Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आर्थिक विकासमा राजनीतिक दलहरु बाधक भएको उद्योगीको आरोप – Gaule Khabar

आर्थिक विकासमा राजनीतिक दलहरु बाधक भएको उद्योगीको आरोप

आर्थिक विकासमा राजनीतिक दलहरु बाधक भएको उद्योगीको आरोप

चितवन, मंसिर २१–

नेपाल वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपालको आर्थिक विकासमा राजनीतिक दलका नेता कार्यकर्ताहरु बाधक बनेको बताएका छन् ।
दलका नेताहरुले हरेक कार्यक्रममा आर्थिक विकास र उन्नतिका कुरा गरेर भ्रम सिर्जना गर्ने काम मात्रै भइरहेको उनले बताए । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५० औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै महासंघका अध्यक्ष मुरारकाले दलका नेताहरुमा हात्तीको चपाउने र देखाउने दाँत फरक भएजस्तो प्रवृत्ति भएको बताए । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
दलहरुले विभिन्न बहानामा बन्द हड्ताल गर्दा त्यसको प्रत्यक्ष असर नेपालको उद्योग व्यवसायमा पर्न जाने हुँदा अबका दिनहरुमा त्यस्ता कृयाकलाप नगरिदिन पनि उनले आग्रह गरे ।
नेपालको आर्थिक पक्ष सवल नभएसम्म राजनीतिक पक्षले पनि सफलता पाउन नसक्ने उनले बताए । राजनीतिक दलकै कारण नेपालमा खुल्ला बजार अर्थतन्त्रको व्यवस्था कायम हुन नसकेको उनको भनाइ छ । ‘यदि खुल्ला बजार अर्थतन्त्रको व्यवस्था गर्ने हो भने नेपालको आर्थिक उन्नति र विकास हुन कुनै समय कुर्नुपर्दैन,’ उनले भने ।
कुनै एउटा दल सत्तामा रहँदा एउटा र सत्ता बाहिर रहँदा अर्को कुरा गर्ने समस्या र एकअर्काको खुट्टा तान्ने प्रवृत्तिले गर्दा नेपालको अर्थतन्त्रले गति लिन नसकेको उनले बताए । तैपनि नेपालको अर्थतन्त्र निजी क्षेत्रमै भर परिरहेको उनको भनाइ छ । ‘दलहरुले चाहेमा नेपालको अर्थतन्त्र कुनै विकसित मुलुकभन्दा कमजोर छैन,’ उनले भने, ‘अहिल्यै पनि नेपालको अर्थतन्त्र निजी क्षेत्रले नै धानेको छ ।’
यस्तै महासंघका उपाध्यक्ष शेखर गोल्छाले नेपाल सरकारको लाचारीपनले गर्दा जनताले चाहेजति विकास हुन नसकेको बताए । ‘गर्न सक्ने काम पनि नगरी विदेशीको मुख ताकेर बस्ने प्रवृत्तिले गर्दा नेपाल धनी मुलुकमा पर्न नसकेको हो,’ उनले भने । नेपालको निजी क्षेत्र सक्षम भइकन पनि दलहरुको नकारात्मक सोचाइका कारण पनि आर्थिक विकासले गति लिन नसकेको उनको भनाइ छ । ‘जबसम्म सकारात्मक सोचाइ आउँदैन तबसम्म नेपालको आर्थिक विकासले गति लिन सक्दैन,’ उनले भने ।
मुख्य संभावनाको रुपमा रहेको नेपालको कृषि क्षेत्र पनि परनिर्भरतातर्फ धकेलिरहेकोले सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको उनले बताए । ‘विदेशी बजारले नेपाली बजारलाई अस्तव्यस्त बनाएको हो,’ उनले भने, ‘हामीले आयात मात्रै होइन निर्यात पनि गर्न सके बल्ल सबै क्षेत्रमा आत्मनिर्भर बन्न सक्छ ।’ बर्सेनि लोडसेडिङको मार खेपिरहेका नेपालका उद्योगी व्यवसायीहरुले यसवर्षबाट भने ठूलो राहत पाएको भन्दै उपाध्यक्ष गोल्छाले सरकारले चाहे जे पनि गर्न सक्ने हुँदा नेपालको विकासमा टेवा पुग्ने सबै काम सम्पन्न गर्न उनले नेपाल सरकारलाई आग्रह गरे । लोडसेडिङको अन्त्यले गर्दा नेपालको औद्योगिक क्षेत्रलाई ठूलो राहत मिलेको छ,’ उनले भने, ‘जसकारण इन्धन आपूर्ति कम हुँदा नेपालको केही अर्थ नेपालमै सिञ्चित भएको छ ।’
यस्तै नेपाल उद्योग वाणिज्य महासंघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष अरुण सुमार्गीले नेपालको उद्योगी व्यवसायीहरुमा स्वस्थ प्रतिस्पर्धा भएमा नेपालको आर्थिक क्षेत्र बलियो हुने बताए । यसका लागि नेपालका सबै क्षेत्र सकारात्मक हुन आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले ठूलो संख्यामा नेपालीहरु कृषि क्षेत्रमा निर्भर भए पनि कृषि क्षेत्रको समष्टिगत विकास हुन नसकेको बताए । ‘नेपालको कृषि क्षेत्रलाई समयानुसार आधुनिकीकरण र यान्त्रिकरण गर्न सके आर्थिक विकासमा टेवा पुग्न सकिन्छ,’ उनले भने ।
नेपालमै संभावनाको खानी भएर पनि दक्ष जनशक्ति विदेश पलायन हुने क्रम नरोकिएकोले संभावनामै सिमित रहेको उनको भनाइ छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन र नवलपरासी जिल्ला जोड्ने एउटै मात्रै पुल नारायणी नदी पुल अत्यन्तै जीर्ण भइसकेकोले यसको विकल्पमा सम्बन्धित निकाय र सबै सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनले बताए । ‘यसको पहलकदमीलाई सार्थकता दिनका लागि मन्त्रालयमासमेत पटक–पटक आग्रह गरिरहेका छौँ,’ उनले भने ।
साधारण सभाको क्रममा सोमबार उत्कृष्ट महिला उद्यमीको रुपमा सिम्रिक लेडिज टेलर्सका प्रोपाइटर श्यामकली पिया र उत्कृष्ट वस्तुगत संघतर्फ फेन्सी व्यवसायी संघलाई सम्मान गरिएको छ । उनीहरुलाई सम्मानपत्रद्वारा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले सम्मान गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका