काठमाडौं,फागुन ३ –
चालु आर्थिक वर्षको ६ महिनामा आधा दर्जन वाणिज्य बैंकले १ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंक मध्ये २२ बैंकको नाफा १ अर्ब तल छ ।
६ महिनामा १ अर्ब बढी नाफा गर्नेमा नेपाल बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र हिमालयन बैंक छन् । गत पुससम्म सबैभन्दा बढी नाफा नेपाल बैंकले गरेको छ । नेपाल बैंकको नाफा १ अर्ब ८९ करोड ५० लाख रुपैयाँ छ । गत आवको ६ महिनामा बैंकले १ अर्ब ४ करोड ८१ लख रुपैयाँ नाफा गरेको थियो ।
नेपाल बैंकपछि बढी नाफा गर्नेमा नबिल भएको छ । उसले १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा नविलको नाफा १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ थियो ।
नेपाल इन्भेष्टमेन्टले १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा इन्भेष्टमेन्टको नाफा १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ थियो । सरकार स्वामित्वको वाणिज्य बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा उसको नाफा १ अर्ब ७ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा प्रभु बैंकको नाफा १ अर्ब ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा उसको नाफा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो । कर्जा असुलीमा सुधार गरेपछि प्रभुको नाफामा वृद्धि भएको हो ।
यस्तै हिमालयन बैंकले पनि नाफा बढाएर १ अर्ब २ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा हिमालयनले ८० करोड २२ लाख रुपैयाँ थियो ।
यस्तै एभरेष्ट बैंकले ९७ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा एभरेष्टले नाफा ७५ करोड ३७ लाख रुपैयाँ थियो ।
कृषि विकास बैंकले ९० करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा कृषि विकासको नाफा ३८ करोड ७५ लाख रुपैयाँ थियो ।
ग्लोबल आईएमई बैंकले ९० करोड ६२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा ग्लोबलको नाफा ७६ करोड २७ लाख रुपैयाँ थियो ।
यस्तै एसबीआई बैैंकले ७५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा उसले ६२ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।
बहुराष्ट्रिय स्ट्यान्डर्ड चार्टड बैंकले ७४ करोड, सिद्धार्थ बैंकले ७२ करोड ६० लाख, एनआईसी एसिया बंैकले ७२ करोड १४ लाख, एनएमबी बैंकले ७० करोड १० लाख, सिटिजन्स बैंकले ६३ करोड १६ लाख, सानिमा बैंकले ६२ करोड २४ लाख, सनराईज बैंकले ६० करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
यस्तै बैंक अफ काठमाडौं लुम्बिनीले ६० करोड १४ लाख, माछापुच्छ्रे बैंकले ५७ करोड ५३ लाख, प्राइम बैंकले ५५ करोड ९७ लाख, नेपाल बंगलादेश बैंकले ५४ करोड, लक्ष्मी बैंकले ४० करोड ६३ लाख, मेगा बैंकले ३७ करोड, कुमारी बैंकले २७ करोड ९३ लाख र सेञ्चुरी कमर्शियल बैंकले २२ करोड ३९ लाख र सिभिल बैंकले १६ करोड ७३ लाख रुपैयाँ नाफा गरेका छन् ।
हालसम्म २६ बैंकले आफनो वित्तीय विवरण प्रकाशित गरेका छन् । वित्तीय विवरणअनुसार सबैभन्दा कम नाफा गर्नेमा सिभिल बैंक भएको छ । ६ महिनामा सिभिलले १६ करोड ७३ लाख रुपैयाँ मात्र नाफा गरेको छ । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श बैंक र जनता बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।-बाह्रखरीबाट