Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
झापाका आँखा अस्पतालमा आधा विरामी भारतकै आउँछन् – Gaule Khabar

झापाका आँखा अस्पतालमा आधा विरामी भारतकै आउँछन्

झापाका आँखा अस्पतालमा आधा विरामी भारतकै आउँछन्

झापा, पुस ९ – हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे ।

भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोराको उपचारका लागि यहाँ आएका हुन् । भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि उनी १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल आइपुगेका हुन् ।

‘दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु’ उनले भने– ‘भारतमा निको नभएपछि उपचार गराउन यहाँ आएको हुँ ।’ यस क्रममा उनले छोराको उपचारका लागि रु तीन लाख खर्च गरिसकेका छन् । यस्तै भारत सिक्किमका सुनिता भण्डारी गुरुङ ८ वर्षीय छोरा विजयका साथ अस्पतालमा भेटिइन् । उनी तीन वर्षदेखि लगातार छोराको उपचार गराउन नेपाल धाउँदै आएकी छिन् । ‘अढाइ वर्षको हुँदादेखि नै आँखाको समस्या छ, भारतीय अस्पतालमा जति उपचार गरे पनि रोगको पत्तो लागेन’ उनले भनिन् ‘यहाँ ल्याएपछि एकै दिनमा रोग पत्ता लाग्यो ।’ छोराको रोग निको हुँदै गएको गुरुङको भनाइ छ ।

छोरालाई नियमित चेकजाँच गराउन आउने गरेको उनले बताइन् । विर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुन्छन् । अन्य रोगको उपचारका लागि दिनहुँ सयांै नेपाली भारतका विभिन्न अस्पताल जाने गरे पनि आँखाको उपचार गर्न भने सोही सङ्ख्यामा भारतीय झापा आउने गरेका छन् ।

पहिला पहिला रोगले थलिएर बस्ने नेपाली अहिले आँखामा सामान्य समस्या देखिँदा समेत अस्पताल धाउने गरेका छन् । घरआँगनमै उपचार सहज भएपछि उनीहरु रोग लाग्ने वित्तिक्कै अस्पताल दौडिने गरेका हुन् । ‘आँखामा कचेरा आएपछि नजिकैको अस्पतालमा जचाउन आइहालेँ’ १ वर्षीय छोरा सम्भवलाई काखी च्यापेर आएका धुलाबारीका सिर्जना कडरियाले भनिन् ‘कचेरा झिक्न नियमित अस्पताल आउने गरेकी छु ।’ अस्पतालका नेत्ररोग विशेषज्ञ डा पवन महतले दैनिक तीन हजार सम्म विरामी आउने गरेको वताए । ‘दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्’ उनले भने, ‘उपचार गर्न आउनेमा नेपाली र भारतीय बराबरीको सङ्ख्यामा छन् ।’

सन् १९९६ मा लायन्स क्लब अफ विर्तामोडले नेदरल्यान्डमा रहेको ‘आईकेयर’ फाउन्डेसनको सहयोगमा यहाँ १५ दिनको आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा पाँच हजार ७३८ जनाले सेवा पाए । शिविरमै यति धेरै बिरामीको चाप देखेपछि नेदरल्यान्डको आईकेयर फाउन्डेसनले अस्पतालका रुपमा सेवा दिन मद्दत गर्ने बताएपछि सोहीवर्ष विर्तामोडमा आँखा अस्पताल सञ्चालन भएको लायन्सक्लब अफ विर्तामोडका संस्थापक अध्यक्ष तथा अस्पतालका पूर्वअध्यक्ष भरतलाल गिरीले बताए ।

स्थापनाको दुई दशकमा २० लाख ७० हजारभन्दा बढी बिरामीले आँखाको उपचार पाइसकेका छन् । सुरुवातमा एकजना चिकित्सकबाट सेवा प्रारम्भ गरेको सो अस्पतालमा हाल १३ चिकित्सकसहित एक सय २० जना कर्मचारी रहेका छन् ।

अस्पतालले शनिबार समेत सेवा प्रदान गर्दै आएको छ । तीन बिगाहा १६ कठ्ठा ६ धुरमा फैलिएको सो अस्पताल रु २५ करोडको लागतमा स्थापना भएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए । अहिले अस्पतालसँग पाँचवटा अत्याधुनिक भवन रहेका छन् । ती भवनको उद्घाटन तत्कालीन राष्ट्रपति डा रामवरण यादवले सन् २००९ मा गरेका थिए । अस्पतालले बिहानदेखि राति ८ बजेसम्म सेवा प्रदान गर्दैआएको छ ।

‘बालबालिकाका लागि छुट्टै सेवा प्रदान गर्दै आएका छौं’ नेत्ररोग विशेषज्ञ डा महतले भभने, ‘शल्यक्रिया गरेबापत बिरामीबाट रु दुई हजारदेखि रु ३२ हजारसम्म सेवा शुल्क लिने गरेको छ । न्यून शुल्कमा गुणस्तरीय उपचार पाउनथालेपछि भारतीय बिरामीको चाप बढ्दै गएको छ  ।’ अस्पतालले मेची अञ्चलका विभिन्न जिल्लामा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

दुई सय ५० शैयाको अस्पताल सञ्चालन गर्न विभिन्न उपकरणको अभाव रहेको अस्पतालका प्रशासन प्रमुख बताउछन् । ‘एउटै मेसिन किन्न रु ५० लाखदेखि रु ६० लाखसम्म खर्च लाग्छ,’ उनले भने ‘यति धेरै महँङ्गा उपकरण किन्न अस्पताल आफैले सक्ने अवस्था छैन, सरकारले सहयोग गरे हामी थप सेवा प्रदान गर्न तयार छौँ ।’

सो अस्पतालसहित  जिल्लामा हाल मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल र दृष्टि आँखा अस्पतालबाट आँखाका बिरामीले सेवा उपभोग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका