गाउँले न्युज, १५ असार, काठमाडौं । माप्य दुधकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि कृषिलाई मुख्य प्राथमिकतामा राख्दै २७ करोड ७३ लाख ३७ हजार ३४९ रुपैयाको बजेट ल्याएको छ ।
माप्य दुधकोशी गाउँपालिकाका अनुसार सरकारको वित्तीय समानीकरणवापत १० करोड १० लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ६९ लाख ८४ हजार, प्रदेशको सवारी साधन कर वापत २२ लाख ८४ हजार, केन्द्र सरकारको राजस्व बाँडफाँड रकमवापत ५ करोड ६३ लाख, पर्यटन रोयल्टीवापत ४४ लाख ८९ हजार ३४९ रुपैयाँ, आन्तरिक राजस्व संकलनको १० लाख र सर्सत अनुदान रकम १० करोड ५३ लाख रहेको छ ।
कृषिका लागि नमुना वर्षको रुपमा घोषणा गरिएको र जसको लागि कृषिमा १ करोड ३४ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बुद्दिकिरण राईले बताए ।
अध्यक्ष राईका अनुसार कृषिअन्तर्गत कागती, कफी, सुन्तला खेती, अकबरे खुर्सानी, कन्य च्याउ, किवी, चिया, अदुवा/बेसार, अलैची तथा केरा खेती र मौरी घारसहित वितरणलगायतलाई प्राथमिकतामा राखिएको बताए । कृषिमा बजेट विनियोजन गर्ने क्रममा कृषिसँग सम्बन्धित प्रविधि प्रयोग गर्नका लागि प्रत्येक वडालाई २/३ वटाको दरले कोदो र गहु चुट्ने मेसिन वितरण गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।
पशुपालन अन्तर्गत बाख्रा पालन, बंगुर पालन, गाई पालन, खोर सुधार, माछा पालन, कालिज पालनलगायतलाई जोड दिईएको छ । साथै पशुपालनका लागि सामुहिक बधशाला निर्माण गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।
त्यस्तै कृषिपछि खानेपानीको लागि बजेटको बिनियोजन गरिएको छ । खानेपानीका लागि
माप्य दुधकोशी वडा न ६ र ७ को लागि माप्य दुधकोशी ७ स्थित ठाने खोला खानेपानीको लागि ४० लाख माप्य दुधकोशी गाउँपालिका २ को लागि राप्छाको योतेल्म्य खानेपानीका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
मोटरेबल पुललाई प्राथमिकताः
गाउँपालिकाको विभिन्न वडा साथै छिमेकी गाउँपालिकासँग जोड्ने मोटरेबल पुल निर्माणलाई पनि विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । माप्य दुधकोशी गाउँपालिका हुँदै खुम्बु पासँगल्यामु गाउँपालिकासँग जोड्ने ओर्लाङघाट मोटरेबल पुलका लागि २ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । माप्य दुधकोशी गाउँपालिका खुम्बु पासाङल्यामु गाउँपालिका र प्रदेश सरकारको सम्युक्त्त लगानिमा निर्माण भाईरहेको मोटारेवल पुललाई वि थ्री माप्य खुम्बु मितेरी मोटारेलब पुल नामाङकन गरिएको पनि अध्यक्ष राईले बताए ।
८ करोड ३४ लाख रुपैयाँको टेण्डर भएर निर्माण कार्य अघि बढाइएको उक्त पुलका लागि संघीय सांसदमार्फत ९० लाख, प्रदेश सरकारबाट २ करोड रुपैयाँ विनियोजन भएको छ भने बाँकी रकम माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाबाट ५०/५० प्रतिशत हिस्सा बजेटको व्यवस्था गर्ने सम्झौता भएको छ । ४८ मिटर लामो र ५० टन क्षमताको मोटारेवल पुल निर्माण हुने पनि अध्यक्ष राईले बताए ।
माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने कायखेत मोटरेबल पुलको लागि पनि २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । करिब ४० मिटर लामो उक्त पुलको टेण्डर आउँदो साउन महिनामा गर्ने र सुरु भएको एक वर्षभित्र पुलको निर्माण कार्य सकिनेगरी योजना अघि बढाईने अध्यक्ष राईले बताए ।
पर्यटन प्रवद्र्धन र विकासका लागि बजेटः
गाउँपालिकाभित्रको पर्यटकीय सम्भावनाहरुको उजागर गर्नका लागि बजेटको व्यवस्था गरिएको छ । विभिन्न पर्यटकीय सम्भावनाहरुमध्ये धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि वडा नम्बर ३ मा अवस्थित महादेव मन्दिरको संरक्षण तथा जिर्णोद्धार गर्दै विभिन्न संरचनाहरुको विकास गरिने छ ।
जलेश्वरी, सुन्दर झर्ना, घुम्ने मेराको गुम्बालगायतलाई पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन र विकास गरिने गाउँपालिकाले जनाएको छ ।
त्यस्तै जुभिङको प्याराग्रीन, काँकुको सन्तले भीर, खास्तापको क्याम्की भीरमा रक क्लाईम्बिङको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ भने राप्छामा निर्माण गरिने सबैभन्दा अग्लो चिण्डो प्रतिमाको अहिलेसम्म डिपीआर फाईनल भएको र यस परियोजना आउँदो बजेटमार्फत पूरा गरिने अध्यक्ष राईले बताए ।
विभिन्न जाति समुदायको साँस्कृतिक संरक्षण र विकासमा जोडः
गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति र समुदायहरुको साँस्कृतिक, भाषिक विकास तथा संरक्षण तथा प्रवद्र्धनका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।
त्यसअन्तर्गत भुजेलहरुको सँस्कृति संरक्षणका लागि ७ लाख, मगरहरुको भाषा र संस्कृति संरक्षणका लागि ५ लाख, खालिङहरुको भाषासँगै मुन्दुम लेखन तथा वास बृत्तचित्र निर्माणका लागि २२ लाख बजेट विनियोजन गरिएको छ भने दलित तथा अन्य समुदायको लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।
सडक स्तरोन्नति र कालोपत्रेमा जोडः
गाउँपालिकाभित्रको सडक सञ्जालमा पनि आवश्यकताअनुसार बजेट विनियोजन गरिएको छ । यो बजेटले सडकअन्तर्गत सडकको स्तरोन्नति र कालोपत्रेलाई मुख्य प्राथमिकतामा राखेको छ ।
सल्लेरी–काँकु–बासा हुँदै जुभिङ जोड्ने उक्त सडकलाई कालोपत्रेको लागि संघीय सरकारबाट १० करोड विनियोजन भएको छ । ४५ किलोमिटर दूरी रहेको उक्त सडक आगामी दुई वर्षभित्र कालोपत्रे सक्ने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।
सोही सडकको लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट विनियोजित १ करोड २५ लाखको टेण्डर भएर काम अघि बढाइएको छ । उक्त बजेटले सेर्गाखोपदेखि मुलखर्कसम्म ८ मिटर चौडा बनाउने काम हुने र प्रदेश सरकारबाटै प्राप्त १ करोड ५० लाख रुपैयाँ बजेटमार्फत मुलखर्क ओरालोको सडक स्तरोन्नतिको काम अघि बढाइएको छ भने गाउँपालिकाबाट विनियोजित ५० लाखले सरिमाको टर्निङहरुको स्तरोन्नति गर्ने काम भइरहेको राईले बताए ।
थुलुङ दुधकोशीसँग जोडिएको आम्रासबाट काँकु, सेतीहालको रोड धकम्यलुङमा जोड्ने काम सकिएको छ । उक्त सडकका लागि संघ, प्रदेश र गाउँपालिका गरी जम्मा ७३ लाख बजेट विनियोजन भइसकेको छ । त्यस्तै अन्य सडक सञ्चालको लागि पनि आवश्यकताअनुसार बजेटको व्यवस्था गरिएको जानकारी पनि अध्यक्ष राईले दिनुभयो ।
एकीकृत बस्तीका लागि पनि बजेटः
गाउँपालिकाभित्र एकीकृत वस्ती विकासका लागि पनि बजेट व्यवस्था गरिएको छ । वडा नम्बर ६ पहिरोबाट प्रभावित क्षेत्र भएकोले यसलाई एकीकृत बस्तीको रुपमा विकास गर्न प्रारम्भिक रुपमा १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भन् वडा नम्बर १ मा पनि एकीकृत बस्ती निर्माणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको शैक्षिक स्तरोन्नतिका लागि नयाँ कार्यक्रमः
गाउँपालिकाले शिक्षा क्षेत्रका लागि प्रदेश सरकारसँगसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको छ । नयाँ बजेटमार्फत यस वर्षभित्र माप्य दुधकोशी गाउँपालिकामा रहेका पाँच वटा माविमा ईएटेन्डेन्स र आगामी वर्षमा क्रमश १–८ सञ्चालन गरिरहेका आधारभूत विद्यालयहरुमा ईएटेन्डेन्समा लागु गर्दै जाने योजना छ भने आउँदो माघभित्र अनौपचारिक शिक्षा अथवा साक्षरता कार्यक्रम गरेर गाउँपालिकामा निरक्षरता उन्मुलन गर्ने कार्ययोजना गाउँपालिकासँग छ ।
गाउँपालिकाको नेटवर्क तथा इन्टरनेट विसर गर्न रेडियो लिंकको लागि बजेट विनियोजन गरिएको छ भने तेकान्दो खेल तालिम सञ्चालन गर्ने, गाउँपालिकाको रंगशाला निर्माण कार्यलाई निरन्तरता दिने तथा खालीमाविको फुटबल ग्राउण्डलाई व्यवस्थित गर्नेलगायतका लागि बजेट विनियोजन गरिएको छ ।
https://gaulenews.com/?p=46776
https://gaulenews.com/?p=46744
https://gaulenews.com/?p=46694