नेपाल धेरै भाषा, जाती, धर्म तथा संस्कृति रहेको देश हो । ती धेरै जातिहरुमध्ये किराती एक हुन् । आदिवासी/जनजाति अन्तर्गत पर्ने किरातीहरु नेपालको पूर्वि भेगमा बसोवास गर्दछन् । किरातीभित्र राई, लिम्बु, याक्खा, सुनुवार आदि पर्दछन् । उनीहरुले नेपालको इतिहासमा ३३ पुस्तासम्म राज्यसत्ता सञ्चालन तथ्य पाइन्छ । प्रथम किराती राजा यलम्बर हाङ नेपालको पहिलो व्यवस्थित राज्य संचालन गर्ने प्रथम शासक समेत हुन् ।
किरातीहरु अन्य आदिवासी÷जनजातिहरु जस्तै खेतिपाती गरेर जीवनयापन गर्दछन्, तर पछिल्लो पुस्ता भने यो पेशाबाट विस्तारै अन्य पेशातर्फ पनि आकर्षित भइरहेका छन् । नेपालका धेरै आदिवासी÷जनजातिहरु नयाँ अन्नबाली पाकेपछि घर भित्र्याउनुअघि आ–आफ्नो रितीअनुसार पुजा गर्ने गर्दछन् । किरातीहरु पनि नयाँ अन्न भित्र्याउनु र खानुअघि सबैभन्दा पहिले आफ्नो इष्ट देवता र पितृलाई अर्पण गर्ने गर्दछन् ।
यो परम्परागत प्रचलन सबै किरातीहरुमा रहेको छ । उनीहरु सबैले समान रुपमा यस चाडलाई मान्ने भएकाले यस चाडलाई समग्रमा ‘किरात चाड’ भनिएको हो । किरातीहरुमा थुप्रै भाषा रहेकाले आ–आफ्नै भाषामा छुट्टाछुट्टै नामले पुकार्ने गरिन्छ । यसलाई राईहरुले साकेला, वास, तोसी, तोस, साकेन्वा आदी, लिम्बुहरुले चासोक तङनाम, सुनुवारहरुले फोलष्याँदर र याक्खाहरुले चासुवा भन्ने गर्दछन् ।
साकेलाः उभौली÷उधौली
साकेला किरात राईहरुको मुख्य चाड हो । उनीहरु प्रकृति र पितृपुजक हुन् । किरात राईहरुको भाषा थुप्रै रहेकाले ‘साकेला’लाई विभिन्न नामले उच्चारण गरे पनि समग्रमा साकेला नै भन्ने गर्दछन् । यस चाडलाई बैशाखे पुर्णिमा र मंसिरे पुर्णिमा गरी वर्षको दुई पटक मनाउने गरिन्छ । बैशाखे पूर्णिमामा मनाइने साकेलालाई उभौली भनिन्छ । मंसिरे पुर्णिमामा मनाइने साकेलालाई उधौली भनिन्छ । बैशाखदेखि गर्मियाम सुरु हुने र बोट विरुवाले पाउलो फेर्ने, पशुपंक्षीहरु लेकतिर लाग्ने भएकाले बैशाखे पुर्णिमाको साकेलालाई उभौली भनिएको हो । मंसिरदेखि सुक्खा र जाडोयाम सुरु हुने भएकाले सबै बोट विरुवाको पात झर्ने, पशुपंक्षीहरु बेसीतिर झर्ने भएकाले मंसिरे पुर्णिमाको साकेलालाई उधौली भनिएको हो ।
साकेलामा किरात राईहरुले वसोवास गर्ने ठाउँ र संस्कृतिअनुसार नाक्छोङ÷नोक्छोले परम्परागत भेषमा सर्वप्रथम घरको चुलालाई पुज्ने गर्दछन् । त्यसपछि साकेला थानमा गई मुन्दुमअनुसार प्रकृतिलाई पुज्ने गर्दछन् ।
उभौलीमा बैशाखे पुर्णिमादेखि र उधौलीमा मंसिरे पुर्णिमादेखि किरात राईहरु साकेला थान वा गाउँ–गाउँ, घर–घरमा भेला भई हर्षोल्लासकासाथ सिली नाच्ने गर्दछन् । यसलाई साकेला नृत्य पनि भन्छि । साकेलामा ढोल र झ्याम्टाको तालमा सबै उमेरका किरातीहरु बीचमा गाडिएको कटुसको स्याउलालाई घेरेर गोलो आकार बनाई सिली नाच्दछन् । साकेला थानमा हो भने बीचमा उम्रिएको सिमलको बोटलाई घेरेर नाच्ने चलन छ । उनीहरु हातमा चम्मर (भूम्याम), छिन्द्रिङ (स्युल्युम) तथा स्याउली लिएर नाच्ने गर्दछन् ।
सिली नाच्दा सिलीमाङ्मा अर्थात् सिलीमाङ्पाले पहिले सिली टिप्दछन् र अरुले उनीहरुको नक्कल गर्ने गर्दछन् । सिलीमा पशुपंक्षी, कृषि कार्य तथा मानव जाति र प्रकृतिबीचको सम्बधलाई अभिनयद्वारा प्रस्तुत गरिन्छ ।
उभौली मनाउँदा किरात राईहरुले प्रकृतिसँग ‘ल है अब बाली लगाउने बेला भयो । अन्नबाली प्रशस्त फलाइदिनु । किरा फट्यांग्राबाट जोगाइदिनु । भल–बाढी, पहिरोबाट जोगाईदिनु’ भनी प्रार्थना गर्दछन् । त्यसैगरी उधौलीमा अन्न खानुअघि प्रकृतिलाई धन्यवाद दिँदै र पितृलाई नयाँ अन्न चढाउँदै साकेला मनाउने गर्दछन् । नयाँ अन्न खानुअघि पितृलाई अर्पण गर्ने चलनलाई किरात राईहरु ‘न्वागी पुजा’ भन्ने गर्दछन् ।
चासोक तङनाम
चासोक तङनाम किरात लिम्बुहरुको मुख्य चाड हो । लिम्बुहरु पनि प्रकृति र पितृपुजक हुन् । किरात वंशको एक शाखामध्यका लिम्बुहरु मौलिक संस्कृतिले धनि छन् । उनीहरु खेतिपाति गर्ने जाति भएकाले ऋतु परिवर्तनलाई ध्यानमा राखी चाड मनाउने गर्दछन् । यस जातिको मुख्य चाड याक्वा र चासोक हुन् । उभौली याममा, बीउ बिजन छर्ने समयमा गरिने पुजालाई याक्वा भनिन्छ । उधौली याममा, अन्नबाली भित्र्याउने समयमा गरिने पुजालाई चासोक (न्वागी) भनिन्छ ।
लिम्बुहरु माछा र चराचुरुङ्गीहरु उत्तरतिर लागेको तथा बिशेषगरी आरु फूल्ने ऋतुलाई उभौली (उत्तरायन) र माछा र चराचुरुङ्गीहरु दक्षिणतिर लागेको तथा पैँयु फूल्ने ऋतुलाई उधौली (दक्षियान) सुरु भएको संकेतको रुपमा लिने गर्दछन् । यसरी उभौली र उधौली दुवै यामको चाडलाई लिम्बुहरुले समान महत्वका साथ मनाउने गर्दछन् । लिम्बुहरु चासोक चाडलाई उधौली याममा आफ्नो परिश्रमको फल पाएको खुसीयालीमा भव्यताका साथ मनाउने गर्दछन् ।
किरात लिम्बुहरुको मुन्धुमअनुसार कृषियुग सुरु हुनुअघि लिम्बुहरुको आदिम पुर्खा सावा यत्हाङहरुले जङ्गलमा पाइने काँचै कन्दमुल खाएर जिवनयापन गर्दथे । काँचो कन्दमुल खाँदा उनीहरु बिरामी हुने र कुपोषणको कारण समस्यामा पर्ने गर्दथे । त्यसबाट मुक्ति पाउनका लागि उनीहरुले सर्वशक्तिमान तागेरा निङवाफु माङसँग प्रार्थना गरे । प्रार्थना गरेवापत उनीहरुलाई तागेरा निङवाफुको कृपाबाट कोदो, घैया, जुनेलो आदि अन्नको बिउ बिजन प्राप्त भयो । यसरी बिउ बिजन पाएपछि सावा यत्हाङहरुले तिनका चेली सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्माले खोरिया फाँडेर भस्मेमा बिउ छरि अन्न उत्पादन गरे । त्यसपछि सावा यत्हाङहरुले खेतिपाति गर्न सिके र आँफैले फलाएको अन्न खान थालेपछि रोगब्याधी लाग्न छाड्यो ।
यसरी खेति गरेर खान सिकाउने आफ्नो चेलिसँग खुसी भएर सावा यत्हाङहरुले आशिष र वरदानस्वरुप आफूले फलाएको अन्न सर्वप्रथम सिबेरा एःक्थुक्मा सिबेरा याबुङकेक्मालाई चढाएपछि मात्रै खाने वाचा गरे । त्यसपछि नै लिम्बुहरुमा न्वागी पुजा गर्ने चलन सुरु भएको हो ।
लिम्बुहरुले चासोक पुजा गर्दा देवीदेवताहरु प्रशन्न होउन्, अन्नबाली सप्रिउन्, रोगब्याधी नलागुन्, सुख समृद्धि छाओस् भनि प्रार्थना गर्दछन् । सर्वप्रथम साम्माङ अर्थात् कुइकुदाप वा ताम्भुङ्नाको पुजा घरबाहिर सम्पन्न गरिन्छ । त्यसपछि घरभित्रका देवीदेवताहरु युमा, थेबा हिमको साम्माङहरुको पुजा गरिन्छ ।
चासोक पुजामा बिशेषगरि युमा साम्माङ, थेबा साम्माङ, थुङदाङबा, मिसेक, काशीहाङ्मा, काप्पोबा हिम्साम्माङ, फाक्मुरा, तथा चखोबालाई पुज्ने गरिन्छ । यसको साथमा पुजा प्रार्थनामा बिघ्नबाधा नहोस्, प्रार्थना गरेअनुरुप फल प्राप्त होस् भनी अन्य अनिष्टकारी जङ्गली देवीदेवतालाई पनि पुज्ने गरिन्छ ।
मकै, कोदो वा धान पाकेपछि खेतबारी घरदेखि टाढा भए अन्नको बाला घरमा ल्याई वा नजिक भए खेतमै गई भुइँलाई सम्याएर सफा गरी थान बनाई चासोक पुजा गरिन्छ । घर वा खेतबारी चासोक पुजा जता गरे पनि घरभित्रका देवीदेवताको घरभित्र र घरबाहिका देवीदेवताको घरबाहिरै पुजा गर्ने चलन रहेको छ । चासोक पुजा दिउँसै सम्पन गरिने भएकाले युमा, थेबा र हिम साम्माङका पुजा खेतबारीमा गरेको पनि पाइन्छ ।
लिम्बुहरु चासोक तङनामको अवसरमा आपसमा भेटघाट गरी मनोरञ्जनात्मक कृयाकलाप गर्ने गर्दछन् । यस अवसरमा उनीहरु आपसमा रहेको रिसरागलाई बिर्सेर शुभकामना आदान–प्रदान गर्ने, मिठो–मिठो खाने, नव विवाहित जोडि र चेलीहरु आफ्नै हातले बनाएको वा अन्य प्रकारका कोसेलीसहित माइति घर आउने, हाक्पारे गाउने, च्याब्रुङ बजाएर यालाङ नाच्ने, छेला हान्ने गर्दछन् ।
फोल ष्याँदर
फोल ष्याँदर किरात सुनुवारहरुको मुख्य चाड हो । सुनुवारहरुलाई कोञीच (कोइच) भनेर पनि चिनिन्छ । सुनुवारहरु खासगरी प्रकृति, आत्म र पितृपुजक हुन् । उनीहरु यस चाडमा प्रकृति र पितृसँग विश्व समुदायको सुख, शान्ति र समृद्धिको कामना गर्दै प्रार्थना गर्ने गर्दछन् । साथमा उनीहरु मनोरञ्जन गर्दछन् । सुनुवारहरु यस चाडलाई वर्षको दुई पटक मनाउने गर्दछन् ।
सुनुवारहरु सर्वप्रथम अग्नि र इन्द्रणीको पुजा गर्दछन् । त्यसपछि सूर्य, चन्द्र, आकाश, जल, वायु, भूमिको पुजा गर्दछन् । पितृहरुलाई आव्हान गरि उनीहरु प्राकृतिक तथा दैवी प्रकोप, अनिकाल, रोगब्याधी नलागोस्, अन्नबाली सप्रियोस्, सहकाल लागोस् भनी प्रार्थना गर्दछन् । उनीहरु जानी–नजानी मानवीय गल्ति भएमा क्षमा माग्दै कुलपुरोहित (न्हाःसो)द्वारा ष्याँदर मनाउने गर्दछन् । न्हाःसो नपाइएको अवस्थामा भने उनीहरु आँफै घरको पुजाकोठा (लागापर्गि)मा फूलपाति, अक्षता, पानी र फलफूल चढाई एकजोर जाँड (ष्याम) राखेर धुप बाली सामान्य रुपमा पुजा गर्दछन् ।
सुनुवारहरुमा पञ्चमूली, जत्नमूली, दुमामूली, सरिङ्गमूली, इँगीमूली र ससीमूलीमा आधारीत रहेर सिरिष्याँदर, दुमाष्याँदर, गीलष्याँदर, जत्नाष्याँदर, जसीष्याँदर, ईंगीष्याँदर, ससीष्याँदर, सरिङ्गष्याँदर आदि चाडहरु मनाउने प्रचलन रहेको छ । तर, ष्याँदर मनाउनुको उद्देश्य एउटै हो । पञ्चमूलीमा आधारित ष्याँदर सालिवा÷जत्ना (उभौली) बैशाखे पुर्णिमामा मनाउने गरिन्छ । रापवा÷फोल (उधौली) मंसिरे पुर्णिमामा मनाउने गरिन्छ ।
किरात सुनुवारहरु गाउँ र विदेशमा रहेका आफन्तहरु भेला भई ष्याँदर मनाउने गर्दछन् । सुनुवारहरुको मुक्दुमअनुसार हरेक दिन बली दिई मनाउनुपर्ने भए पनि स्थान र परिवेशअनुसार छ महिना, एक वर्ष वा तीन वर्षको फरकमा ष्याँदर मनाउने गर्दछन् । वाद्यवादन, मन्दिरको मर्मत गर्ने, जाँड पकाउने काम भने शुक्लप्रतिपदा तिथीको दिनेदेखि नै सुरु गर्दछन् ।
मुली न्हाःसो ष्याँदरको प्रमुख व्यक्ति हो । ष्याँदरमा पशुपंक्षीको बली दिइन्छ । ष्याँदरको दिन मुली न्हाःसाको घरमा राँगा, भेडा वा सुंगुरलाई गुराँसको किलामा बाँधि न्हाःसोहरु वाद्यवादन भएको घरको मुलीसहति एक सेलेवा जाँड र एकएक वटा अण्डासहित उपस्थित हुन्छन् । त्यसपछि वार्षिक भए ३६० रेखी हाली खट्टेचिरो राखेर प्रार्थना गर्दै राँगा, भेडा वा सुंगुर जे छ, त्यसको टाउकोमा अण्डाले हिर्काएर निदाउन नदिई ढोल झ्याम्टा बजाएर रातभरि नाच्ने गर्दछन् ।
मन्दिरमा पुजा नसकिन्जेल १६ तालको ष्याँदर सिल ८ ताल मात्र नाच्न मिल्दछ । ८ तालको ष्याँदर सिल भने पुजा सकिएपछि मात्र नाच्न मिल्दछ । पुजा सकिएपछि लक्षिण राखेको सोली बोकेर मन्दिरलाई दाहिने पारेर नाच्ने गरिन्छ । ष्याँदर पुर्णिमा योनामको दिन ष्याँदर न्हाःसोले पुजा सकेर ढोलसहित घर फर्केपछि आ–आफ्नो जजमानको घरमा सुखशान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै लक्षिण पु¥याउन वाद्यवादनसहित गाउँ घुम्ने चलन रहेको छ । पुरै गाउँ घुमेपछि ढोल, झ्यम्टा र खरङ्गालाई बिशेष विधिका साथ थन्क्याउने गरिन्छ । त्यसलाई दुमो हृयेःचा भनिन्छ । दुमो हृयेःचापछि कसैबाट भूल भएमा क्षमा माग्दै पुजा गरेपछि ष्याँदर सकिन्छ ।
चासुवा
चासुवा किरात याक्खाहरुको मुख्य चाड हो । किरातहरुमा याक्खाहरु पनि आफ्नो मौलिक भाषा र संस्कृति भएको जाति हो । उनीहरुको मुख्य वसोवास पुर्वि नेपालको धनकुटा र संखुवासभा जिल्लामा रहेको छ । याक्खाहरु पनि अन्य किरातीहरु झैँ प्रकृति र पितृपुजक हुन् । याक्खाहरु प्रकृति र पितृलाई अर्पण गरेर मात्र नयाँ अन्नबाट बनेको परिकार खाने गर्दछन् ।
चासुवा चाडमा याक्खाहरु नयाँ अन्नबाली पाकेपछि सर्वप्रथम कुनै शुभ दिन र समय मिलाएर आफ्ना पितृहरुलाई चढाउने गर्दछन् । यसरी पितृ्लाई नचढाउँदा घरपरिवारका सदस्यहरुलाई अनिष्ट हुन्छ भन्ने विश्वास याक्खा जातिमा रहिआएको छ । आफ्ना अग्रजहरुलाई मानव सृष्टीको स्रोत मात्रै नभइ मृत्युपछि समेत वंश रक्षकका रुपमा लिने गर्दछन् ।
चासुवा (उधौली) पुजाको दिन जुन घरमा पुजा भइरहेको हुन्छ, त्यस घरमा एकातिर विभिन्न परिकारहरु तयार भइरहेको हुन्छ भने अर्कोतिर घरको मूली वा जान्ने व्यक्तिले कलशको पानी छर्कदैँ मरेर गएका आफ्ना ज्ञात अज्ञात पितापुर्खाहरुलाई मुन्दुम÷मुन्धुम फलाकेर सम्बोधन गर्दै पुजा कार्य अगाडि बढाउँदछ । मुन्धुमद्वारा त्यहाँ सबै पितृहरुलाई उपस्थित गराएर नयाँ अन्न चढाउने चलन रहेको छ । चासुवाको अवसरमा याक्खाहरु आफन्त, छरछिमेकसँग भेट गरी सँगै बसेर खाने पिउने र रमाईलो गर्ने गर्दछन् । यस अवसरमा आफ्ना पितृहरु सत्यमा रहेकाले कुनै गल्ति भएमा वा कुनै सामाग्री अपुग भएमा क्षमा माग्दै आगामि दिनमा पनि यसरी नै नयाँ अन्नबाली भित्र्याउनुअघि पितृहरुलाई चढाएर मात्रै आफूले खाने वाचा गर्दै पुजारीले थान उनेठाउने गर्दछ ।
(यो आलेख ‘किराती चाड’ शिर्षकमा आवासीय क्षेत्रको कक्षा ७ को अनिवार्य नेपालीमा पाठ हुने गर्दछ । सात कक्षाका भाईबहिनीहरुलाई किराती चाडका बारेमा बुझ्न सहज होस भनी यहाँ अत्यन्तै सरल भाषाको प्रयोग गरिएको छ । यहाँ प्रकाशन गरिदाँ भने सामान्य परिमार्जन गरिएको छ ।)
–गणेशकुमार राई
https://gaulenews.com/?p=46595
https://ratopati.com/story/87734/2019/5/17/buddha-teaching-and-continuity-of-fudel-culture