बोनधर्मको शाब्दिक अर्थ ‘मन्त्र, प्रार्थना र स्तुति हुन्छ । यो एक प्राकृतिक धर्मको समानान्तर परिभाषा भएको धार्मिक मत भएकाले प्राचीन कालमा प्राकृतिक शक्ति, भुतप्रेत, आँधीबेहरी, हावापानी, वादल, रुख वनस्पति, ढुङ्गा माटो, पानी, आगो जस्ता पञ्च भौतिक तत्वहरुको पुजा गर्ने संस्कारले स्थान पायो । यो शक्ति समाज अनुसार कहीँ बोन भयो । कहीँ मैठो भयो । कहीँ ल्हागो भयो । कहीँ गुरा भयो । कहीँ महाकाल भयो । कहीँ भैरब भयो । कहीँ सुमैजी र गवालो समेत भयो । यी विभिन्न रुप रङ्ग र स्पन्दनहरुको प्रस्फुटन हो । धामीले न्यायिक कार्य र तन्त्रमन्त्र दुबै काम गर्दछ । यो एक बोनधर्म र हिन्दुधर्मको मिश्रित रुप मानिन्छ ।
हुम्ला कर्णाली प्रदेशको उत्तरी साँचो भएकाले नै विशाल खश साम्राज्य र बाइसी राज्यहरुको ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, पु्रातात्विक तथा सामरिकस्थल मानिन्छ । यस्ता महत्व बोकेका भग्नावशेषहरुमा सीमकोटको दोचा–दोफर गुठी, चौपाडी, चौत्था, दत्तात्रेय चौतारी, मुग्रा, कालोसिल्तोको माँडु, कोट, सीमचौर, गिरखेल्न, भारखाङको १२ साले गुफा, हुम्ली ढङ्गो, सुकीला गुम्बा, सेल्मुकाङ, बिभुक गुफा, खोड गुम्बा, ग्यागु्र गुफा, खार्पुनाथ,ऋृणमोक्ष गुफा, रामपाल, हंसपाल, बाँडपाल, ल्वासुर, गुरा, म्हादेउ, भ्वानीका माँडुहरु, सारम्पुरी देउता, गोन्वो छेवाङ, टुङमा, हल्जी गुम्बा, तम्लुङ गुम्बा, तुम्कोट गुम्बा, हयाङ्सी गुम्बा, यारी, हिल्छाचौर, नौमुली, रानी धर्मशालालाई जीवित राख्ने ला, धर्मशाला, पाटीपौवा, मुग्रा, देवल, बाटो, भुओखाडो, बिसुन, पातीहाल्न, कोसेढुङ्गो आदिमा मिश्रित रुपमा हुम्लाको धार्मिक संस्कारभित्र अनेकौं बोनधर्मका परम्पराहरु लुकेका छन् । यी सबै साधन र स्रोतभित्र ‘बोन’ धर्मका ऐतिहासिक र पौराणिक प्रमाण मानिन्छन् ।
‘बोन’ धर्मका प्रबर्तक सेन्राव–मिवो–चेलाई मानिन्छ । उनी स्वयम् भगवान् श्रीशिवका साक्षात् रूप मानिँदै आएका छन् । यिनलाई पौराणिक हिन्दु कथनमा महर्षि कृष्ण द्वैपायन व्यास र दत्तात्रेय मानिन्छन् भने हुम्ली समाजले तोन्वा सेन्राव, बज्र गुरु, मैठो, मस्टपा र ह्वाडेखोली पनि भन्दछन् ।
हुम्लाको सदरमुकाम सीमकोटदेखि १६ कोस टाढाको पुर्वोत्तर भागमा अवस्थित रोङकाई सेल्मोकाङ अर्थात् रलिङ गुम्बामा वि.सं. १३१२ को अशोक चल्लको ताम्रपत्र पाइएको छ । जसलाई नेपाली भाषाको सर्वप्राचीन र शुद्ध लेखोट मानिन्छ । यसैले प्राचीन खश राजाहरु उत्तरको जडानमा जाड भाषा र दक्षिणको खशानमा खश भाषाको विकास गरेको प्रमाण हो ।
त्यसमा ‘हाम्रा साँध–सिमाना बलियो गरिएको छ’ भन्ने वाक्य कुँदिएको छ । यसको अर्थ हो खश साम्राज्यको ‘स्याङसुङ सभ्यता सम्पन्न र बलियो छ । यी राजाहरु बोन, जैन, बौद्ध र हिन्दु धर्ममा मिश्रित समाजको प्रतिनिधित्व गरी राज्य गर्थे । जसको फलस्वरुप प्राचीन नेपाली भाषा एघारौं शताब्दीभन्दा अघि अस्तित्वमा आई राजकीय सम्मान प्राप्त गरेको प्रमाण राजा दापुपालको वि.सं. १०३८ को अभिलेख हो ।
यो बोनधर्मको पृष्ठभुमिमा उत्तरबाट बुद्धधर्म र दक्षिणबाट हिन्दुधर्मले अतिक्रमण गरेर धार्मिक आक्रमण भएको कारण ‘सेतो बोन’ र ‘कालो बोन’ देउताको उदय भयो । सेतो बोन आदेशक र कालो बोन पालक देखिन्छ । यसैले एकतामा अनेकता र अनेकतामा एकताको सांगीतिक ध्वनि ‘ॐ मत्रिमुदे सालेदु हुँ’ बाट ‘ॐ मणि पद्येम हु्ँ’, ‘ॐ बज्र गुरु हुँ’, ‘ॐ बुद्ध धर्म संघ र ॐ चन्द्र सुर्य मरुत् भन्ने मन्त्रका ऋचाहरु ध्वनि, आवाज, अक्षर र शब्द भएर पृथ्वीको काप बाप र राप रापमा रुपान्तरित भई कर्नालीको स्पन्दन प्रवाह भएको छ । यी नाम, गुण र विशेषताहरु ३६ विरुदावली, ३६ कर, ३६ गुण, ३६ कोट, ३६ वीरस्तम्भ, ३६ लोकसुस्केरा आदिको छत्तीस समुहमा स्थापित र आबद्ध भई व्युत्पत्ति भएको छ – कर्नालीको अरुणिमा, गरिमा र महिमा बोनधर्मको उद्घोषमा ।
बोनधर्म आदिम सभ्यतामा मानवीय भावनाको आकस्मिक संकट र प्राकृतिक क्रियाकलापलाई संयोजन गर्ने एक उत्कृष्ट मानवीयताको उद्घोष हो । यसको प्रमाण हुम्लाका लामा र धामीहरुको तन्त्रमन्त्र गर्ने तौर तरिका र न्यायिक कार्यको सम्पादन गर्ने क्रियाकलापहरुलाई नियालेर हेर्दा थाहा हुन्छ ।