Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
६ महिनाभित्रै सिक्टाबाट सिंचाई – Gaule Khabar

६ महिनाभित्रै सिक्टाबाट सिंचाई

६ महिनाभित्रै सिक्टाबाट सिंचाई

नेपालगन्ज,मंसिर २७-

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाईं आयोजनामार्फत आगामी ६ महिनाभित्र किसानको खेतबारीमा पानी पुर्याइने भएको छ ।आगामी जेठ असारसम्म जेठी नालासम्मको सबै निर्माण कार्य सम्पन्न गरी सोही ठाउसम्मका सयौं किसानका खेतहरुमा सिक्टाको पानी पुर्याइने तयारी भैरहेको सिक्टा सिचाईं आयोजनाले जनाएको छ ।

निर्धारित लक्ष्य अनुसार काम पुरा गर्ने उद्देश्यले हाल निर्माण कार्यलाई तिव्र पारिएको सिक्टा सिचाईं आयोजनाका प्रमुख रमेश बस्नेतले जानकारी दिए । ‘तयार भैसकेको नहरको सफाईको काम पनि तिव्र गतिमा भैरहेकोले ६ महिनाभित्र सिक्टाको नहरमा बगेको पानी किसानका खेतसम्म पुग्छ,’ आयोजनाका प्रमुख बस्नेतले सिंचाई मन्त्री दिपक गिरीलाई साक्षी राख्दै भने । उनले केही महिना पहिले परिक्षणका लागि नहरमा पानी छोडिंदा आएको समस्यालाई हाल आएर समाधान गरिसकिएको पनि बताए । ‘बिगतमा भएका गल्ती र त्रुटीबाट शिक्षा लिएर निर्माण कार्य भैरहेको छ,’ बस्नेतले भने ।आयोजनाको मुख्य बाँध निर्माण कार्य सकिएको छ । ‘फिनिसिङको काम हुँदैछ,’ बस्नेतले पत्रकार सँग भने । उनका अनुसार, मुल नहरको तेस्रो प्याकेज अन्र्तगत २५ देखि ३५ किलोमिटर क्षेत्रमा पर्ने करिब १० किलो मिटर नहरको काम २४ सै घन्टा तिब्र गतिमा काम भइरहेको छ ।

राष्ट्रिय गौरबको आयोजना सिक्टाका लागि नेपाल सरकारले चालु आर्थिक बर्षमा एक अर्ब ६९ करोड रुपैया छुट्याएको छ । बाँके जिल्लाको करिब ४२ हजार हेक्टरमा सिचाई सुविधा पुराउने उद्देश्यले २०६१ सालदेखि निर्माण कार्य शुरु भएको सिक्टा सिचाई आयोजनामा हालसम्म करिब १३ अर्ब रुपैयाँ खर्च भई सकेको छ ।

नेपाल सरकारको आन्तरिक स्रोतको ठूलो आयोजनाको रुपमा रहेको सिक्टा सिचाईको काममा समय समयमा बिभिन्न कारणले रोकिन जाँदा गत १० बर्षको अवधीमा ५० प्रतिशतमात्रै काम सम्पन्न भएको देखिन आएको छ ।

३६ हजार हेक्टरमा धान खेती भइरहेको बाँकेमा सिक्टा सम्पन्न भएमा त्यो बढेर ५० हजार हेक्टरमा पुग्ने कृषि प्राविधिकहरु बताउँछन् । आकाशे पानीको भर, मल बिउ र जनशक्तिको अभावले धान खेतीलाई कम गर्दै जाँदा खाद्यान्नको भण्डार भनिने बाँके परनिर्भरतातिर धकेलिएको छ । सिक्टा सम्पन्न हुनेबित्तिकै बाँकेका किसान लाभान्वित हुने र त्यसले जिल्लाकै खाद्यान्नमा राम्रो प्रभाव पार्ने आशा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका