सोलुखुम्बु । सोलुखुम्बुका करिब डेढ सय किसानले कृषि यन्त्र उपकरण प्राप्त गरेका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बु मार्फत जिल्लाभरीका १५२ जना किसानले विभिन्न किसिमका यन्त्र उपकरण लिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
किसानहरुलाई ७५ प्रतिशत अनुदानमा १६ हजार रुपियाँदेखि एक लाख १० हजार रुपियाँसम्मका उपकरण वितरण गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुलप्रसाद राईले जानकारी दिनुभयो । कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रबद्र्धन कार्यक्रम अन्तरगत चार वटा कम्पनीमा उपकरण किसानको मागअनुसार उपलब्ध गराइएको हो ।
केन्द्रले रु.६५ हजारको थ्रेसर, रु. ३५ हजारको पाइडल थ्रेसर, रु. ३० हजारको ब्रस कटर, रु. १६ हजारको मकैै छोडाउने मेशिन र ५५ हजार रुपियाँदेखि एक लाख १० हजार रुपियाँसम्मको हाते ट्रयाक्टर वितरण गरेको उहाँले बताउनुभयो । ग्रामीण भेगका अधिकांश किसानहरु निम्नस्तरका हुने भएकाले अनुदान स्वरुप उपलब्ध गराएपछि आकर्षण बढेको उहाँको भनाइ छ ।
सोलुदूधकुण्ड नगरपालिका–११ का किसान जसबहादुर राईले हाते ट्रयाक्टर अर्थात मिनी टिलर प्राप्त गरेपछि खुशी व्यक्त गर्नुभयो । गोरु पाल्न समेत कम भइरहेका बेला मिनी टिलर उपलब्ध गराएपछि खेतबारी जोत्नका लागि धेरै सजिलो हुने उहाँको भनाइ छ । पछिल्लो समय आधुनिक कृषि प्रणालीको चर्चा भइरहेका बेला हाते ट्रयाक्टरलगायत कृषि उपकरण पाएपछि किसानहरु खुशी भएका हुन् ।
केन्द्रले सोलुखुम्बुको एक नगरपालिका र सात वटा गाउँपालिकाका किसानहरुलाई कृषि औजार वितरण गरेपछि गोरु पाल्नु तथा जोत्नु भन्दा छिटो र सहज हुने भएकाले किसानहरुमा उत्साह थपिएको नेचासल्यान गाउँपालिकाका किसान छवि बाँस्तोलाले बताउनुभयो ।
पछिल्लो समयमा काम गर्ने मानिस तथा चरनस्थलको अभावलगायत विभिन्न कारणहरुले पशुपालन घट्दै गएको र युवाहरु गाउँबाट रोजगारीका क्रममा अन्यत्र जाने भएकाले टिलर बढी प्रभावकारी हुन थालेको किसान बताउँछन् । युवाहरु गोरुले जोत्दा आफूलाई अप्ठ्यारो महशुस गर्ने गरेको पाइन्छ । गोरुले खेत जोत्दा गोरु सहित जोत्नेलाई पारिश्रमिक करिब एक हजार पाँच सय रुपियाँ भन्दा बढी दिनुपर्ने तर ट्याक्टरले भए थोरै डिजेलले पनि धेरै जोत्न सकिने कृषि प्राविधिकहरुको भनाइ छ ।
ट्रयाक्टरले एक लिटर तेलले करिब ७ घण्टासम्म जोत्न सकिन्छ । गाउँका युवाहरु विदेशिने र शहरमुखी हुँदै गएकोले कृषि श्रमिकको अभाव हुन थालेका बेला हाते ट्याक्टरको माग बढेको हो । इन्जिनबाट चल्ने भएकोले जो कोहिले पनि खेत जोत्न सकिने किसानहरुले बताउने गरेका छन् ।