बझाङका प्रतिनिधिमाथि एमाले सांसदले गरे हातपातको प्रयास

बझाङका प्रतिनिधिमाथि एमाले सांसदले गरे हातपातको प्रयास

काठमाडौं, मंसिर ३०–

पार्टीलाई ज्ञापनपत्र बुझाउन भनेर बझाङको काँडा गाविसबाट काठमाडौं आएको स्थानीय प्रतिनिधि मण्डललाई एमाले सांसद लालबहादुर रावलले हातपातको प्रयास गरेको आरोप लागेको छ ।

बझाङको दुर्गम काँडा गाविसलाई छुट्टै गाउँपालिका बनाउन माग गर्दै स्थानीय प्रतिनिधि मण्डल एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेको थियो । बझाङ क्षेत्र नम्बर २ का एमाले सांसद रावलले कार्यालयमै हातपातको प्रयास गरेको स्थानीय सुरज बोहोराले बताए ।

एमाले मुख्यालयमा स्थायी कमिटीको बैठक जारी रहेका बेला सांसद रावलले जिल्लाबाट आएका स्थानियमाथि हातपातको प्रयास गरेपछि केहीबेर तनाव भएको थियो । रावलले स्थानीय प्रतिनिधि मण्डलको ज्ञापनपत्रमा हस्ताक्षर गर्न नमानेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्राविधिक समितिले ११ वटामात्र केन्द्र राख्ने निर्णय गरेपछि काँडा गाविसका बासिन्दा आन्दोलित छन् । जिल्लास्तरिय प्राविधिक समितिले तोकेको गाउँपालिकाको केन्द्र चार घण्टाको पैदल दुरीमा राख्ने मापदण्डअनुसार काँडा गाविसमा केन्द्र राख्नुपर्ने स्थानीयको माग छ । स्थानीय राजनीतिक दलहरुको निर्णयअनुसार केन्द्र थपेर वा ११ मै सीमित गरेपनि काँडा गाविसलाई केन्द्र बनाउन दवाव दिने सहमति भएको छ ।

बोहोराका अनुसार यसअघि स्थानीय राजनीतिक दलहरुको सहमति बिपरीत सांसद रावलले काँडा गाविसलाई केन्द्र बनाउन नहुने र आफूले पनि सहयोग नगर्ने बताउँदै आएका छन् ।

सांसद रावलले भने राजनीतिमा कहिलेकाँही तनाव हुनु स्वभाविक हुने प्रतिक्रिया दिए । उनले घटना सामान्य भएपनि त्यसलाई उचालिएको गुनासो गरे ।

काँडा गाविस बझाङको सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दुरीमा पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ