नेप्चीको लय
रचना समीक्षा -महेश कार्की क्षितिज
कृतिमा अभिव्यक्त सामाजिक चेतना तथा धरातल र लेखक बाँचेको सामाजिक धरातलको वैज्ञानिक अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने गरिन्छ । साहित्यमा समाज प्रतिबिम्बित हुन्छ तथा साहित्यका माध्यमबाट समाज पढ्न र बुझ्न सकिन्छ । समाज संस्कृति, धर्म, कानुन, रीतिरिवाज एवं व्यवहार आदिको संश्लिष्ट रूप भएकाले साहित्यलाई एक संस्थाका रूपमा हेर्ने गरिएको पाइन्छ । यस सन्दर्भमा साहित्यलाई यस्तो सामाजिक संस्थाका रूपमा हेरिएको हुन्छ, जसका चारैतर्फ समस्या, रीतिरिवाज, संस्कृति, इतिहास तथा व्यवहार र पद्धतिहरू एकीकृत भएका हुन्छन् । कुनै पनि साहित्यिक कृति स्रस्टाको विशुद्ध वैयक्तिक अनुभूति, कला र कल्पनामा तयार भएको हुन्छ र त्यो वैयक्तिक सन्दर्भ सामाजिक घटना–परिघटनासँग सम्बद्ध भई सामाजिक चेतनाका रूपमा प्रकट भएको हुन्छ ।
कविले भोगेको तथा बाँचेको युगको प्रतिबिम्ब कवितामामा अभिव्यक्त हुन्छ । कविताको अध्ययनबाट कविले अभिव्यक्त गरेको युग तथा समयका मानिसहरूको अवस्थाबारे बोध हुन्छ । कुनै युगमा कुनै विचारको प्रधानता रहेको हुन्छ र त्यसको एक किसिमको बौद्धिक ढाँचा पनि रहेको हुन्छ, जसले सम्पूर्ण समाजकै चिन्तनलाई प्रभावित गरेको हुन्छ । कवि आफ्नो युगको विषयमा सचेत हुन्छ । त्यसकारण उसले कवितामा व्यक्त गरेको युग एउटा विशेष स्मरणीय समयका रूपमा रहेको हुन्छ । एउटा युगमा बौद्धिक साँचोको रूपमा कुनै प्रधान विचार रहेको हुन्छ । त्यसले पूरै समाजको चिन्तन तथा व्यवहारलाई प्रभावित पारेको हुन्छ र जीवनका सबै क्षेत्रमा फैलिएको हुन्छ । लामो समयपछि यस्तो विचारको बिस्तारै ह्रास हुँदै जान्छ र अर्को नयाँ विचार प्रधान विचारको रूपमा रहन पुग्छ । यसका साथै यसले राष्ट्रिय प्रतिभा र समकालीन परिवेशसँग जोडिएर नयाँ प्रकारको चिन्तन र सिर्जनाको लागि प्रेरणा दिन्छ । यसबाट जुनसुकै युगमा पनि एउटै किसिमको मान्यता रहिरहन सक्दैन भन्ने कुरा स्पष्ट हुन्छ ।
नेप्चीको लय भित्रको सांस्कृतिक लय
कविहरू मनमय र तनमय चित्रणका साथ प्रकृतिको शाश्वत र आन्तरिक सौन्दर्य प्रस्तुत गर्दछन् । यसरी कवितामा चित्रण हुने प्रकृति मुक्त तथा सजीव रूपमा आएको देख्न सकिन्छ । त्यसै गरेर सामाजिक यथार्थको वस्तुपरक अभिव्यक्ति दिने क्रममा नेपाली ग्रामीण समाजका संस्कृतिहरुलाई कविहरूले कविताको विषय बनाएका हुन्छन् । जीवनजगत्का लयालु भावले कविता कसिलो बन्दछ । कसिलोको अर्थ कविताभित्र भएको नैतिकता, आर्दश र सौन्दर्य पक्ष हो । दिव्यदृष्टि, सौन्दर्य चेतना र स्वत ः स्फूर्त संवेदनीयताका आधारमा आफ्नो परिवेशबाट उपलब्ध अनुभूतिलाई सशक्त रूपमा कविले प्रस्तुत गर्ने हुँदा कविता कसिलो हुन्छ । सुवास संगम राई नेपाली कविता साहित्यमा नेप्चीको लय (२०७२) सङ्ग्रह लिएर आएका सोलुखुम्बु लोखिमका प्रतिभा हुन् । किताब बजारमा आए पनि नेप्चीको लय र सुवास संगम राईको बौद्घिक बहस भएको देखिँदैन । नेपाली कविताका पाठक एवम् समालोचकका आँखामा नेप्चीको लय परेको देखिँदैन ।
कवि सोलुखुम्बुका राई समुदायमा हुर्किएका हुनाले उनले थुलुङ किरातको मिथकलाई ग्रहण गरेर कविताको शीर्षक बनाएका छन् । चिन्तन, दर्शन वा प्रयोगपरक लेखनमा जुटेका सुवास संगम राईअनुकरणात्मक कलालाई भाषाका माध्यमद्वारा कविताको वर्णन कौशलमा निपूर्ण रहेका छन् । यस सङ्ग्रहका कविताले विगत र वर्तमानका मानिसका जीवन शैलीमा देखापरेका तीता, टर्रा,रुग्ण, विसङ्गत, तथा विकृत पक्षको साङ्केतिक टिप्पणी गर्दै उज्यालो भविष्य, समुन्नत समाजतिर उन्मुख हुन आग्रह गरेका छन् । मानवताको मूल मर्ममा सिर्जित सम्पूर्ण कविताले वर्तमान विश्वमानव गतिका सामु देखा परेका सङ्कटमय त्रासदी र त्यसलाई सिर्जना गर्ने अहम्वादी समूहप्रति अत्यन्त ठूलो रोष प्रकट गरेको छ । उज्यालो पक्ष प्राप्तिका लागि आध्यात्मिक मनोमय अन्तर्विचरणको यात्रामा यस सङ्ग्रका कविताहरु केन्द्रित रहेको देखिन्छ । त्यसै गरेर राजनीतिबाट दुर्गन्धित हुदै गएको मानव यात्रा धर्म अर्थ, संस्कृति संस्कार, नीति नैतिकता सर्वत्र टुक्रिँदै गएर विकृत बन्न पुगेको यथार्थलाई यससङग्रहका कविताले बोल्न खोजेको प्रमुख विषय हो ।उनको रुमानी अभिव्यक्तिलाई हेर्दा उनी रोमान्सेली कविका रूपमा देखिन्छन् ।
प्रकृतिको चित्रणमा नेप्चीको लय
कवि राई प्रकृतिको चित्रण गर्दा शाश्वत र आन्तरिक सौन्दर्यलाई प्रमुख रूपमा ध्यान दिन्छन् । नेप्चीको लय कविता सङ्ग्रहको भूमिकामा प्राज्ञ श्रवण मुकारुङले भनेका छन्ः
सुवास संगम राईका अधिकांश कविता निजात्मक अनुभूतिले निर्माण भएका छन् । निजात्मक अनुभूतिमा विषयको विविधता हुन्छ । पक्षधरता स्वमनुभूतिमा हुन्छ । जसले कवितालाई सर्वकालिक र सर्वव्यापी बनाउने सम्भावना रहन्छ ।
स्वच्छन्दतावादी कवितालेखनकै मर्मानुसार नागर सभ्यता र जनजीवनका उर्लदा भौतिकवादी लालसाप्रतिको वितृष्णा, ग्राम्य सभ्यता र सहज, सुन्दर र मनोरम जीवनको चाहना गरिएको यस कविता सङ्ग्रहमा प्रकृतिको चित्रण मनमय तरिकाले यसरी गरिएको छ:
माथि माथि वनभूमि
र शैला धिराज शैलकुटहरू
हीराझैँ चम्किँदै
ठाडो शिर पारेर उभिएका छन्
तल तल बेँसी खेतहरू
मोतीका दानाझैँ अन्नका बालाहरू फलाइरहेछन्
सुरम्य
अहा ! मेरो सोलुखुम्बु । (मेरो सोलुखुम्बु, पृ. ५२)
कवितालाई कवि सौन्दर्यको पुजारी हुनुपर्दछ भन्छन् ।नैतिकताको छहरा हुनुपर्दछ अनि आर्दशको दर्पण पनि हुनुपर्दछ भन्ने कुरा कविले बुझेका छन् ।त्यसैले उनी प्रकृतिको विराट रूपको माध्यमद्वारा मानवीय जगत्, संस्कृति, दर्शन र भूगोललाई कवितामा चिनाउन चाहेका छन् । कवि राईले यस सङ्ग्रहमा आफ्नो जीवन बुझ्ने लयका रुपमा खोलालाई चिनाएका छन् । एउटा खोलाको बिम्ब ल्याएर उनले सीमान्त वर्गको आँसुलाई प्रस्तुत गरेका छन् । खोला बगेजसरी कवि पनि आफ्ना विचारहश यसरी प्रस्तुत गर्दछन्:
१. खोला नवीन विचार
खोला दीर्घदर्शी
खोला सोच
खोला चिन्मय
यी सप्पै सप्पै
दीर्घतम् समयको चम्किलो स्थूल पटाङ्गिनी । (खोला दीर्घदर्शी पृ. १८)
२. स्वभावैले मेरो आकार सानो छ
खोल्सो न हुँ
र नै मलाई विच्छेद गराइयो
बोसिलो समुन्द्र भइदिएको भए मलाई
कसले छुन सक्थ्यो होला र खै । (म सानो खोल्सो पृ.५४)
कवि राईले उठाएको जुन विषय पनि बौद्धिक स्तरको हुन्छ । हरेक कुराले कि त दर्शनसँग फन्को मार्छन् कि त व्यङ्ग्यमार्फत विकृति र विसङ्गतिको विरोध गरिरहेका हुन्छन् । कविको चेतनामा आएका खोलाका प्रसङ्गहरूले पनि दर्शन र उज्यालोको पक्षको लय समातको देखिन्छ । कवि राईका कविताहरू कुनै एउटा सिद्घान्तका कोणबाट मात्रै हेरेर पूर्ण हुन सक्दैनन् ।
आञ्चलिकता र नेप्चीको लय
कविता भनेको मूलत: जीवन जगत्को आलोचना हो भन्ने कुरा कविहरूले बुझ्नु जरुरी छ । कवितालाई शक्तिशाली अनुभूतिको स्वतःस्फूर्त प्रवाह मानेर हेर्दा राईका कविताहरूमा आशावादको गहिरो रङ मुछिएको भेटिन्छ । उनका कविताहरूको अर्को महत्त्वपूर्ण विशेषता भनेको आञ्चलिकता हो । आञ्चलिक विशिष्टतालाई प्रस्ट्याउनका लागि उनले लोकजीवन, लोकसंस्कृति, स्थानीय रङ, अञ्चल कथ्य भाषा, फोटो प्रकृति चित्रण र रिपोतार्ज शैलीमा यसरी लेखेका छन् :
हरेक प्रभात तङ्ग्रन्छ
अहँ,मो मो हुँदिन
किनकि
मो स्वप्न भइसकेको हुन्छु
स्वप्न मो भसकेको हुन्छ । (स्वप्न र म पृ.२५)
बुकुलीमा अगुल्टो झोसेर
एक हातमा बेरुवा सुर्ती
अर्को हातमा दुःखले लिपेको
मैला नै मैलाको मजेत्रो हल्लाउँदै
निस्कन्छिन् आँगनमा बजै
कलेटी परेको बूढो ओठले
थर्थराउँदै तान्छिन् बेरुवा सुर्ती । (नेप्चीको लय, पृ. १६)
विदेशी भूमिको पीडा र नेप्चीको लयको विश्वदृष्टि
गरिबीको पीडामा नेपाली युवाहरूका पीडालाई कवि सामूहिक चेतना अर्थात् सामूहिक विश्वदृष्टि मान्छन् । कल्पना र सिर्जनशीलताका माध्यमबाट रचनामा व्यक्त विचारले समाजका वर्गको जीवनसँग घनिष्ठ सम्बन्ध राख्न सक्नु पर्दछ । कवितामा लेखकीय प्रभाव र सीमित व्यक्तिका अनुभवलाई भन्दा सामाजिक वर्गलाई समेट्न सकेमा मात्र कवि वा लेखकले समाज बुझेको छ भन्न सकिन्छ । नेपाली युवाहरूले विदेशमा भोग्नु परेको स्थिति कवि राईका लागि कविता लेखनको विषय बनेको छ । विदेशी भूमिमा नेपालीले भोग्नु परेको पीडा हरेक नेपाली मनभित्र दुखेको छ । यो दुखाइ सामूहिक दुखाइ हो जसलाई विश्वदृष्टि मानेर कवि यसरी लेख्छन्:
अबुधाबीेले मेरो रसिक बैँस नै
निदरीमा अलिनो बनाई बर्बाद पारिदिएको छ ।
आमा ! रेगिस्तानले ममाथि
धेर थोर अन्याय गरेकै हो
म दमनमा अल्झिएकै हुँ । (मस्त यौवन र प्रवास पृ. ४८)
कवि राई कविताहरूमा आफ्नो अस्तित्व खोज्छन् । आफूसँग भएको प्राकृतिक कुरालाई वरण गर्नुपर्ने मान्यता राख्दछन् । मान्छेका अनेक दुःख कष्ट र समस्याहरूले बाटो छेकेका हुन्छन् ती दुःख कष्टसँग हामी भाग्न सक्दैनौँ । हामीसँग भएको आफ्नो जुन निजात्मकता छ त्यसलाई वरण गर्न सक्नुपर्ने विश्वदृष्टि कवि यसरी प्रस्तुत गर्दछन्:
जहिल्यै एक कुम्लो स्वप्न
कुम्ल्याएर बोकी हिँड्छु
जब साँझ ढल्कन्छ
त्यही स्वप्न ओछ्यान लगाउँछु
त्यही स्वप्न गम्लङ्ग ओड्छु । (म र स्वप्न पृ. २५)
कवि राईका कवितामा सीमान्तकृत वर्ग बोलेका छन् । विशेषत: देशलाई भासमा डुबाउन उन्मुख सरकार, नेता र प्रशासनप्रति कविले व्यङ्ग्य पोखेका छन् ।
निष्कर्ष
जुन कुराले मन छुन्छ त्यही कुरालाई इमान्दारपूर्वक कविताको अभिव्यक्ति बनाउनु कविको आफ्नो निजात्मकता हो । अन्धो राष्ट्रवादी नाराभन्दा सघन राष्ट्रवाद र राष्ट्रप्रेममा यिनको कवितात्मक कल्पना तीब्र भएको देखिन्छ । रुसोको ‘प्रकृतितर्फ फर्क’ भन्ने मान्यतामा डोहोरिदै गर्दा कवि अतियथार्थ र विसङ्गतिवादतिर पनि पुगेका छन् । कतै समाजशास्त्रीय चिन्तक गोल्डमानको विश्वदृष्टि कवितामा खिचेका छन् भने कतै कवितामा ग्राम्चीको सबाल्टर्न चेतनालाई पनि उठाएका छन् । सुवास संगम राईका कविताले आजका मानिसको इहिास, वर्तमान र भविष्यलाई झल्काउने काम गरेका छन् । आफू बाँचेको समाज र सांस्कृतिक चेतनालाई कविताको विषवस्तु बनाएर कविले आफ्नो कविता अडिने पैताला खडा गरेका छन् । यति हुँदा हुँदै पनि कवितालाई बढीभन्दा बढी आञ्चलिक बनाउन खोज्दा सर्वनाम शब्दलाई पाठकले खाने परिकारका रूपमा भेट्नु पर्ने दुर्भाग्यलाई कविले बुझेका छैनन् । आञ्चलिकता प्रथम पुरुषीय क्रियापदमा उचित भाषिक चिह्न प्रयोग नहुँदा भाव खजमजिएको तथ्यलाई कविले बुझ्न सकेका छैनन् । सर्वनाम र क्रियापदले मात्र आञ्चलिकता पूरा हुन सक्दैन । कवि राईका कविताले समष्टिमा बुझ्नुपर्ने मान्यता राख्दछन् र प्रयोगपरक कविता लेख्ने क्रममा अर्थको अनर्थ पनि लागिरहेको हुन्छ । यस्ता कुराहरूलाई प्रयोगमूलक कविता लेख्ने कविले मनन गर्नुपर्दछ । कवितामा बौकिद्घता प्रदर्शनलाई तीब्र बनाउन कवि लागिपरेका छन् तर बौद्घिकता प्रस्तुत गर्ने क्रममा प्राकृतिक कुराहरू अप्राकृतिक बनेका छन् । कविता बौद्घिकतासँगै सरल पनि हुनु पर्दछ । यी साना तर गम्भीर कमजोरीलाई कविले सुधार्नु पर्ने हुन्छ । समग्रमा केही कमजोरीका बीचमा पनि ‘नेप्चीको लय’ कविता सङ्ग्रहभित्रका तेइसवटै कविताहरू वर्तमान समयका बिम्ब हुन् । यथार्थवादी स्वरमा प्रभावपूर्ण कविता लेख्ने कवि सुवास संगम राईको यो सङ्ग्रह बौद्धिक रोमान्सका रूपमा आएको छ ।