गाउँले न्युज, १६ साउन, काठमाण्डौ । खोटाङ जिल्लामा पछिल्लो समय शान्ति सुरक्षामा चुनौति देखापर्न थालेका छन् । स्थानीयस्तरमा घटेका घटना पत्ता लगाउन प्रशासनलाई निकै हम्मेहम्मे परेको छ । अहिलेसम्म घटेका विभिन्न घटना र तिनका अपराधी अहिलेसम्म पत्ता लगाउन नसक्नु प्रशासनको कमजोरी देखिएको छ ।
घटना नं १– सदरमुकाम दिक्तेल रत्नपार्कमा प्रहरीको बुथ छ । बुथसँगै जोडिएका घरहरू छन् । त्यही घरको विपरीत दिशामा स्थानीय व्यापारी राजु श्रेष्ठले आफ्नो मोटर साइकलपार्क गर्छन् । राति बुथ नजिकैबाट मोटरसाइकल चोरी हुन्छ । प्रहरीलाई जानकारी हुन्न । कुनै पनि हालतमा सुरक्षाको प्रत्याभुत नहुने गरी समान रातारात हराउँछन् । नगरपालिकाले राखेको कुनै पनि सिसी क्यामेरामा यसको फुटेज छैन । किरातचोकमा रहेको दुईओटा सिसी क्यामेरा सर्वसाधरणका लागि हाउगुजी जस्तो मात्र भएको छ ।
घटना नं २– लोकसेवा आयोगले साउन महिनाको ४ गते बिहान ८ बजेबाट दिक्तेल बहुमुखी क्याम्पस खोटाङमा परीक्षा सञ्चालन गर्ने तयारीका साथ सुरक्षाकर्मीहरू तैनाथ गर्छ । आन्दोलनकारीहरूले लोक सेवा आयोगको असमावेशी विज्ञापनको विरोधमा कार्यक्रमहरू निरन्तर चलाइरहेका छन् ।
प्रहरी प्रशासनलाई आरक्षण बचाउ अभियानको केन्द्रीय आन्दोलन चलिरहेको विषय राम्रै जानकारी छ । सुरुमा मसाल जुलुस भयो, सिठी जुलुस भयो, पुत्ला दहनको कार्यक्रम भए, बन्दको कार्यक्रम छ । बिहानै सातजनाको आन्दोलनकारी समूह क्याम्पस पुग्छन् । तीन तिरबाट क्याम्पस प्रवेश गरेर लोकसेवा आयोगले निकालेको असमावेशी विज्ञापनको सांकेतिक विरोध गरेर फर्किने गरी आन्दोलनकारी युवाहरू क्याम्पसको गेटमा पुग्छन् । बिना प्रवेशपत्र परीक्षा केन्द्रमा छिर्न प्रयास गर्छन् । सुरक्षाकर्मीले छेक्दैन । उनीहरू सरासर परीक्षा हलमा पुग्छन् ।
कसैले केही नभनेपछि आन्दोलनकारी युवाहरूले लोक सेवा आयोगको प्रश्नपत्र माग्छन् । निरीक्षकले आफ्नै हातले दिन्छन् । आन्दोलनकारीमध्येका एकजनाले प्रश्नपत्र च्यातेर सांकेतिक विरोध जनाउँछन् । बल्ल सुरक्षाकर्मीको चेत खुल्छ । सुरक्षाकर्मीहरूले आन्दोलनकारीलाई नियन्त्रणमा लिन्छन् । त्यसपछि परीक्षा गराउन गएका प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई हातखुट्टा भाँच्ने आदेश दिन्छन् । प्रहरीले बर्बरताका साथ आन्दोलनकारी युवामाथि राइफलको कुन्दाले ठोक्ने, सुताएर तिघ्रातिघ्रामा उफ्रने गर्छन् । प्रहरीले चारजना युवालाई गिरफ्तार गरेर लैजान्छ, पछि राजनीतिकदलका रोहबरमा एक रात राखेर प्रहरीले रिहाइ गर्छ ।
विगतको कुरामा पनि जाऊँ, २०७३ साल माघ २६ गते बुधबार बिहान मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङको हत्यारा अहिलेसम्म पत्ता लागेको छैन । प्रशासनले अनुसन्धान जारी रहेको बताउँछ । सिम्पानी बजारको होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जङलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिन्छ । घटनास्थलमा झारपात मडारिएको, शव घस्रिएको अवस्था रहेको मुचुल्का उठाइन्छ । घटना स्थलमा भेटिएका प्रमाणहरूको आधारमा रितालाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको थियो ।
२०७४ साल जेठ १६ गते हत्या गरिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मालाई भेटियो । स्याउला काटेर घर फर्कनेक्रममा उनको हत्या भएको भनिन्छ । इलाका प्रहरी कार्यालय हलेसीभन्दा करिब पैदल पाँच मिनेटको दुरीमा घटना भएको छ । प्रहरी प्रशासनले हत्यापछिका अपराधीको खोजी जारी राखेको बताउँछ । हालसम्म अपराधीको सुईंको समेत पाएको छैन ।
२०७४ साल साउन ४ गते हत्या गरिएकै अवस्थामा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्कर्माको शव फेला पर्छ । माइती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खु शिवालयबाट घर फर्कनेक्रममा उनी सम्पर्कविहीन बनेको आफन्तहरूले जानकारी दिन्छन् । सम्पर्कविहीन बनेको दोस्रो दिन देवीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनि कपडा खोलिएको अवस्थामा भेटिन्छ । उनको टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएपछि यहाँ पनि बलात्कारपछि हत्या भएको प्रहरीको ठहर छ ।
यी माथिका घटनाले जिल्लाको शान्ति सुरक्षाको अवस्था बताउँदैन र ? जिल्लाको शान्ति सुरक्षाको ठेक्का पाएका निकायहरूले सुरक्षाको प्रत्याभुत गराउन सकेकै हुन त ? आदेश दिने र लिनेहरूको संवेदनशीलता प्रभावकारी नै हो त ? यी र यस्ता किसिमका प्रश्नहरूले अहिले खोटाङ जिल्लाको सदरमुकाम ताती रहेको छ ।
सुरक्षाकर्मीले लोकसेवा आयोगको परीक्षाको प्रश्नपत्रको सुरक्षा दिन नसक्नु । विना प्रवेशपत्र पनि परीक्षा केन्द्रहरूमा आन्दोलनकारी घुस्न दिनु । प्रहरीकै अगाडिबाट मोटर साइकलचोरी हुनु । कसले कता लग्यो भन्ने कुराको पत्ता लाग्न नसक्नु । प्रहरीको अनुसन्धान किन यति कमजोर भयो होला । किन पत्ता लाग्न सकेन चोरी भएको मोटर साइकल । विना प्रवेशपत्र आन्दोलनकारी युवाहरू किन प्रवेश गरे लोकसेवा आयोगको परीक्षा केन्द्रमा ।
२०७३ सालमा बलात्कारपछि हत्या भएको रिता तामाङको परिवारले कहिले महसुस गर्न पाउने शान्ति सुरक्षाको प्रत्याभुति ? रिताको आत्मले के भन्दो हो ? २०७४ सालमा मारिएको ज्ञानीमायाको हत्यारा किन फेला नपरेका होलान् ? २०७४ साउनमा बलात्कारपछि हत्या गरिएको देवीको परिवारले न्याय पाउन कति समय कुर्नु पर्ला ? सुरक्षाको सम्पूर्ण जिम्मा सिडिओ साबकै होइन र ? यदि हो भने त सिडिओ साब यस्तो किसिमको शान्ति सुरक्षामा हामी नागरिकको कसरी जिउधनको सुरक्षा होला । मर्जी भए हुने थियो कि ? यो समाचार आजको सौर्य दैनिकमा भिम राईले लेखेका छन ।
https://gaulenews.com/?p=47449