Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा – Gaule Khabar

औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा

औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा

लहान, मंसिर २३ –

सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा परेको छ ।

असुरक्षा, औद्योगिक वातारण तथा लगानी पुँजीको अभाव देखाउँदै लामो समयदेखि बन्द भएका उद्योग पुनः सञ्चालनमा आउने वा नआउने अन्योलताका कारण नयाँ उद्योग भित्रिन नसक्दा औद्योगिक क्षेत्रको अस्तित्व सङ्कटमा पर्न थालेको हो ।

सदरमुकाम राजविराजदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको बसबिट्टी गाविस– ५ स्थित औद्योगिक क्षेत्रमा १० वटा उद्योग सञ्चालनको क्षमता रहे पनि अहिले मिलन डेरी उद्योगमात्र सञ्चालनमा रहेको छ । उद्योगविहीन बन्न थालेपछि औद्योगिक क्षेत्र गौचरण, वनभोजस्थल र राजनीतिक गतिविधि गर्ने स्थलका रुपमा परिणत हुन थालेको छ ।

औद्योगिक क्षेत्रमा सञ्चालन भएका महालक्ष्मी खाद्य उद्योग, कृष्णा खाद्य उद्योग, पदमा ज्योति प्लास्टिक, माँ भगवती कृषि टमाटो फुड इन्डस्ट्रिज, एस एण्ड को इन्डन्ट्रिज र अल नेपलिज टी एण्ड कफी सेन्टर असुरक्षा र लगानी पुँजी अभावका कारण बन्द भएको औद्योगिक क्षेत्रका प्रमुख सञ्जय थापाले जानकारी दिनुभयो ।

उद्योग बन्द भएको चार÷पाँच वर्ष भइसक्दासमेत उद्योग पुनः सञ्चालन गर्ने वा नगर्ने अन्योलताका कारण औद्योगिक क्षेत्रमा नयाँ उद्योग भित्र्याउन समस्या भइरहेको थापाको भनाइ छ । “बन्द उद्योगका सञ्चालकलाई कि उद्योग सञ्चालन गर्नु, कि भवन खाली गर्नु भनेर पटक पटक लिखित र मौखिक आग्रह गर्दै आएको छु,” उहाँले भन्नुभयो ।

उद्योग लामो समयसम्म बन्द रहँदा ती उद्योगबाट भाडाबापतको करिब रु ३७ लाख रकम बक्यौता रहेको थापा बताउनुहुन्छ । कुल २९४ रोपनी ९साढे २२ बिगाहा० मा फैलिएको औद्योगिक क्षेत्रभित्र बैंक भवन, हुलाक, स्वास्थ्य क्लिनिक भवन, चमेना गृह, अतिथि गृह, विद्युत्, टेलिफोनलगायतका सुविधासहितका १० वटा घरेलु उद्योग सञ्चालन गर्न सक्ने क्षमता छ ।

औद्योगिक क्षेत्रको चारैतिर घेरबार गरिएको इँटाको पर्खाल ठाउँ ठाउँमा स्थानीयवासीले भत्काएपछि गाईगोरुको चरिचरण बढ्नुका साथै औद्योगिक क्षेत्र वनभोज र राजनीतिक गतिविधि गर्ने स्थलका रुपमा परिणत भएको औद्योगिक क्षेत्रका कर्मचारी बताउँछन् । औद्योगिक क्षेत्रमा १० जना कर्मचारीको दरबन्दी रहेको छ ।

भारतको सहयोगमा विसं २०४४ मा शिलान्यास भएको उक्त औद्योगिक क्षेत्र निर्माण भएपश्चात् २०५१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरिसकेपछि त्यसमा नौवटा उद्योग सञ्चालनमा आएका थिए । सशस्त्र द्वन्द्व तथा तराईमा सशस्त्र सङ्घर्ष समूहका कारण असुरक्षित भएको भन्दै सञ्चालकले ती उद्योग बन्द गरेका थिए ।

राजविराज औद्योगिक क्षेत्रको नामबाट २०४४ सालमा स्थापित उक्त औद्योगिक क्षेत्रलाई विकास गर्ने उद्देश्यले हृदयेश त्रिपाठी उद्योग मन्त्री भएका बेला गजेन्द्रनारायण सिंहको नामसँग जोडेर गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको नाममा नामकरण गरिएको थियो । स्थानीय व्यापारी थानसिंह भन्साली औद्योगिक क्षेत्रमा उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुहुन्छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका