Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ती रोमान्टिक सिनेमा जसले बलिउडलाई माथि उठाए (नाम सहित) – Gaule Khabar

ती रोमान्टिक सिनेमा जसले बलिउडलाई माथि उठाए (नाम सहित)

ती रोमान्टिक सिनेमा जसले बलिउडलाई माथि उठाए (नाम सहित)

भारत फागुन ५ –

रोमान्स बिना हिन्दी चलचित्रको कल्पना गर्न सकिँदैन । चाहे एक्सन होस् या हरर, ९९ प्रतिशत हिन्दी चलचित्रमा रोमान्स हेर्न पाइन्छ । हिन्दी वेब दुनियाँ समय ताम्रकरको बाइलाइनमा लेख्छ,–यस्तो अवस्थामा भ्यालेन्टाइन डेको प्रेममय माहौलमा ‘मोस्ट रोमान्टिक हिन्दी मुभी’ को खोजी गर्नु अप्ठ्यारो काम हो । तर पनि हेरौं यस्ता रोमान्टिक चलचित्र जसले दर्शकमाथि आफ्नो विशेष प्रभाव छाडेको छ । यसै पनि राम्रा चलचित्र हेर्नका लागि भ्यालेन्टाइन्स डे नै कुर्नुपर्ने पनि हुँदैन ।

  • मुगल ए आजम (१९६०)
    मुगल राजकुमार सलीम र नृत्यङ्गना अनारकलीको रोमान्स चलचित्रको प्रत्येक फ्रेम र संवादमा देखिन्छ । के. आसिफ द्वारा निर्देशित यो चलचित्र बलिउडको इतिहासमा कोषेढुंगा हो । दिलिपकुमार र मधुवालाले चलचित्रमा जीवन्त अभिनय गरेका छन् । जसबाट उनीहरू एकअर्काका लागि बनेका हुन् भन्ने भान भयो । चलचित्रको अन्त्यले दर्शकमा अमिट छाप छाडेको छ । मधुवाला जस्ती सुन्दरी अभिनेत्री आजसम्म बलिउडले पाएको छैन । यो चलचित्रमा उनको सुन्दरता अद्भूत गर्न सकिन्छ । चलचित्रले बक्स अफिसमा ऐतिहासिक सफलता प्राप्त गरेको थियो । सन् २००४ मा यो चलचित्रलाई रंगीन बनाएर  रिलिज गरियो । रंगीन भर्जन पनि सफल रह्यो ।

हिट गीतः प्यार किया तो डरना क्या, मोहब्बत की झुठी, मोहन पनघट पे, तेरी महफिल मे, ऐ मोहब्बत जिन्दाबाद

  • दिलवाले दुल्हनियां ले जाएंगे (१९९५)
    यश चोपडाको छोराको चलचित्र ‘दिलवाले दुल्हनियां ले जाएंगे’ जब १९९५ मा रिलिज भयो त्यतिबेला कसैले सोचेको थिएन आदित्यले इतिहास रच्दैछन् भन्ने । अधिकांश चलचित्रमा हिरोहिरोइन आमाबाको अनुमती बिना घरबाट भागेर प्रेम, विवाह गर्ने गर्थे तर आदित्यले यसलाई ट्वीस्ट गर्दै चलचित्रमा हिरोहिरोइन आमाबाको सहमतीबाटै विवाह गर्न चाहान्छन् भन्ने देखाए । चलचित्रको छायांकन भारत र भारतबाहिर पनि गरियो । यो चलचित्र पछि मात्र शाहरुख खान रोमान्सका किङका रुपमा चिनिन पुगे । काजोलसँग उनको जोडी खुबै मिल्यो । दुवैको शानदार अभिनय, लोकेशन, संगीत र आदित्यको निर्देशनले दर्शकलाई मन पर्यो । बलिउडमा चोपडाको फिल्मले तहल्का मच्चायो । मुम्बईको एउटा सिनेमा घरमा अहिले पनि यो चलचित्र वर्षौँदेखि चलिरहेको छ ।

हिट गीतः मेरो ख्वाबों में, रुक जा ओ दिल दिवाने, हो गया है तुझको, तुझे देखा तो, मेहंदी लगा के रखना

  • बबी (१९७३)
    आफ्नो सबैभन्दा महत्वकांक्षी चलचित्र मेरा नाम जोकरको सफलतापछि राज कपुरले घाटाबाट माथि उठ्न नयाँ अनुहारका साथ ताजगी भरिएको रोमान्टिक चलचित्र बनाउने निर्णय गरे । राज कपुरको प्रत्येक फिल्ममा रोमान्स हेर्न लायक हुन्छ । उनको चलचित्रको भूमिकाको रोमान्सले दर्शकलाई आकर्षित गर्छ । बबीमा टिनएजर्सलाई राज कपुरले हिरोहिरोइन बनाइदिए । यति कम उमेरका हिरोहिरोइन चलचित्रमा पहिलो पटक दर्शकले देखे । बबी जस्ती बिन्दास केटी यो भन्दा पहिलो हिन्दी फिल्मको स्क्रिनमा देखिएकी थिइनन् । ऋषि कपुर र डिम्पल कपाडियाको सानै उमेरको प्रेमले दर्शकलाई आकर्षित गर्यो । यो चलचित्र ट्रेन्ड सेन्टर बन्यो । यो चलचित्रको सफलताले राज कपुरलाई ऋणमूक्त गरिदियो ।

हिट गीतः हम तुम एक कमरे में बन्द हो, झुठ बोले कौआ काटे, मैं शायर तो नही, मेझे कुछ कहना है, ना मांगु सोना चांदी, अखियों को रहने दो

  • कभी–कभी (१९७६)
    रोमान्टिक मुभी बनाउन यश चोपडाको कुनै जवाफ थिएन । आफ्नो उमेरको अन्तिममा पनि रोमान्टिक चलचित्रका माध्यमद्वारा दर्शकलाई मनोरञ्जन गराए । सन् १९७६ सम्म अमिताभ बच्चन एङ्ग्रीम्यानका रुपमा स्थापित भइसकेका थिए । उनको एक्सन मुभीले तहल्का मच्चाइरहेको थियो । यतिबेलै यश चोपडाले उनलाई रोमान्टिक भूमिका सुम्पिए । पुस्तापुस्तासम्म फैलिएको रोमान्टिक कथालाई यश चोपडाले चलचित्रमा उतारे । चलचित्रमा अमिताभ बच्चन, राखी, वहिदा रहमान, शशि कपुर, ऋषि कपुर, नितु सिंह जस्ता कलाकार थिए । खय्यामको संगीत उत्कृष्ट रह्यो ।

हिट गीतः कभीकभी मेरे दिलमे, मे पल दो पल का शायर हुं, मेरे घर आई एक नन्ही परी, प्यार कर लिया तो क्या, तेरे चेहरे से

  • एक दुजे के लिए (१९८१)
    नयाँ अनुहारका साथ रोमान्टिक चलचित्र बनाउने फर्मुला सधैँ चल्दैन तर जब चल्छ, फिल्म ब्लकबस्टर हुन्छ । दक्षिण भारतका सुपरस्टार कमल हासनलाई हिन्दी चलचित्रमा रोमान्टिक चलचित्र ‘एक दुजा के लिए’ बाट प्रवेश पाए । यो चलचित्र तेलुगु चलचित्र ‘मारो चरित्र’ को हिन्दी रिमेक थियो । दुई फरक भाषामा कुराकानी गर्ने केटा र केटी को यो प्रेम कथा हो । सुरुआतमा चलचित्र बक्सअफिसमा कमजोर रह्यो । किनभने चलचित्रको कथा दुखद अन्त्य थियो ।

तर बिस्तारै चलचित्रले बक्सअफिसमा तीव्रता समात्यो र, नयाँ कीर्तिमान कायम गर्यो । लक्ष्मीकान्त प्यारेलालको स्वर संगीत र लता, एसपी बालासुब्रमण्यमको आवाजमा गीत सुपरहिट भए । के. बालाचन्दरद्वारा निर्देशित यो चलचित्रले एउटा राष्ट्रिय र तीनवटा फिल्मफेयर अवार्ड पायो ।

हिट गीतः तेरे मेरे बीच मे, हम तुम जब मिल जाएंगे, मेरे जीवन साथी, ह मबने तुम बने, सोलह बरस की बाली उमर

  • मैंने प्यार किया (१९८९)
    सुरज बडजात्याद्वारा निर्देशित यो चलचित्र फर्मुलाबद्ध थियो । तर, सुरजको प्रस्तुतीकरणमा भएको ताजगी, लीड पेयरको भूमिका, अभिनय र राम–लक्ष्मणको सुपरहिट संगीतको जादूले दर्शकको मन जित्यो । यो चलचित्रदेखि बलिउडलाई एक नयाँ स्टार सलमान खानका रुपमा मिल्यो । चलचित्रलाई युवालाई ध्यानमा राखेर बनाइएको थियो । युवा माझ सलमान पोस्टर बोई बने । यो चलचित्रले फिल्मफेयर अवार्डमा एक दर्जन नोमिनेशनपायो । जसमा आधा दर्जन अवार्ड पायो ।

हिट गीतः दिल दिवाना, कबुतर जा जा, मैंने प्यार किया, आते आते, आया मौसम दोस्ती का

  • लम्हे (१९९१)
    यश चोपडाद्वारा निर्देशित उत्कृष्ट चलचित्र मध्ये लम्हे बक्स अफिसका लागि अपरिपक्व भयो । यो चलचित्रको बोल्ड थिमलाई भारतीय दर्शकले पचाउन सकेनन् । आफ्नी छोरीको उमेरकीसँग प्रेम गर्ने पुरुषको कथालाई समयभन्दा अघि प्रस्तुत गरिएको थियो । विदेश र राम्रो चलचित्र बुझ्ने दर्शकले चलचित्रलाई प्रशंसा गरे । चलचित्रले एउटा राष्ट्रिय र पाँच फिल्म फेयर अवार्ड पायो । श्रीदेवीको करियरको यो उत्कृष्ट चलचित्र थियो ।

हिट गीतः कभी मैं कहुं, याद नहीं भुल गया, मेरी बिदिंया, ये लम्हे

  • देवदास (१९५५)
    शरदचन्द्र चटोपाध्यायको उपन्यास ‘देवदास’ माथि अनेकौँ चलचित्र बनेका छन् । तर बिमल रायद्वारा निर्देशित ‘देवदास’को जवाफ छैन । मूलतः यो प्रेममा डुबेको देवदासको त्रासद कथा हो । तर, प्रेमको फरक रूप यो चलचित्रमा हेर्न पाइन्छ । प्रेममा आफूलाई डुबाएर आफैँलाई सजाय दिने पात्रको रूपमा अभिनय सम्राट दिलिप कुमारले अद्भूत अभिनय गरेका छन् ।

चलचित्रमा सुचित्रा सेनले पनि पारो र वैजयन्तीमालाले चन्द्रमुखीको भूमिका निर्वाह गरेकी छन् । साहिर लुधियानबी र सचिन देव बर्मनको गीत–संगीत सुन्न लायक छ । ‘देवदास’ को गणना भारतमा बनेका महान् चलचित्र मध्ये हुन्छ ।

हिट गीतः किसको खबर थी, आन मिलो आन मिलो, मितवा लगी यह कैसी, अब आगे तेरी मर्जी, वो ना आएंगे पलट कर

  • चोरी–चोरी (१९५६)
    हलिउड मुभी इट ह्यापेन्ड वन नाइटमा आधारित चोरी–चोरी एउटा रोमान्टिक मुभी हो । राज कपुर र नरगिसको सदाबहार जोडीको केमिस्ट्री यो चलचित्रमा हेर्न लायक छ । सन् १९९१ मा यसै कथामा आधारित चलचित्र ‘दिल है कि मानता नहीं’ महेश भट्टले बनाएका थिए । चलचित्रको ताजगी मधुर संगीतले आज पनि हेर्न लायक छ । चलचित्रको निर्देशन अनन्त कुमारले गरेका थिए ।

हिट गीतः आजा सनम, जहाँ मैं चली आती हुं, पंछी बनूं उड्ती फिरुं, रसिक बलमा, ये रात भिगी भिगी, अल लाइन क्लियर

  • सिलसिला (१९८१)
    यश चोपडाद्वारा निर्देशित सिलसिला बक्सअफिसमा फ्लप भएको थियो । अमिताभ–रेखा–जया सँगै काम गर्नु चलचित्रको आकर्षण थियो । यो पनि एउटा फ्लप हुनुको कारण बन्यो । त्यस समय अमिताभ र रेखाको रोमान्सको अफवाह फैलिएको थियो । स्क्रिनमा जयाबाहेक रेखासँग अमिताभको रोमान्स हेर्न दर्शकलाई मन परेन । यद्यपि चलचित्रको कथा र उतारचढाव उम्दा थियो । परिस्थितिका कारण फसेका पात्र प्रेम र कर्तव्यका बीच जुझिरहेको देखिन्थ्यो । शिवहरिको संगीत आज पनि सुन्न लायक छ ।

हिट गीतः देखा एक ख्वाब, ये कहां आ गए हम, रंग बरसे भिगे चुनरिया, लडका है या शोला, निला आसमान

– बाह्रखरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका