काठमाडौं, पुस १४ –
अर्थ मन्त्रालयले रकम निकासा गर्न ढिलाइ गर्दा कर्णालीका सुक्खा प्रभावित जिल्लामा साउनदेखि खाद्यान्न ढुवानी रोकिएको छ । सरकारले गत वर्ष कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्लामा ‘कामका लागि खाद्यान्न’ वितरण कार्यक्रमका लागि १० करोड २३ लाख रुपैयाँ दिने निर्णय गरे पनि अहिलेसम्म सो रकम निकासा नहुँदा खाद्यान्न ढुवानी प्रभावित भएको हो ।
नेपाल खाद्य संस्थानका अनुसार रकम निकासा नहुँदा गत साउनदेखि प्रभावित जिल्लामा खाद्यान्न ढुवानी रोकिएको हो ।
आपूर्ति मन्त्रालयका प्रवक्ता सुरेशप्रसाद श्रेष्ठले भने खाद्यान्न ढुवानीका लागि अर्थ मन्त्रालय ३ करोड रुपैयाँ निकासा गर्न सहमत भएको जानकारी दिए । ‘रकम निकासा गर्नका लागि केही समय लाग्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘पहिलो चरणमा ३ करोड रकम निकासा गर्ने प्रक्रिया अगाडि बढेकाले बाँकी क्रमशः निकासा हुँदै जान्छ ।’
नेपाल खाद्य संस्थानका वितरण विभाग प्रमुख शंकर सापकोटाले समयमा रकम निकासा नहुँदा ढुवानीमा समस्या भएको बताए । गत वर्ष विभिन्न जिल्लामा १३ हजार क्विन्टल चामल ढुवानी गरिसके पनि अहिलेसम्म त्यसको रकम निकासा हुन सकेको छैन ।
‘यसै कारणले गत साउनदेखि चामल ढुवानी रोकिएको छ,’ सापकोटाले भने । अर्थमन्त्रालयले रकम चाडो निकासा गरिदिए ढुवानीको काम अगाडि बढाउन सहज हुने उनको भनाइ छ ।
संस्थानले प्रभावित जिल्लामा केही परिणाममा चामल ढुवानी गरिसके पनि अहिलेसम्म त्यसको ढुवानी रकम निकासा नहुँदा थप खाद्यान्न ढुवानीमा प्रभावित भएको जनाएको छ ।
कर्णाली अञ्चलका सुक्खा प्रभावित चार जिल्ला हुम्ला, मुगु, डोल्पा, कालिकोटमा ३० हजार क्विन्टल र बझाङका केही गाविसमा चार हजार क्विन्टल चामल ढुवानी गर्न सरकारले निर्देशन दिएको थियो ।
मन्त्रिपरिषद्बाट पारित गरी अर्थमन्त्रालयमार्फत चामल ढुवानी गरेको परिणामको आधारमा रकम निकासा गर्ने निर्णय भएको थियो । तर, लामो समय बितिसक्दा पनि रकम निकासा नहुँदा चामल ढुवानीमा रोकिएको संस्थानले जानकारी दिएको छ ।
संस्थानले ३ करोड २६ लाख रुपैयाँ रुपैयाँबराबरको चामल ढुवानी गरिसकेको छ । सरकारले बजेट निकासा गरे बाँकी २१ हजार क्विन्टल चामल तत्काल ढुवानी गर्न प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।
बाँकी रकम आउने नआउने अन्योल भएपछि संस्थानलाई खाद्यान्न ढुवानीमा समस्या भएको छ । खाद्य संस्थानले खाद्यान्नको ढुवानी रकम निकासा गर्न आपूर्ति मन्त्रालयलाई गत मंसिरमा पत्राचार गरेको थियो ।
कर्णाली अञ्चलका सुक्खा प्रभावित जिल्लाका पीडितलाई काम गरेपापतको ज्याला चामल वितरण गरिएको थियो । स्थानीयलाई सडक, विद्यालय भवन निर्माण, सिँचाइलगायतका अन्य विकास निर्माणका गराएबापत खाद्य संस्थानले चामल वितरण गर्दै आएको छ । बाजुराका विभिन्न सुक्खा प्रभावित जिल्लामा ४ हजार क्विन्टल चामल निकासा भइसकेको छ ।
खाद्य संस्थान धनगढी अञ्चल कार्यलय प्रमुख डिल्लिराज लम्सालले यो वर्ष बाजुुरामा २० हजार र बझाङमा ३० हजार क्विन्टल चामलको माग आएको जानकारी दिए । कामका लागि खाद्यान्न बाहेक संस्थानले दुर्गम तथा पहाडी जिल्लामा कोटाअनुसार खाद्यान्न ढुवानी गर्दै आएको छ ।
सधैं खाद्यान्न अभाव हुने दुर्गम २३ जिल्लामा संस्थानले बर्सेनि सहुलियतदरमा चामल वितरण गर्दै आएको छ । यसका लागि सरकारले ढुवानी रकम विनियोजन गर्दै आएको छ ।
यसैबीच, यो वर्ष संस्थानले १ लाख ४० हजार क्विन्टल चामल ढुवानी गर्ने लक्ष्य लिएको छ । चामल ढुवानी गर्नका लागि सरकारले ४२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले स्थानीय उत्पादनमा जोड नदिई खाद्यान्न ढुवानी गदै आएकाले पनि बर्सेनि कर्णाली अञ्चलमा खाद्यान्न अभाव हुने गरेको हो । कारोबार दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेका छन् ।