रसुवा, पुस ५ –
मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले नेपाल–चीनबीचको व्यापारिक मार्ग पासाङ ल्हामु राजमार्गको आज निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा आज रसुवा पुग्नुभएका क्षेत्रीय प्रशासक केसीले ठाउँठाउँमा बिग्रेका राजमार्ग मर्मत सम्भारमा विशेष चासो दिन र एक जना जिम्मेवार सडक प्रविधिज्ञ रसुवा जिल्लामै राख्ने व्यवस्था गर्न डिभिजन सडक कार्यालयको ध्यान आकृष्ट गर्नुभयो ।
सडक सतहमा ठूल्ठूला खाल्टाखुल्टी परिरहेकाले सो राजमार्गमा मालबाहक सवारी साधन गुडाउन असहज भइरहेको थियो । सडक कार्यालयले गत वर्षदेखि गरिरहेको काम पनि कछुवाको तालमा मात्र अगाडि बढिरहेको अवस्थामा क्षेत्रीय प्रशासकबाट निरीक्षण भ्रमण भएको छ ।
आज क्षेत्रीय प्रशासक केसीले रसुवा जिल्लाको समग्र सुरक्षा स्थितिको जानकारी लिनाका साथै नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रु–मैलुङ नयाँ राजमार्ग र टिमुरेमा निर्माण हुने सुख्खा बन्दरगाह क्षेत्रको समेत निरीक्षण गर्नुभएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिनुभएको छ । – रासस