सोलुखुम्बु जिल्लाका १२८९ घरधुरीले कर्कट जस्तापाताको छानो पाउने भएका छन् । खरको छानो रहेको र आफूले फेर्न नसक्ने विपन्न परिवारलाई जस्ताको छाना हाल्नका लागि सरकारले प्रतिघरधुरी ५० हजारका दरले अनुदान दिन लागेको हो ।सुरक्षित नागरिक आवस कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०७७/०७८ मा सोलुखुम्बुका बिपन्न परिवारले अनुदान पाउन लागेका हुन् ।
जिल्ला समन्वय समितिको कार्यालय, सोलुखुम्बु, सल्लेरीमा शुक्रबार संघीय सांसद हेमकुमार राई (सुरवीर)को संयोजकत्वमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले ८ वटै स्थानीय तहहरुमा अनुदान दिने घरधुरीको संख्या निर्धारण गरेको छ ।
बैठकको निर्णयअनुसार प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दुधकोशी गाउँपालिकामा सबैभन्दा बढि ३४७ र लिखुपिके उँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन् । यसैगरी सोलुदुकुण्ड नगरपालिकामा १३०, माप्या दुधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. २ मा भने यसअघि नै खर, ढुंगा वा काठले छाइएका सबै छाना विस्थापित भई जस्तापाताको मात्रै छानो रहेको छ ।
बैठकमा बोल्दै सांसद हेमकुमार राईले गरिबीको रेखामुनी रहेका र छानो फेर्न नसक्ने बिपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताए । ‘हामीले संसदमा यस बिषयको उठान गरेका थियौं । सोलुखुम्बुको लागि बढि नै माग गरिएको भए पनि१२८९ घरधुरीका लागि बजेट बिनियोजन भएको छ । बाँकी रहेकालाई आगामी दिनमा अझ प्रवकारी रुपले कार्यान्वयन हुनेगरी योजना माग गरिनेछ’ सांसद राईले भने– ‘पहिलेको कार्यविधी अन्यौलपूर्ण थियो । त्यसैकारण विकासका योजनाहरुलाई प्रभावकारी रुपमा संचालनका लागि सिधै स्थानीय सरकारलाई कार्यान्वयन गर्न दिनका लागि माग गरिएको थियो र सोही अनुसार अब यसको कार्यान्वयन स्थानीय सरकारले नै गर्नेछ ।’ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत दुई वर्षभित्र खरको छानोलाई पूर्ण रुपले विस्थापित गरी कर्कट जस्तापाताको छाना हाल्ने सरकारको कार्यक्रम रहेको पनि राईले जानकारी गराए ।
त्यसैगरी बैठकमा जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख बीर कुमार राईले खर, काठ वा ढंगाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताए । साथै विपन्न परिवारहरुको पहिचान गरी यो अनुदान प्रदान गर्ने पनि उनले जानकारी गराए ।
सोलुखुम्बुमा संचालन हुने यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो घाँसे रंगको प्रयोग गरिने भएको छ । वातावरण मैत्री र प्रभावकारी रुपमा कार्यक्रम संचालनका लागि हरियो (घाँसे) रंगको जस्तापाता प्रयोग गर्ने निर्णय समितिले गरेको संयोक हेमकुमार राईले बताए ।
कार्यक्रममा प्रदेशसभा ‘ख’का सांसद उत्तम कुमार बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका उप मेयर कल्पना राई, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्दिकिरण राई, महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती, सोताङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर राई, थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलालगायतको उपस्थिति रहेको थियो ।