Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कागज किन्न रकम नहुँदा पाठ्यपुस्तक छपाइ प्रभावित – Gaule Khabar

कागज किन्न रकम नहुँदा पाठ्यपुस्तक छपाइ प्रभावित

कागज किन्न रकम नहुँदा पाठ्यपुस्तक छपाइ प्रभावित

काठमाडौँ, मंसिर २० कागज खरिदका लागि रकम नभएपछि जनक शिक्षा सामग्री केन्द्र लिको पाठ्यपुस्तक छपाइ प्रभावित भएको छ ।

आउँदो शैक्षिक सत्रका लागि कक्षा ६ देखि १० सम्मका लागि करिब दुई करोड थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी लिएको केन्द्रले सरकारसँग कागज खरिदका लागि रु २५ करोड ऋण मागेको छ । ऋण दिने विषयमा सरकार सकारात्मक भए पनि समयमा निर्णय नहुँदा पाठ्यपुस्तक छपाइ स्थगन भएको केन्द्रका निर्देशक कपिलदेव पोखरेलले बताउनुभयो । कक्षा १ देखि ७ सम्मका पाठ्यपुस्तको छपाइको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।

पोखरेलका अनुसार रकम नहुँदा ‘ऋची पेपर’बाट बोलपत्र स्वीकृत भएको एक हजार तीन सय मेट्रिक टन कागज आउन सकेको छैन । दैनिक एक लाख थानसम्म छपाइको क्षमता भएको केन्द्रमा कागज नहुँदा हाल रङ्गीन अफसेट प्रेस बन्द छन् । शिक्षामन्त्री धनीराम पौडेलको शैक्षिक सुधारको कार्ययोजनामा पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा दिइने र कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रङ्गीन छपाइ गरिने उल्लेख थियो ।

प्रेस बन्द भएसँगै लक्षित पाठ्यपुस्तक उत्पादन समयमा नहुने र यस वर्ष पनि विद्यार्थी तथा अभिभावकले हैरानी पाउने खतरा देखिएको छ । घाटामै रहेको पाठ्यपुस्तक बिक्रीवितरण गर्ने अर्को निकाय साझा प्रकाशनलाई सरकारले कुनै जिम्मेवारी दिएको छैन । सरकारी निकायले समयमा काम गर्ने वातावरण नहुँदा विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने मात्र होइन अन्तिम समयमा निजी मुद्रकलाई कमिसनमा काम दिने प्रवृत्ति देखिन्छ ।

वार्षिक रु १५ करोड घाटामा रहेको केन्द्रले यसअघि सरकारसँग लिएको रु ७० करोड ऋण तिर्न बाँकी छ । आन्तरिक अव्यवस्थापन र पाठ्यपुस्तकको मूल्य नबढेका कारण संस्था घाटामा गए पनि यहाँभित्रका आर्थिक कारोबारबारे छानबिन भएको छैन ।

रकम अभावसँगै केन्द्रमा व्यवस्थापकीय नेतृत्व रिक्त भएपछि संस्थामा अन्योल देखिएको छ । खुला प्रतिस्पर्धाबाट चार वर्षअघि नियुक्त प्रबन्ध सञ्चालक अनिलकुमार झाको कार्यावधि यही मङ्सिर १४ गतेदेखि सकिएपछि सो पद रिक्त छ । केन्द्रको सञ्चालक समितिको अध्यक्षमा शिक्षा मन्त्रालयका सचिव पदेन रहने व्यवस्था छ ।

मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले केन्द्रले मागेको ऋण दिने विषयमा अर्थ मन्त्रालयमा छलफल भएकाले केही समयमा निर्णय हुने बताउनुभयो । उहाँका अनुसार केन्द्रका प्रबन्ध सञ्चालक नियुक्ति बारेमा पनि सरकारले चाँडै निर्णय गर्ने छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका