तिलक गाँउले,
बांके पुस २९-
थारु समुदायले नयाँ बर्षका रुपमा मनाउने माघिको रौनक थारु समुदायमा सुरु भएको छ । थारु समुदायले माघीलाई बिशेष पर्बको रुपमा लिने गर्दछन । माघीकै अबसरमा अर्थात माघे सक्रान्तिको दिनमा थारु समुदायमा महत्वपुर्ण निर्णय गर्ने गरिन्छ । थारु समुदायको बाहुल्यता रहेको पश्चिम तराईका जिल्लाहरुमा मेला तथा महोत्सबहरु पनि शुरु भएको छ ।
पहाडी समुदायमा आफना नाता गोतालाई घरमा बोलाई खिचडी, तरुल सख्खरखण्ड खुवाउने चलन रहदै आएको छ भने मधेसमा थारु समुदायहरुले यो पर्बलाई निकै हर्षका साथ मिठा परीकारहरु ढिकि,्र माछामासु तिलको लड्डु, जाँड आपसमा बाडेर खाने गर्दछन ।
करिब एक हप्तासम्म मनाईने माघी पर्व अन्तरर्गत थारु समुदायले विभिन्न कृयाकलाप गरि मनाउने गरेका छन् । नयाँ बर्षको रुपमा मनाउने यो पर्वमा थारु सामुदायले सद्भाव तथा आत्मिक प्रतिकको रुपमा समेत लिने गरेका छन् ।
त्यसका लागि थारु समुदायले माघे सक्रान्ति आउनु पुर्ब नै माघीमा खानपिनको लागि धान कुटाउने, ढिक्री खान पिठो पिसाउने, मासुको लागि योजना बनाउने, नयाँ कपडा किन्ने, घर आँगन सरसफाई तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने लगाएतका योजना हरु बनाउने गर्दछन ।थारु अगुवा लाहुराम थारुभनछन् ‘यो पर्व हाम्रा लागि सवैभन्दा ठुलो हो । त्यसैले हामी यसलाई धुमधामका साथ मनाउछौ । ’
माघे सक्रान्ति आउनुभन्दा २ दिन अगाडि देखिनै थारु समुदायमा यो पर्बले छोईसकेको हुन्छ । उनिहरुले माछा मार्न महिनौअघि देखि खोला या तालमा माछा संरक्षण गरेर राख्ने थारु समुदायको परम्परा छ ।
उनिहरु २ दिन अगाडि तलाउ नदिमा गइ माछा मार्ने तथा विभिन्न परिकारहरु बनाउने गर्दछन् । यसैगरी माघी पर्वको दोस्रो दिन थारु सामुदायले गाँउ गाँउमा सुगुँर काटेर मासु घर घरमा ल्याउने गर्दछन् । जसलाइ जिता मरना भनिन्छ ।
उनिहरु त्यहि दिन आआफ्ना आफन्त छोरीचेलिहरुलाइ माघी पर्वको निम्तो गर्न छोरी चेलिहरुको घरमा पुग्ने गरेका छन् ।
त्यसलाइ थारु भाषामा पहुनी लेह जइना पनि भन्ने गरिन्छ । यसैगरी छोरी चेली आफन्तहरुलाइ घरमा ल्याइ सकेपछि साँझ पख घर परिवार आफन्त सबै एकै ठाँउमा बसेर दुख सुखका कुरा गर्दै घरमा भएका परिकार खाने गर्दछन् । उनिहरु रातभरि सुख दुखका कुरा गरि नाचगान गर्दै रमाउने गरेका छन् ।
थारु पत्रकार संघ बाँकेकी अध्यक्ष बिमला चौधरीका अनुसार माघीमा थारु समुदायको मुख्य परिकारका रुपमा ढिक्रीलाई लिने गरीएको छ ।
भन्छिन् ‘यो पर्बमा ढिक्रीको ठुलो महत्व रहने गर्दछ । ३ दिन सम्म मनाउने माघीमा थारु समुदायका युवाहरु १ गते देखी नै नाचगान गरी रमाइलो गर्छन भने युवतीहरु २ गते देखी रमाइलो गर्ने गर्दछन ।’
भाले नबास्दा सम्म मात्रै रमाइलो गर्ने थारु सामुदायहरु भालेको डाँको सगै कोहि संग नबोलेर नजिकैको तलाउ, नदिमा उनिहरु नुहाउन माघ १ गते जाने गर्दछन् । विहान भगवानको नाममा स्नान गर्दा खेरि जेठो छोरा बाट सुरु भइ पालै पालो नदिमा स्नान गर्ने गर्दछन् ।
स्नान गरि सकेपछि तिलको डाँठको आगो बालेर तापि कसै सगं नबोलेर टिका लगाइ एक अर्का प्रति माया साटासाट गर्ने गर्दछन् । तिलको आगो तापेमा दुख जति सवै जलेर नष्ट हुने विश्वास रहि आएको छ ।
यसैगरी टिका लगाइ घर फर्किएपछि उनिहरु छोरी चेलीको नाममा उपाहार भनेर नुन र चामल छुट्टायाउने गर्दछन । यो समुदायमा नुन ४ मुठि र चामल ८ मुठि छुट्टाउने चलन रहिआएको छ । जसलाइ थारुमा निश्राउ कहरलक पनि भनिन्छ ।
निश्राउ अथवा उपाहार छुट्टाइ सकेपछि मात्रै सबै संग बोलचाल सुरु हुन्छ । उनिहरु विहान ८ बजे पछि सपरिवार बसेर ढिकरी, घोँगी, माछा सख्खरखण्ड लगाएत सात परिकार खाने गर्दछन ।
उक्त ७ परिकार खाइसकेपछि उनिहरुको घरको महत्वपुर्ण बैठक सुरु हुन्छ । जसमा बर्ष भरीको काार्य प्रगति विबरण, तथा खेति पातीको बार्षिक योजना आगामि बर्ष के गर्ने भनेर योजना तर्जुमा सबैको सहमतिमा गर्ने गर्दछन ।
थारु पत्रकार संघ बाँकेकी सल्लाहाकार संगिता चौधरीका अनुसार त्यस्तो योजना अन्र्तगत घरबनाउने, विहे गर्ने, घर छुट्टीन,े लगाएत रहेका हुन्छन् । यसैगरी गाँउ भरिका घरमुली जम्मा भएर मतावा, बरघर, भल्मन्सा चुन्ने र गाँउ भरिको बार्षिक योजना तर्जुमा गर्ने गरिन्छ ।
यसैगरि सबैको महत्व पुर्ण बैठक सकि उनिहरु समुहमा नाच गानको लागि तयारी गर्ने गर्दछन ।उनिहरु आजकै दिन घरमा आउने छोरी चेली तथा आफन्त बाल बच्चाहरुलाइ आफुले सक्दो पैसा दिने चलन समेत रहि आएको छ ।घरघरमा जाँड खादै नाचगान गर्ने थारु सामुदायीका मानिसहरुलाइ गित मार्फत घरका मूलिलाइ फकाउने गर्दछन् ।