शीतलहरबाट जोगिन चितवनमा पूर्व तयारी, यी हुन् बढि प्रभावित हुन सक्ने क्षेत्रहरु…

शीतलहरबाट जोगिन चितवनमा पूर्व तयारी, यी हुन् बढि प्रभावित हुन सक्ने क्षेत्रहरु…

सुमित शर्मा,
चितवन, मंसिर २३–

जाडोयाम सुरु भएपछि शीतलहरबाट हुने संभावित घटना न्यूनीकरणका लागि आज (बुधबार) भरतपुरमा सरोकारवालाबीच छलफल भएको छ ।

छलफलले एउटा उपसमिति बनाई एक साता भित्रमा पूर्व तयारीको खाका बनाउने निश्कर्ष निकालेको छ । उपसमितिले बनाएको खाका अनुसार अघि बढ्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । आजैको छलफलबाट विभिन्न संघसंस्था तथा कार्यालयहरुलाई कार्यविभाजन समेत गरेको छ । जस अन्तरगत रेडक्रम र युनिसेफलाई करिव एक हजार वटा कम्बल र त्रिपालको संयोजन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै जिल्ला वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघलाई शीतलहरको बेला आवश्यक पर्ने दाउराको संयोजनको जिम्मेवारी प्रदान गरिएको छ । साथै माघे संक्रान्तिको बेला देवघाटमा लाग्ने मेलाका लागि आवश्यक पर्ने दाउराको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । यस्तै औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई तमतयार भएर लाग्न निर्देशन दिइएको छ ।

त्यस्तै अन्य खाद्यान्न र ढुवानी व्यवस्थापनको लागि उद्योग वाणिज्य संघलाई जिम्मेवारी दिइएको छ । चितवनमा खासगरि शीतलहरबाट बढी प्रभावित हुने ठाउँहरु वृद्धाश्रम, नदी किनार, सुकुम्बासी क्षेत्र, शक्तिखोरलगायतका चेपाङ बस्ती, माडी क्षेत्र र बनकरीयाहरुलाई बढी प्राथमिकता दिइएको छ । साथै शीतलहर बारे जनचेतना मुलक कार्यक्रमको लागि नेपाल पत्रकार महासंघ चितवन शाखालाई जिम्मेवारी दिइएको छ ।

यस्तै सडकमा ट्राफिक चिन्ह र सडक लाईट राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ । साथै दाउरा बाल्दा र अन्य विविध कारण आगलागि हुन सक्ने भन्दै दमकलको व्यवस्थापन गर्न पनि निर्देशन दिइएको छ ।
छलफल कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेललगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तस्विरः राजेन्द्र कार्की

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ