Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिँचाइ सुविधाबाट जीवनस्तरमा परिवर्तन – Gaule Khabar

सिँचाइ सुविधाबाट जीवनस्तरमा परिवर्तन

सिँचाइ सुविधाबाट जीवनस्तरमा परिवर्तन

वीरगन्ज, माघ ११–

हिजोसम्म व्यावसायिक रुपमा लागुऔषध गाँजाखेती गर्ने बारा, पर्साका किसान अहिले सिँचाइ सुविधा उपलब्ध भएपछि अन्न बाली तथा तरकारी खेती गरी आर्थिक लाभ लिन थालेका छन् ।

नेपाल सरकारले भूमिगत जल विकास डिभिजन कार्यालय वीरगन्जमार्फत बाँझो जग्गामा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने नीतिअनुरुप बारा, पर्सामा डिप ट्युवबेल तथा स्यालो ट्युवबेल जडान गर्न थालेपछि दुवै जिल्लाका हजारौं बिगाहा क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन थालेको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि अन्न बाली तरकारी खेतीमा उल्लेखनीय उन्नती हुन थाल्दा छिमेकी मुलुक भारतमाथिको परनिर्भरता समेत घट्दै गएको किसान बताउँछन् ।

चालु आवमा सरकारले बारा जिल्लाका १८ वटा गाविसलाई लक्षित गरी २५० वटा स्यालो ट्युवबेल जडान गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारको रु एक करोड २५ लाखको लागतमा निर्माण भइरहेका ती स्यालो ट्युवबेल निर्माण भएपछि त्यस भेगका एक हजार बिगाहा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास डिभिजन प्रमुख सुदर्शनप्रसाद अधिकारीले बताउनुभयो । त्यसबाट ७५० घर परिवार लाभान्वित हुनेछन् ।

यसैगरी, पर्सा जिल्लामा चालु आवमा २२५ वटा स्यालो ट्युवबेल जडान गर्ने कार्यक्रम सुरु भएको छ । रु एक करोड ६५ लाखको लागतमा निर्माण भइरहेको सो स्यालो ट्युवबेलबाट पर्सा जिल्लाका १६ वटा गाविसको करिब ९०० बिगाहा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुन जाने विश्वास लिइएको छ । त्यसबाट त्यस भेगका ६७५ घर परिवार सिँचाइ सुविधाबाट लाभान्वित हुनेछन् ।

यसैगरी, चालु आवमा बारा जिल्लामा एकवटा तथा पर्सा जिल्लामा एकवटा गरी दुईवटा डिप ट्युवबेल जडान गर्ने कार्य अघि बढ्दैछ । नेपाल सरकारको रु एक करोड २० लाखको लागतमा निर्माण भइरहेका दुवै डिप ट्युवबेलबाट त्यस भेगका १२० बिगाहा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुनेछ भने करिब १०० घरधुरी लाभान्वित हुनेछन् ।

कार्यालयले यसैगरी अघिल्लो आवमा बारामा ३४२ वटा स्यालो ट्युवबेल निर्माण गरेको थियो, जसबाट ८५५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ । ती स्यालो ट्युवबेल रु एक करोड ३८ लाख ८० हजारमा निर्माण भएको हो ।

यसैगरी, रु एक करोड ६९ लाख ५० हजारको लागतमा पर्सामा निर्माण भएको ३३९ वटा स्यालो ट्युवबेलबाट त्यस भेगका ८ सय ४९।५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध भइरहेको छ । सोबाट बारा र पर्सामा २१ हजार घर परिवार लाभान्वित हुँदै आएका छन् ।

यसैगरी, सो कार्यालयले अघिल्लो वर्ष बारा पर्सामा एक एक वटा गरी रु ३२ लाखको लागतमा दुईवटा डिप ट्युवबेल जडान गरेको छ जसबाट ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

बारा, पर्सा जिल्लाको कृषियोग्य भूमिमा सिँचाइ सुविधाको लागि डिप ट्युवबेल तथा स्यालो ट्युवबेल निर्माण गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग गर्ने नेपाल सरकारको नीतिअनुरुप कार्यालयले समयभित्रै काम सम्पन्न गर्ने गरेको छ । यसबाट किसानले समयमै सिँचाइ सुविधा प्राप्त गरी आर्थिक लाभ लिँदै आएका छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका