Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चौबिसकोठी–चनौली सडक कन्तबिजोग – Gaule Khabar

चौबिसकोठी–चनौली सडक कन्तबिजोग

चौबिसकोठी–चनौली सडक कन्तबिजोग

किशोर खनाल,

चितवन मंसिर २०-

चौबिसकोठीबाट रामपुर हुँदै चनौलीसम्म पुग्ने मुख्य सडकका अवस्था हाल कन्तबिजोग छ । सडकको ठाउँठाउँमा ठूला–ठूला खाडल छन् । पिच गरिएको भाग कमैमात्र देखिन्छ । बेपत्तासँग दौडेको गाडीहरुले उडाएको धुलोले वरिपरिका घरसमेत देखिन छाडेको छ । उपमहानगरपालिका भित्रको व्यस्त सडकको हालत बिजोग छ ।

‘चनौलीबाट मोटरसाइकलमा हिँडेको यात्रु भरतपुरको चौबिसकोठी आइपुग्दा धुलोले मान्छे नचिनिने हुन्छ’ भरतपुर–१४ कल्याणपुरका सुरेन्द्र न्यौपानेले भने, ‘निर्माण गर्ने भनेर बाटो जोतियो, तर निर्माण हुन सकेन । सरकारी काम कहिले जाला घाम जस्तो भयो । कहिले बन्ने हो पत्तो छैन । कतिन्जेल धुलो खाएर बस्ने रु साह्रै सास्ती छ यात्रुलाई ।’

सडकको अवस्था ज्यादै नाजुक भइसम्दा पनि सम्बन्धित निकायको ध्यान गएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालदेखि स्थानीय नेताहरुले सडक चाँडै बन्ने आश्वासन बाँडेका छन् तर बन्ने कहिलेसम्म हो केही पत्तो नभएको यज्ञपुरीका स्थानीय केदार कँडेलले भने ।‘धुलोले घर पुर्छ । सडकमा नहिँडी हुँदैन । धुलोले आँखामा समस्या ल्याएको छ । घरको ढोका खोल्न हुँदैन, पूरा धुलोले कपडा रङ्गाउँछ । बाटो कहिले बन्ने हो पत्तो छैन’ कँडेलले बताए ।

उक्त सडक निर्माणको लागि सडक विभागले भारतीय कम्पनी एआईपीएल र सैलुङ्ग कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेको थियो । सन् २०१४ जुन ५ मा विभागले बाटो निर्माणको लागि सम्झौता गरेको हो । सम्झौताअनुसार यतिबेलासम्म सडक बनिसक्नुपर्ने हो । तर, सडकको अवस्था उस्तै कन्तबिजोग छ । सम्झौतामा भनेअनुसार सन् २०१६ अक्टुबर २० सम्ममा काम सक्नुपर्ने हो ।

‘सम्झौताअनुसार सडक तयार भइसक्नुपर्ने हो । तर सम्झौता गरेको अवधिभर जम्मा १५ प्रतिशतमात्र काम भएको छ’ सडक निर्माणको सुपरिवेक्षक सोयल टेष्टका आवासीय इन्जिनियर नरेश रामबाबुले बताए ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकृत गजेन्द्रबहादुर चन्दले निर्माण पक्षले प्रगतिको हिसाबमा सन्तोषजनक रुपमा कामलाई अगाडि बढाउन नसकेको बताए । यतिबेला ठेकेदार पक्षलाई विभिन्न कारण देखाउँदै पुनः सम्झौता गरी ठेक्काको म्याद बढाउन माग गरिरहेको छ ।

देशमा नाकाबन्दी हुन, भारतीय बैंकसँग ऋण सम्झौता ढिला हुनु, सडकको डिजाइन परिवर्तन हुनु, खोलाहरु बन्द हुनुले निर्माण सामग्री नपाइनु, भूकम्प आउनुलगायतका विविध समस्याले गर्दा तोकिएको समय सीमाभित्र काम सम्पन्न नभएको ठेकेदार पक्षका साइड इन्जिनियर मनिष पराजुलीले बताए ।

‘उक्त सडक निर्माणको लागि पहिला टेण्डरमा ५ः५ चौडाइमा भरतपुरदेखि १६ किलोमिटर कालोपत्रे गर्ने सम्झौता भएको थियो । पछि त्यसलाई परिवर्तन गरी ७ मिटर चौडाइमा १२.५ किलोमिटर कालोपत्रे गर्ने सम्झौता भयो । रोडको डिजाइन परिवर्तन हुँदा पनि कामलाई ढिला पा¥यो’ उनले भने, ‘ढिलोको रिजल्ट छिटै राम्रो आउँछ ।’ उक्त सम्झौताअनुसार चौबिसकोठीदेखि रामपुरको पेट्रोलपम्पभन्दा २ किलोमिटर परसम्म पिच हुने देखिन्छ ।

उनका अनुसार फेरि सम्झौता गरेर सडक निर्माणको समय लम्बाउनुबाहेक अरु विकल्प छैन । ‘पहिलेको अवस्था काम गर्ने सक्ने खालको थिएन, अहिले धमाधम काम भइरहेको छ । खोलाहरुबाट पनि निर्माण सामग्री पाइएको छ । काम अगाडि बढिरहेको छ । पिचको काम पनि थालिएको छ । बेस र सवबेस (ग्राबेल) को काम पनि भइरहेको छ’ इन्जिनियर पराजुलीले भने, ‘निर्माण गर्ने समय थप्ने गरी सम्पूर्ण कागजात सडक विभागलाई पठाइएको सोयल टेष्टका इन्जिनियर नरेश रामबाबुले जानकारी गराए ।

कम्पनीको कार्यप्रगतिलाई हेरेर उसको प्रतिबद्धताअनुसार ठेक्काको म्याद थप गर्ने प्रक्रिया अगाडि बढाउन पहल गरिने डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकृत गजेन्द्रबहादुर चन्दले जानकारी दिए ।चितवन पोष्ट दैनिकवाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका