अष्टधातु संकलनका लागि महायज्ञ गरिने

अष्टधातु संकलनका लागि महायज्ञ गरिने

चितवन, मंसिर २२–

पवित्र तीर्थस्थल देवघाटधाममा निर्माणधीन ३० फिट अग्लो राष्ट्रदेव भगवान शंकरको मुर्ति निर्माण सम्पन्न गर्नका लागि रत्ननगरमा महायज्ञ गरिने भएको छ ।
रत्ननगर–१ भक्तिनी बगैचामा रहेको दुर्गामन्दिरमा आउँदो पौष ४ गतेदेखि १२ गतेसम्म श्रीमदभागवत धनधान्याञ्चल एवं अष्टधातु संकलनका लागि महायज्ञ गर्न लागिएको आज मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्थानीय दुर्गामन्दिर ब्यवस्थापन समितिको र देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा महायज्ञ गर्न लागिएको हो । महायज्ञ सम्पन्न गर्नका लागि गीतानाथ अधिकारीको संयोजकत्वमा मुल समारोह समिति गठन गरेर तयारी थालिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका अध्यक्ष राजेन्द्र पियाले गत साउन १९ गते शिलान्यास भइसकेको शंकरको मुर्ति निर्माण सम्पन्न गराउनका लागि सबैको सहयोग आवश्यक रहेको बताए । उनले ५ टन आठ प्रकारका धातु आवश्यक पर्ने भएकाले यस्तै धार्मिक कार्यक्रममार्फत भक्तजनहरुबाट धातु संकलन गर्ने लक्ष्य रहेको बताए । उनले घरमा फालिएका, खेर गइरहेका वा प्रयोग बिहिन रहेका तामा, पित्तल, सिल्बर, चरेस, ढलोटलगायतका विभिन्न धातुहरु महायज्ञमा दान गरिदिन पनि सबैमा आग्रह गरे ।
महायज्ञ मुल समारोह समितिका संयोजक अधिकारीले देवघाट सबैको जीवनको अन्तिम गन्तव्य भएकाले त्यहाँ निर्माणाधीन शंकरको मुर्तिका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखे ।
पुस १ गते तयारी स्वरुप कृष्ण मन्दिर चोकबाट भण्डारासम्म र्याली, पौष ४ गते देवघाटबाट जल ल्याइने, कलस पुजन गरिने, हवन गरिने र महायज्ञ उदघाटन गरिनेछ । महायज्ञ उदघाटनका लागि तत्कालिन मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी आउने आयोजकले जनाएको छ । त्यस्तै ५ गतेबाट कथा वाचन, भजन किर्त, दिप प्रज्वलन, फुल प्रसाद बितरण लगायतका कार्यहरु हुनेछन भने १२ गते एक समारोहका बिच महायज्ञ समापन गरिनेछ । महायज्ञमा सहयोग राशिअनुसार दाताहरुलाई सम्मान पत्र, दोसल्ला, शिलालेखमा नाम उल्लेख, हाति सवार गराई सम्मान गरिनेछ ।
देवघाट संरक्षण प्रतिष्ठानले देबघाट क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउन धातुबाट निर्मित शंकरको मुर्ति बनाउन लागेको हो । मुर्ति निर्माण गर्न आवश्यक धातु संकलनको लागि प्रतिष्ठानले साउन महिनाबाट देशका विभिन्न ठाउँमा महायज्ञ गर्ने कार्यक्रम सुरु गरेको हो । पहिलो महायज्ञ दाङमा सम्पन्न गरेर दोश्रो महायज्ञ रत्ननगरमा गर्न लागेको हो । दाङमा आयोजना गरिएको महायज्ञबाट २ क्वीन्टल ५० किलो धातु र केही रकम संकलन भएको प्रतिष्ठानका अध्यक्ष पियाले बताए । मुर्ति निर्माण गर्न धातुसंगै ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महायज्ञमा युवा पण्डित अच्युतकृष्ण अधिकारीबाट कथाबाचन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ