च्याउ बिक्रीबाट चार लाख बराबरको आम्दानी

च्याउ बिक्रीबाट चार लाख बराबरको आम्दानी

पाल्पा, मंसिर २७–

रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ ।

विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउ खेती सुरु गर्नुभएको हो ।

सुरुमा डेढ सय बल्बबाट व्यवसाय सुरु गर्नुभएका रानाले अहिले एक हजार बल्बमा च्याउ खेती बिस्तार गर्नुभएको छ । च्याउबाट मनग्य आम्दानी हुँदै गएपछि उहाँले व्यवसाय पनि बढाउनुभएको हो ।
सुरुमा एउटा गोठमा परीक्षणका रुपमा च्याउ खेती गर्नुभएका रानाले उत्पादन बढ्दै गएपछि पछिल्लो समय विस्तार गर्दै लानुभएको हो । अहिले उहाँले छवटा गोठमा एक हजार बल्बमा च्याउ राखेर यसवर्ष झन्डै रु सात लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो ।

“धन कमाउन विदेश गए, राम्रो कमाउन सकिनँ, घर फर्केर च्याउ खेती सुरु गरेँ”, “जसरी च्याउ उम्रिन्छ त्यसरी नै पैसा दिनहुँ हातमा परिरहेको छ” – रानाले भन्नुभयो ।

च्याउ खेतीबाटै नाम र प्रतिष्ठा कमाउनुभएका राना हिजोआज बलबहादुरको सट्टा च्याउवालाका नामले चिनिन थाल्नुभएको छ । अहिले प्रतिकिलो रु २००मा घरबाटै च्याउ बिक्री भइरहेको छ । अहिलेसम्म यस व्यवसायमा गोठ निर्माण र प्लास्टिक खरिदमा रु एक लाख बराबरको लगानी परेको उहाँको भनाइ छ ।

च्याउ उम्रन नपाउँदै धैरैले पहिलेदेखि नै बैना गर्ने गरेको रानाले बताउनुभयो । दिनमा उहाँले झन्डै २० देखि ३० किलोसम्म च्याउ बिक्री गर्नुहुन्छ । च्याउको माग बढ्दो रहेकाले अब सिताके च्याउ पनि सुरु गर्ने र यस व्यवसायलाई बढाउने सोचमा रहेको बताउनुभयो ।

थोरै लगानीमा कम मेहनतमा घरमै बसी बसी च्याउ बेचेर एक याममा लाखौँ आम्दानी लिन सकिन्छ । एक बल्बबाट तीन चारपटकसम्म च्याउ टिप्न सकिने भएपछि हिजोआज च्याउको उत्पादन जिल्लामा बढ्दै गएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ