मौलिकता र जीवनरक्षाबीच धर्मसंकट

मौलिकता र जीवनरक्षाबीच धर्मसंकट

 

विविधताले भरिपूर्ण देश नेपाल विविध मौलिक वास्तुसकलाको दृष्टिले धनी छ । हस्तकलाको प्रयोग गरी बनाइएका पुराना घर तथा मन्दिरहरूले मौलिक नेपाली वास्तुकलाको झलक दिइरहेका छन् । देशलाई विश्वमाझ चिनाउने भनेकै यिनै मौलिकपन हो । हाम्रा मौलिक सम्पदाहरू जबसम्म रहन्छ तबसम्म हाम्रो अस्तित्व पनि कायम रहन्छ । नेपालैभरि कुनै पनि भूभागमा परिवेश अनुसारका भौतिक संरचना बस्तीहरू देख्न पाइन्छ । यिनै मध्येको रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाका वस्तीहरू प्रिती र भुजी पनि कुनै बेला मौलिकताले युक्त थिए तर अहिले यी वस्तीले विस्तारै फडेको मार्दै गएको देखिन्छ । रामेछाप जिल्लाका यी भूभागहरूमा सुनुवारहरूको बाक्लो वस्ती रहेको छ भने अन्य जाति अलि कम मात्रामा छन् ।

लोपोन्मुख मौलिक घर

पहिले यी वस्तीका घरहरूको छाना खरको हुन्थ्यो । घुमाउने शैलीका घरहरू थिए भन्ने भनाइ सुन्न पाइन्छ । यद्यपि त्यस्ता शैलीका पाउन कठिन छ । वर्तमान समयमा एकदुई घर मात्र खरले छाइएका छन् । पुराना घरहरू मध्यकालमा बनेका घरहरू भन्दा बलियो थियो भन्ने भनाइ छ । वृद्धवृद्धाका अनुसार वि.स. १९९० को भूकम्पमा कमै पुराना घरहरू भत्किएका थिए । लम्बाइ चौडाइ बराबर भएका घुमाउने घरहरूका छाना खरको भएका कारण कम क्षति भएको थियो । उमाकुण्ड गाउँपालिका७, भुजीकी ७१ वर्षीया मनकुमारी सुनुवार सानो छदा खरका छानाहरू खरको भएको बताउछिन् ।

उमाकुण्ड गाउँपालिका अन्तर्गतका गाउँहरू प्रिती र भुजीमा एक दुई घर मात्र पुराना शैलीका छन् । यस्ता घरका झ्याल, ढोका र थाममा कलात्मक बुट्टाहरू कुदिएका छन् । सामान्यतया घरहरूको साइज साना छन् । लम्बाइ १४ हात र चौडाइ ९ हात सम्मका घरहरू देख्न पाइन्छ । सुनुवावस्तीमा दुई र तीन तलाका घरहरू छन् । थाहा भएसम्म सुनुवार वस्तीमा पहिले बाटै घरहरू ढुंगा र माटोले बनेका थिए । अहिले पनि घर माटो र ढुंगाले बनेका छन ् । हल्का रातो माटोले भुई र सेतो कमेरोले भित्ता पोतिएका छन् । भित्ताको होचो भागमा भने हल्का रातो माटोले लिपिएको हुन्छ । रातो माटोमा गाईको गोबर पनि मिसाएर घर पोत्ने गरिन्छ । घरको बाहिरी भित्तामा केही बुट्टाहरू बनाएइएको देखिन्छ । घरको भित्री भित्तामा त्रिभुज आकारका साना साना खोपाहरू बनाइएका छन् भने भतै घरको बाहिरपट्टि पनि त्यस्ता खोपा देख्न सकिन्छ । तलामा चिरपट र त्यसमाथि माटो राखिएको हुन्छ । घरको खिर्कि झ्याल पनि त्रिभुजाकारको छ । ढुंगाका छाना पनि प्रशस्तै देख्न पाइन्छ । छाना छाउने ढुंगाको आकार बर्गाकार, आयतकार र अनियमित आकारका पनि छन् । बस्नका लागि भूकम्पको दृष्टिले सुरक्षित नहुन सक्छ । तर यसले मौलिकतालाई संरक्षण गरिरहेको छ । मौलिकपन बचाउने हो वा जीवन बचाउने भन्ने कुरामा अब गम्भीर हुने बेला आएको छ । मौलिक पहिचान नै रहेनन् भने मानिस औचित्य रहदैन । यसका लागि जीवन र मौलिकपन दुवै बचाउन सकिने उपाय सोच्न पो हो कि !

चुलोबाट निस्किने धुवा चिम्नीमा माध्यमबाट बाहिर पठाउन मिल्ने खालको आधुनिक चुलो घरमा बनेपछि सरङको औचित्य कम हुदै गएको हो । घरको बाहिरी कुनामा सानो भान्साघर बनाउने र त्यही खाना पकाउने चलन पनि व्याप्त छ । यद्यपि परम्परागत चुल्हाहरू यथावत नै छन् । सडकको सञ्जाल पुगेका ठाउँमा आधुनिक किसिमका घर फाटफुट रूपमा बन्न थालेका छन् । २०७२ सालको भूकम्पका कारण धेरै घरहरू भत्किएका थिए । नभत्किएका घरमा पनि बस्न नमिल्ने अवस्था भएपछि सुनुवार वस्तीका मानिसहरू मतानमा बस्न थालेका छन् । मतान घरभन्दा पछि बनाइएका हुनाले यसमा भूकम्पको प्रभाव कम परेको हो । धेरै घरहरूमा मतान छैनन् । त्यसैले मतान नभएका र घरमा बस्न नमिल्ने अवस्थाका मानिसहरू कटेज (कटेरो) बनाएर बसिरहेका छन् । बाँस, चित्रा, काठ आदिबाट कटेज बनाइएको छ ।

भूकम्पबाट भत्किएका घरको पुनः निर्माण गर्दा निश्चित मापदण्ड अनुसार नाउनुपर्ने भएकाले अब बन्ने घरहरू पहिलेकै संरचनामा नबन्ने सुनुवारहरूको भनाइ छ । मौलिक संरचनाको घर अब चाहेर पनि बनाउन नसकिने उमाकुण्ड गाउँपालिका५ का गोविन्दराज सुनुवार बताउछन् । त्यसैले अबका दिनमा परम्परागत घरको अस्तित्व नझल्किने स्पष्ट हुन्छ ।

हस्तकलाको प्रयोग गरी बनाइएका बुट्टादार झ्याल, ढोकाहरू प्रयोग गरिएको छैन । अहिलेका घरमा सादा काठ मात्र जोडेर बनाइएका झ्याल, ढोकाहरू देख्न पाइन्छ । प्रितीमा जानकी सुनुवारको घरमा हस्तकला झल्किने झ्यालहरू देख्न पाइन्छ । त्यस्तै उमाकुण्ड गाउँपालिका७, भुजीका पूर्णबहादुर सुनुवारको घरमा कलात्मक झ्याल, ढोका र थाम पाउन सकिन्छ । २००७ सालमा बनेको र २०७२ सालमा भूकम्पले भत्काएको र अहिले जीर्णावस्थामा रहेका ती कलात्मक झ्याल, ढोका बाहिरै थन्काइएका छन् । पहेलो चापको काठद्वारा निर्मित ती झ्याल, ढोका बाहिरी हेर्दा मक्किसकेका छन् तर भित्री भाग राम्रै रहेको पूर्णबहादुर बताउछन् ।

बेलायती लाहुरेहरूको घरमा पुराना वास्तुकलाको झलक देख्न अलि कठिन छ । उनीहरूको घर नयाँ शैलीका छन् । भूकम्पपछि बेलायत सरकारले द्ुईकोठे पक्की घर बनाइदिएको छ । तर बेलायती सेना बाहेकका कैयौं निम्न आर्थिक स्तिति भएका मानिसहरू तिनै चचेर भित्ता भएको घरभित्रै गुजारा गरिरहेका छन् । के उनीहरू चाहिँ ब्रिटिस लाहुरेहरूको जस्तै सुरक्षित घरमा बस्न मन छैन होला त ? बेलायत सरकारले आफ्नो देशमा सेनाको रूपमा सेवा गरेका बाहेक नेपालीलाई नेपाली ठानेन सायद । उसका सैनिकहरू मात्र भुकम्पबाट असुरक्षित ठान्यो । तर विदेशी सहयोगको कुरालाई छोडेर हेर्दा नेपाल सरकार पनि त गरिबहरूका लागि आशाको केन्द्र हो । भूकम्प पीडितको नाममा करोडौं रूपैया नेपाल सरकारलाई आएको छ । ती पीडितका नाममा आएका राहत वास्तविक पीडितले खासै पाएका छैनन् । चर्किएका घर र कटेजमा कति रातहरू अनिद्रामा कटाए होलान् गरिब भूकम्पपीडितहरूले ? यो कुराले राज्यलाई दुखाउनुपर्ने हो । तर ५० हजारको एक किस्ता बाडेर पीडितलाई घर बनाउन लगायो । घर बनिसकेपछि मात्र बाँकी किस्ताको रकम पाउने आश्वासन दिएयो । आयस्रोत केही नभएका परिवारले त्यति पहिलो किस्ताले घर बनाउन सम्भव छैन । पर्याप्त रकम वितरण नपाएसम्म गरिब भूकम्पपीडितहरूको घर बनाउने सपना सपनामा मात्रै सीमित हुन्छ ।

भुकम्पबाट भत्किएको एउटा मौलिक घर

भवन निर्माणको निश्चित मापदण्ड पूरा गर्नुपर्ने कुराले न्यून आर्थिक स्थिति भएका पीडितहरूलाई थप पिरोलेको छ । घर बनाइसकेपछि पुनःनिर्माण प्राधिकरणले मापदण्ड पूरा भए नभएको अनुगमण गरेरै मात्र थप किस्ता वितरण गर्ने भनेपछि उनीहरू अप्ठ्यारोमा परेका हुन् । बाबु ! यो घर आधा मात्र भत्काएर होचो बनाउदा हुन्छ ?’ उमाकुण्ड गाउँपालिका ५ की ८० वर्षीया बालकुमारी सुनुवारले सल्लाह मागिन् । उनले यो पङ््ितकारलाई पुनःनिर्माणको प्रतिनिधि सम्झिन् सायद । फेरि थपिन्, म बुढी भइसके, यो जेठा छोरा अपाङ्ग छ । हामी अर्को घर बनाउन सक्दैनौं ।’ यस्ता दुखेसाहरू अनगिन्ति सुनिन्छ यी र यस्तै भूकम्प पीडितहरूको वस्तीमा । त्यहाँ पुग्नासाथ उनीहरू राहत पो बाड्न आएको मान्छे हो कि भनेर आशाको ज्योति बालेर पीडा सुनाउन थाल्छन् । गाउँघरका पनि अलि टाठाबाठाहरूले दुई चोटीसम्म पाए तर सोझाहरू आफूले एक पटक पनि नपाएकोमा आक्रोश व्यक्त गर्छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाका भुजी र प्रितीगाउँका भूकम्प पीडितहरू उदाहरण मात्र हुन् । यस्ता हजारौं परिवार जो राहतको आसमा छन् । भूकम्मका कारण घर भत्किएका परिवारहरू बेघर भएर हिउँदवर्षा नारकीय रूपमा काटिरहेका छन् । पीडितको नाममा आएका विदेशी राहत रकम टाठाबाठाहरूका लागि मात्र भयो न कि वास्तविक पीडितका लागि ।

सुनुवारबस्ती वास्तुकलामा सम्पन्न जाति हो यद्यपि समय अन्तरालमा पुराना वास्तुकला झल्किने वस्तुहरू विस्तारै हराउदै जान थालेका छन् । आधुनिक समयानुकुल जीवनशैली पनि परिवर्तन हुदै जाने क्रममा मौलिक पहिचानका सम्पदाहरू पाउन नसकिने अवस्थामा पुगेका हुन् । युवाजगतमा कला र सीपको कमिले हस्तकला लगायतका सामानहरू उत्पादन हुन सकेको छैन भने अर्कातिर बजारीय उत्पादनको प्रभाव पनि यसमा उतिकै जिम्मेवार देखिन्छ । २०७२ सालको विनासकारी भूकम्पले पुराना सम्पदाको ह्रास भएको कुरा पनि स्वीकार्य छ । परम्परागत वस्तुहरूको उत्पादनमा कमि आए पनि भएकाहरूको संरक्षण हुन सके यी मूल्यवान सम्पदा हराउने सम्भावना कम हुन जान्छ । मौलिकपन पनि नहराउने, भूकम्पबाट पनि सुरक्षित हुने तरिकाको घरहरू बनाउन सम्भव हुन सक्छ । आधुनिकता र मौलिकताको सम्मिश्रणबाट निर्माण गर्न सकिए मौलिकता र जीवन दुवै बचाउन सकिने कुरामा विमति नआउला ।

(लेखक त्रिभुवन विश्वविद्यालयबाट भाषाविज्ञान विषयमा स्नातकोत्तर गर्दै छन्)
लेखकलाई फेसबुकमा भेट्न यहाँ क्लिक गर्नुहाेस् → अर्जुन राई

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका