ महिना अवधिमै घरजग्गा शीर्षकमा ५३ करोड ९४ लाख १९ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा सेवा दस्तुरबापत ७ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन भएकोमा चालु आवको मंसिर महिनासम्ममा तीन करोड ४५ लाख रूपैयाँ राजस्व संकलन भइसकेको छ । मालपोत कार्यालय भरतपुरका अनुसार कात्तिक महिनामा तीन हजार ८७३ थान लिखत पास भएको छ ।

गत वर्षको तुलनामा डेढ गुणादेखि दुई गुणासम्म जग्गाको मूल्य बढेको छ । केरा खेती, माछापोखरी, कुखुरापालनलाई जग्गा भाडामा लगाएका जग्गाधनीले समेत अहिले धमाधम प्लटिङ व्यवसायीलाई जग्गा बेच्न थालेका छन् ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले खेतीयोग्य जग्गाको संरक्षण गरेर मात्र प्लटिङका गतिविधि अघि बढाइएको बताए । साथै चितवनमा अव्यवस्थित रुपमा भइरहेको भनिएको जग्गा प्लटिङलाई व्यवस्थित गर्ने बारे पनि केही दिन अघि प्रधानमन्त्री चितवन आउँदा आफूले भेटेर कुरा राखेको र यस विषयमा विशेष चासो दिएर निर्णय लिने आश्वासन प्रधानमन्त्रीले दिएको अध्यक्ष अधिकारीले बताए ।

त्यस्तै केही दिनमै खैरहनी आसपास, माडी क्षेत्र र पश्चिम चितवनका स्थानीयले गाउँमै जग्गा कारोबारको सेवा लिन पाउने भएका छन् । नापी कार्यालय र मालपोत कार्यालयले आवश्यक पूर्वाधार सार्वजनिक गरी माडी, चनौली र खैरहनीका लागि गत महिना घर भाडामा लिने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका