वि.स. २०५८ सालको उत्तरार्धतिर आमाबुबा तत्कालीन नेकपा माओबादीमा लागेपछि ९ वर्षीया बिमला राई त्यही बाटो हिड्न बाध्य भइन् । कक्षा ४ पढ्दै गर्दा स्कुलको पढाइलाई थाति राखेर पार्टीमा लागेकी बिमलाले पार्टीकै होस्टेलमा बसेर अध्ययन गर्दै बालकलाकार भएर पार्टीमा योगदान दिइरहिन् । जनयुद्धलाई उत्कर्षमा पुर्याएर नेपालमा गणतन्त्र स्थापना गर्न योगदान दिने हजारौ बालयोद्धामध्येका एक प्रतिनिधि पात्र हुन् उनी । गजल र कविता विधामा कलम चलाउने हलेसी तुवाचुङ नगरपालिका ०७ हलेसी खोटाङकी स्रष्टा बिमला राईको प्रस्तुत कविताले उनका भोगाइ र दुखाइ बोलेको छ । देशमा क्रान्ति ल्याउन सर्वस्व त्यागेर लागेका योद्धाले अन्ततः घाउमा मलमपट्टीसम्म नपाएको विषय कवितामा चित्रित छ ।
कम्रेड,
मैले माओ त्से तुंग पढें,
लेनिन, कार्ल माक्स पढें,
अनि पढिसकें बिपिको सिद्धान्त पनि
यति मात्र कहाँ होर ?
माओ त्से तुंग, लेनिन, कार्ल माक्सको
सिद्धान्तले भरिएको झोला
लामो समयसम्म बोकेकी छु ।
तिनै सिद्धान्तको स्वास फेरेकी छु ।
इतिहास फेर्न नसकिदो रहेछ
फेर्नु त जरुरत छ,
यति सकिन्छ भने त्यो पनि फेर्छु ।
ए ! कलियुगका कलि हो ।
हातमा हतियार देखाएर मलाई नजिस्क्याउनु
पश्चिम रुकुम रोल्पाबाट उदाँएर
पूर्बी बन्दिपुर, घोरेटार र दिक्तेल हुँदै अस्ताएको
जनयुद्धका जनयोद्धाहरुको
आलो रगतले कोरिएका इतिहासले
थुक्ने छ तिमीलाई ।
कम्रेड,
भो मलाई जनयुद्ध नपढाउनु,
जनयुद्धको बम र बारुदसँग
१८ औं बर्ष पहिले देखिको सम्बन्ध छ ।
कुरा बुझौं, म क्रान्तिकारी के ?
अझै प्रगाढ सम्बन्ध त सुन्छौं ।
रक्तस्रावमा चुर्लुम्म डुबेको आमालाई
उपचार गराउन घर बेचेको दिन
सारा जीवन, परिवार त्यागेर
क्रान्तिकारी बन्नुको फाइदा यो एउटा
हो कम्रेड बिडम्बना यहिँ छ ।
जनयुद्ध र राजनीतिमा
हामी जस्तो सोझो सिधाको,
सुनुवाइ केही नहुदो रहेछ ।
हुने र गर्नेले त उसै बेला
घर, जग्गाजमिन अनि आफ्नो थैलो दह्रो बनाए
जसको परिणाम अहिले पनि त्यस्तै छ ।
सकिनँ मैले, सक्नु पनि कसरी ?
जाबो म एउटा क्रान्तिकारीले ।
कम्रेड,
आमाको उपचारको लागि
गुहार कहाँ कहाँ मागेनौ र ?
आफन्तको घरको झ्याल ढोका हुँदै
गाउँ, जिल्लादेखि सहरका अस्पतालसम्म
आमालाई उपचार गराँउदा गराँउदै
सकियो आफै बस्ने घर पनि
आज पनि सोच्दैछु ।
को होलान् जनयुद्ध ?
जनयुद्ध पनि स्वार्थी रैछ ।
कम्रेड,
जनयुद्धले च्यात्नु त के के च्यात्यो च्यात्यो ।
मन, मुटु मात्र कहाँ होर ?
अधुरा र कलिला सपनाहरु थुप्रै च्यात्यो।
खुसी, उमंग, हर्षसँगै बालापन सबै च्यात्यो ।
त्यसैले त आज पनि म
आमाको च्यात्तिएको फेङ्गा टालटुल गर्दैमा ठिक्क छु ।
कम्रेड,
तर मलाई जनयुद्ध र राजनीति नपढाउनु
म क्रान्तिकारी हुँ
अझै म बिचलित भएकी छैन ।
टुट्ने, फुट्ने र बिचलित हुनेवाला छैन ।
एउटा क्रान्तिकारीको अठोट हो ।
***