गृहमन्त्री निधि भोली चितवन आउँदै, एकै दिन दुई कार्यक्रममा सहभागि हुने

गृहमन्त्री निधि भोली चितवन आउँदै, एकै दिन दुई कार्यक्रममा सहभागि हुने

चितवन, मंसिर २०–

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भोली (मंगलबार) चितवन आउँदै हुनुहुन्छ । पूर्वी चितवनमा आयोजित महायज्ञ कार्यक्रम र नेपाल दलित संघ चितवनको आयोजनामा ‘संविधानमा दलित अधिकार र स्थानीय निकायमा दलितको पहुँच’ विषयमा हुन लागेको प्रशिक्षण कार्यक्रममा सहभागि हुन मन्त्री निधि चितवन आउन लाग्नुभएको हो ।

गृहमन्त्री आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको संघकी जिल्ला अध्यक्ष शान्ती परियारले जानकारी दिनुभयो । संविधानमा दलितको अधिकारबारे जानकारी दिनुका साथै राज्यको हरेक तह र तप्कामा दलितहरुको पहुच बढाउन सहयोग पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष परियारको भनाई छ ।

उद्योग बाणिज्य संघ चितवनको सभाहलमा हुने कार्यक्रम भोली र पर्सी २ दिन हुनेछ । सो कार्यक्रममा १ सय ५० जिल्लाका दलित संघका प्रतिनिधिको सहभागिता रहने बताइएको छ । प्रतिनिधिहरुलाई नै दलित अधिकारबारे अनविज्ञता रहेकाले यस कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेरिएको छ । सोही अवसरमा नेपाली काँग्रेसमा योगदान पुर्याएका दलित नेता सहित अन्य व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा दलित संघको केन्द्रिय अध्यक्ष मीन विश्वकर्मा, नेपाली काँग्रेसको केन्द्रीय सदस्य डीला संग्रौला, तरुण दलको पूर्व केन्द्रिय सदस्य महेश दाहालले प्रशिक्षण दिनुहुने अध्यक्ष परियारले बताउनुभयो ।

यस्तै पूर्वी चितवनको रत्ननगर–१३ जयमगंला आयोजना गरिएको श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको गृहमन्त्री निधिले उद्घाटन गर्नुहुनेछ । श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुगुलमको संयुक्त आयोजनामा यहि मंसिर २१ गते देखि २९ गतेसम्म महायज्ञ हुन लागेको हो । वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण र संबद्र्धन तथा संस्कृत शिक्षाको केन्द्रको रुपमा यस मन्दिरको विकासका लागि श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्न लागिएको मुल समारोह समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए । संयोजक दुवाडीले रत्ननगरको ऐतिहांसिकता बोकेको सो मन्दिर परिसरको स्तरोन्नतिका लागि महायज्ञ आयोजन गर्न लागिएको बताए ।

महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १० जोड २ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागि छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको दुवाडीले जानकारी दिए । ८ दिनसम्म चल्ने महायज्ञमा प्रत्येक दिन सबैभन्दा बढि दान गर्ने दाताहरुको नाम रेडियो र पत्रिकाबाट प्रशारण तथा प्रकाशन गरिने आयोजकले जनाएको छ । महायज्ञ अबधिभर प्रमुख बाचक पण्डित अच्युतकृष्ण अधिकारीको मुखारविन्दबाट कथा बाचन गर्ने सो महायज्ञ सम्पन्न गर्न करिव ७ लाख रुपैयाँ खर्च लाग्ने र १ करोड भन्दा बढि रकम संकलन हुने आयोजकको अनुमान रहेको संस्थापक अध्यक्ष कृष्णप्रसाद दुवाडीले जानकारी दिए ।

वि.सं. २०४९ सालमा श्रीराम मन्दिर र २०६४ सालमा श्रीराम वैदिक संस्कृत गुरुकुलमको स्थापना भएको हो । गुरुुकुलममा हाल ५० जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन । यस अगाडि मुठीदानद्धारा संकलित रकम र नेपाल सरकारबाट प्राप्त केही अनुदानको भरमा सो विद्यालय सञ्चालन भईरहेको छ । हाल गुरुकुलमा ७८३ जना आजीवन सदस्य मध्ये ५ सय जनाले मुठीदान गर्ने गरेका छन । गुरुकुलमा आजीवन सदस्य पनि वृद्धि गरी २ हजार जना पुर्याउने लक्ष्य रहेको गुरुकुलका प्राचार्य बैकुण्ठ अधिकारीले जानकारी दिए । महायज्ञको प्रचारप्रसारको लागि सोमवार पूर्वी चितवनका विभिन्न स्थानमा मोटरसाईकल र्याली गरिएको छ । सो र्याली महायज्ञ स्थलबाट सुरु भई पूर्वी चितवनका विभिन्न क्षेत्रहरु परिक्रमा गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ