उदयपुर,पुस ११-
बजारमा माग बढेपछि दुर्गम पहाडी क्षेत्रका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका छन् । डुम्रे, आँपटार, पोखरी, लाफागाउँ, बलम्ता, ताम्लिछालगायतका पहाडी गाविसका किसान जुनेलो र फापरको व्यावसायिक खेतीमा लागेका हुन् ।पछिल्लो समय बजारमा जुनेलो र फापरको माग निकै बढेको छ ।
विशेष गरेर सहरीया उपभोक्तालाई जुनेलो र फापरका परिकारले लोभ्याउने गरेको छ । त्यसैले ग्रामीण क्षेत्रमा किसानले यी वस्तुको व्यावसायिक खेती सुरु गरेका छन् । “दुई/चार वर्ष अघिसम्म सहर बजारमा यी वस्तुलाई अखाद्य वस्तुको रूपमा हेरिन्थ्यो, त्यसले खेती पनि क्रमस कम हुँदै गएको थियो । तर, पछिल्लो समय माग बढ्दै गएपछि खेती बढाएका छौं,” पोखरीका किसान हेम मगरले भने, “अहिले व्यापारीहरु घरमै खरिद गर्न आउने गरेका छन् ।”
मगरले अहिले झन्डै ५ रोपनी जग्गामा जुनेलो खेती गरेका छन् । अब केही समयपछि जुनेलो तयार हुने मगरले बताए । तयारी जुनेलो अग्रिम बिक्री भइसकेको छ । “मूल्य निर्धारण गरेर अहिले ५ हजार रुपैयाँ बैना लिएको छु,” मगरले भने ।
फापरको पनि बजारमा माग बढेको छ । विशेष गरेर उपभोक्ताले तीते फापर खोज्ने भएकोेले किसानले पनि तीते फापरकै खेती बढाएका छन् । पहिले पहिले गाउँघरमा सागका लागि तीते फापर खेती गर्ने गरेको किसान बताउँछन् । तर, पछिल्लो समय बाली लिनकै लागि खेती सुरु गरिएको लाफागाउँकी गोमा थापाले बताइन् ।
“हाम्रो बारीमा पहिले तीते फापर फल्दैन थियो,” उनले भनिन्, “आफैंले खाजामा रोटी खानका लागि मीठे फापर लगाइन्थ्यो ।” दुई वर्षयता मीठेको साटो तीतेफापरको खेती गर्न थालेको उनले बताइन् ।
“घट्टामा पिँधेको फापरको मिठोसँग चामल साटिन्छ,” आँपटारको रौतापोखरीमा भेटिएका ताम्लिछाका नरमान विश्वकर्माले भने, “मेरो त पछिल्लो समय व्यवसाय नै परिर्वतन भएको छ ।” आरनको काम छोडेर गाउँको घट्टामा फापर पिँधेर गाईघाट बजार लगेर बिक्री गरेर चामल ल्याउने गरेको उनले बताए ।
विश्वकर्मा पहाडबाट पिठो बोकेर आउने गर्छन् । गाईघाटबाट चामल लगेर बिक्री गर्छन् । “चामल बिक्री गरेर फापर किन्छु,” विश्वकर्माले हाँस्दै भने, “त्यसैले अहिले म पिठोसँग चामल साटदै छु ।” पिठो मात्रै होइन, वर्षमा झन्डै २ सय ५० पाथी फापर पनि बजारमा लगेर बिक्री गर्ने गरेको उनले बताए ।
अहिले बजारमा धानको मूल्य प्रतिकेजी २२ रुपैयाँ छ । एक पाथीमा करिव ४ केजी हुन्छ । यसरी मूल्यांकन गर्दा एक पाथी धानको ८८ रुपैयाँ मूल्य पर्छ । तर गाउँमा उत्पादन भएको फापर एक पाथीको १ सयदेखि १ सय ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको डुम्रेका किसान भक्तबहादुर मगरले बताए ।
त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले बजारमा माग बढ्नु नै यी वस्तुको प्रयोग गर्ने उपभोक्ता बढ्नु भएको बताए । “पछिल्लो समयमा उच्च रक्तचाप र मधुमहेका बिरामीले फापरको बढी प्रयोग गर्ने गरेकोले माग बढेको हो,” उनले भने, “माग बढेपछि मूल्य पनि बढ्नु स्वभाविकै हो । ” उत्पादन बढ्दै गएपछि बजार मूल्य पनि कम हुँदै जाने उनले बताए ।