Gaule Khabar
मङ्लबार, मंसिर १३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

विदेशमा मृत्यु भए क्षतिपूर्तिको निवेदन अनलाइनमार्फत

  • admin
  • बुधबार, मंसिर २९, २०७३
विदेशमा मृत्यु भए क्षतिपूर्तिको निवेदन अनलाइनमार्फत

काठमाडौँ, मंसिर २९–

अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ ।

सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो ।

अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले चाँडै नै अनलाइन प्रणालीमार्फत क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न लागिएको जानकारी गराउनुभयो ।

उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि काठमाडौँ आउने झन्झट हटाउन आ–आफ्नो ठाउँबाट निवेदन दिनका लागि अनलाइन प्रणाली सुरु गर्न लागिएको बताउनुभयो ।

महानिर्देशक राजभण्डारीले विभागबाटै विदेशमा केही समस्या परेर पीडितलाई ‘अन्तर्राष्ट्रिय फोन’को व्यवस्था गर्न लागिएको हो भन्नुभयो । उहाँले तुरुन्तै उद्धार गर्न र क्षतिपूर्तिका लागि सजिलो होस् भनेर पीडितलाई विभागबाट नै विदेशस्थित नेपालका दूतावास र कम्पनीमा फोनको व्यवस्था गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा झापा पाँचगाछीका देवीप्रसाद तिवारीले छोरा रमेश तिवारीको साउदी अरबमा कामकै सिलसिलामा ज्यान गएपनि अझै क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो । २०६८ सालमा छोराको ट्रकले किचेर ज्यान गएपनि क्षतिपूर्तिका लागि पटकपटक काठमाडौँ धाएपनि नपाएको बताउनुभयो ।

कार्यक्रममा धनुषाकी बबिता साहले कुवेतमा श्रीमान् सत्यनारायणको ज्यान गएपनि अहिलेसम्म बिमा कम्पनीले क्षतिपूर्तिबापतको रकम नदिएको बताउनुभयो । उहाँले कम्पनी र प्रर्वद्धन बोर्डबाट क्षतिपूर्ति पाएपनि बिमाबापतको रकम प्राइम लाइफ इन्स्योरेन्सले नदिएको गुनासो गर्नु भयो । “बिमा कम्पनीले पहिले नाता प्रमाणित गरेर ल्याउ भनेको थियो, त्यो पनि बुझाएँ”–उहाँले भन्नुभयो, “तर अहिलेसम्म पनि दिएको छैन ।”

कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की र सुरक्षित आप्रवास परियोजनाकी रोनी प्रधानले वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु कसरी कम गराउन सकिन्छ त्यसतर्फ अभिमुखिकरण कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो ।

समितिले प्रस्तुत गरेको प्रतिवेदनमा सन् २०१६ मा प्राकृतिक कारणले सबभन्दा बढी मृत्यु हुने गरेको उल्लेख छ । त्यसपछि क्रमशः आत्महत्या, कार्यस्थलमा दुर्घटना, ट्राफिक दुर्घटना हुने गरेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ