नेपाल र दार्जिलिङको सिर्जनशील सम्बन्धमाथि परिचर्चा

नेपाल र दार्जिलिङको सिर्जनशील सम्बन्धमाथि परिचर्चा

गाउँले न्युज, काठमाण्डौ । नेपाल र दार्जिलिङको समसामयिक साहित्य, संगीत र नाटकमाथि परिचर्चा भएको छ । नेपालको तर्फबाट चिन्डो बुक्स र दार्जिलिङको तर्फबाट साउथफिल्ड कलेजको संयुक्त आयोजनामा शुक्रबार ‘नेपाल–दार्जिलिङ समसामयिक साहित्य–संगीत–नाट्य विमर्श’ शिर्षकमा परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । राजधानी काठमाडौंमा सम्पन्न कार्यक्रममा साउथफिल्ड कलेजका प्राध्यापकद्वय धनकुमार देवान, सदीप प्रधान र लेखक पुस्कर सिंगरले आफ्नो बिचार व्यक्त गरेका थिए भने लेखक तथा निर्देशक प्रकाश आङदेम्बे र रंगकर्मी तथा लेखक संगीता थापाले नेपालको समकालीन साहित्य तथा नाटकबारे आफ्नो बिचार राखेका थिए ।
कार्यक्रममा बोल्दै प्राध्यापक धनकुमार देवानले दार्जिलिङमा लेखिदैँ गरेका नाटक वा साहित्यमा आफूहरुले जातीय अस्मिताको लडाईं गरिरहेको बताए । ‘हामी जे लेखिरहेका छौं, यसमा हामीले जातीय अस्मिताकै कुरा गरिरहेका छौं । दार्जिलिङको सन्दर्भमा जातीय अस्मिता भनेको समग्र नेपाली जातिको अस्मिता हो’ देवानले भने, ‘नेपाल र दार्जिलिङबीचमा रहेको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक संरचनामा रहेका भिन्नताहरुले पनि प्रभाव पार्छ ।’
अर्का वक्ता निर्देशक प्रकाश आङदेम्बेले नेपाल र दार्जिलिङको बीचमा प्रगाढ सम्बन्ध रहँदारहँदै पनि कहिलेकाहीँ नेपालवासीहरुले दार्जिलिङको मुद्दामा र कहिलेकाहीँ दार्जिलिङवासीले नेपालको मुद्दामा भावनात्मक टिप्पणी गर्ने गरिएको बताए । ‘नेपालमा चाहिँ जातीय अस्मिताको लडाईं भनेको मूलधारका मासिहरुले पाइरहेको जुन स्पेस छ, त्यो समान स्पेस सीमान्तकृत समुदायले पनि पाउनुपर्छ भन्ने हो । दार्जिलिङमा नेपाली (खस) भाषाको जुन इम्पोर्टेन्स् छ, त्यो नेपालमा रहँदैन । किनभने सिंगो नेपाललाई समुद्र मान्ने हो भने हामी सर्वप्रथम नेपाली हौं र समुद्र बन्नका लागि खोला–नालाहरुको अस्तित्वलाई स्वीकार गर्नुपर्छ भन्ने लडाईं हो’ आङदेम्बेले भने, ‘तर दार्जिलिङमा केन्द्र, राज्य हुँदै जिल्लामा आएर विभिन्न भाषाको चुनौतीबीच जुन संघर्ष गरिरहनुभएको छ, तपाईंहरुको यो संघर्षलाई नेपालका तर्फबाट सलाम गर्छौं ।’
कार्यक्रममा प्राध्यापक तथा समालोचक सदीप प्रधानले नेपालमा रहेको नाटकको माहौल दार्जिलिङका लागि कल्पनाबाहिरको कुरा रहेको बताए । ‘नेपालमा एउटै नाटक यति लामो समय मन्चन हुँदोरहेछ कि त्यो दार्जिलिङको लागि कल्पनाबाहिरको कुरा हो । यहाँ एउटै नाटकले त्यत्रो लामो समय दर्शक पाउँदा दार्जिलिङमा चाहिँ ६ दिनमा २४ नाटकसम्म मन्चन भएका छन्’ प्रधानले भने, ‘तर यसको अर्थ दार्जिलिङमा केही भएकै छैन भन्ने चाहिँ होइन, भएका छन् । तर यहाँको तुलनामा दार्जिलिङमा नाटकका लागि दर्शक पाउन एकदमै मुस्किल छ । र नेपालमा चाहिँ नाटकका लागि दर्शकभन्दा पनि कथा के ल्याउने भन्नेमा पुगिसक्नुभयो । हामी चाहिँ संस्कृति संरक्षणभन्दा माथि जान सकेका छैनौं ।’
कार्यक्रममा अर्का वक्ता साहित्यकार पुस्कर सिंगरले साहित्यमा नेपालको बजार राम्रो भएको बताए । ‘नेपालमा चाहिँ साहित्यको बजार राम्रो छ । दार्जिलिङमा चाहिँ बजार साह्रै नै सानो छ’ संगीतबारे बोल्दै सिंगरले भने ‘हामीले बलिउडमा प्रवेश गर्नका लागि धेरै वटा लेयरहरु पार गर्नुपर्ने हुन्छ । तर नेपाली संगीत उद्योगमा आउन हामीलाई किन सजिलो छ भने हाम्रो भाषा, संस्कार, आचरण मिल्छ । सायद त्यसकारण दार्जिलिङका सर्जकहरु बलिउडभन्दा नेपाली संगीत उद्योगमा आउन सहज मान्छन् ।’ कार्यक्रममा लेखक तथा रंगकर्मी संगीता थापाले भने नेपाली नाटकबाट धन साँच्न नभए पनि जीवन बाँच्न सकिने परिस्थिति सिर्जना भएको बताए । ‘जोखना नाटक गर्नुअघि विदेश जाने सोंचमा थिएँ, तर त्यो नाटक गरेपछि बाँचिन्जेल नाटक कर्ममा रहने प्रतिवद्धता गरेको छु ।’ कार्यक्रमको सहजीकरण लेखक गणेशकुमार राईले गरेका थिए ।
कार्यक्रमको सुरुमा भने डा. महेश प्रधानले नेपाल र दार्जिलिङबीच रहेको सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । त्यसैगरी कार्यक्रममा साउथफिल्ड कलेज र चिन्डो बुक्सबीच कार्यक्रम सम्पन्न भएसँगै दार्जिलिङमा पनि उस्तै प्रकृतिको कार्यक्रम आयोजना गर्ने सम्झौता भएको छ । सम्झौता–पत्रमा चिन्डो बुक्सका अध्यक्ष गणेशकुमार राई र साउथफिल्ड कलेजका प्राध्यापक महेश प्रधानले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार दार्जिलिङमा आयोजना हुने कार्यक्रममा नेपालको तर्फबाट चिन्डो बुक्सको सिफारिसमा साहित्यकार तथा कलाकारहरुको सहभागीता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका