चितवन, मंसिर १८–
उनको नामसँग किरण छुट्दैन । हाम्रो घर नामक सडक बालबालिका पुर्नस्थापना केन्द्रमा हुर्केका सुरजकिरणको जीवनमा शुक्रबारदेखि नयाँ किरण थपिएको छ ।
पछिल्लो समय पाङ्ग्रे नामले पनि चिनिन थालेका सुरजले जीवन रथ चलाउन चाहिने अर्को पाङ्ग्रा पनि भेटाएका छन् ।
मंसिरमा बिहे हुनु कुनै अनौठो कुरो होइन । तर सुरजका लागि भने विशेष नै हुनेछ । किनकि झण्डै साढे ११ वर्षअघि सडकबाट उद्धार गरिएका सुरजले त्यो बेला यस्तो उमङ्गमय जीवनको कल्पना पनि गरेका थिएनन् । सुरजको कथाभित्र सडक बालकहरुको उद्धार र पुर्नस्थापनाको सफलता पनि मिसिएको छ । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
आफूले काम गर्ने मिडियामै प्राविधिकको रुपमा कार्यरत सुनिता गुरौ ‘सविता’लाई सुरजले शुक्रबार सिन्दुर लगाइ दिए । नारायणगढ बेलचोकको भगवती मन्दिर साक्षी राखेर उनले सवितालाई जीवन साथी घोषणा गरे । ‘सडकमै बसेको भए त के भइन्थ्यो, भइन्थ्यो । तर यस्तो खुसी सायदै पाइन्थ्यो’ सुरजले छोटो प्रतिक्रिया दिए ।
दुई वर्षदेखि बसेको माया शुक्रबारदेखि नातामा परिणत भयो । मैयादेवी कन्या कलेजमा मानविकी संकायमा स्नातकोत्तर तह (एमए) पढ्न थालेकी सविता पनि सुरजजस्तो मायालु साथी पाउँदा मख्ख छिन् । शुक्रनगर बसकट्टाकी सविताका बाबुआमा पनि यो सम्बन्धले खुसी छन् । बिहीबार शुक्रनगर पुगेर सुरज सविता दुवैले आमाबाबुको आशीर्वाद थापेर आए ।
शुक्रबार भगवती मन्दिरमा सुरज सवितासँगै सुरजको पुर्नस्थापना गरेको संस्था ‘हाम्रो घर’का अध्यक्ष रामहरि श्रेष्ठ, सो घरका बच्चाहरुलाई रेखदेख गर्ने आमा गंगा सिग्देललगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो । सो दृश्य देख्दा सबैभन्दा बढी खुसी कोही थिए भने गंगा नै थिइन् । किनकि सुरजलाई सुरज बनाउन उनको भूमिका चानचुने थिएन ।
हाम्रो घरले विसं २०६२ सालको साउन २६ गते सुरजलाई पहिलो पटक संस्थामा आश्रय दिएको थियो । सोही दिनलाई संस्थाले स्थापना दिवसका रुपमा पनि मनाउने गरेको छ । चञ्चल स्वभावका सडक बालकहरुलाई एक ठाउँमा टिकाइ राख्न निकै गाह्रो थियो ।
‘प्रहरीले सडकमा जीवन गुजारेका ५० जनालाई भेला गराएको थियो । जसमध्ये बस्न एकजना सुरजमात्रै तयार भएका थिए’ संस्थामा सुरूदेखि नै बालकहरु रेखदेखमा संलग्न गंगा सिग्देलले भनिन् । सुरज पनि कुन दिन निस्केर जान्छ भनेर गंगालाई धेरैले सुनाउने गर्दथे । तर उनले हिम्मत हारिनन् । आमाले दिने माया दिइन्, सुरजले विश्वास तोडेनन् ।
चितवन प्रहरीका तत्कालीन प्रहरी नायव उपरीक्षक धीरु बस्नेतको परिकल्पनामा पुर्नस्थापना केन्द्र खुलेको हो । विभिन्न संघसंस्थाहरु मिलेर गठन भएको सामाजिक अपराधविरुद्धको अभियान समन्वय समितिले सुरूमा संस्था सञ्चालन गर्यो । त्यसपछि विसं २०६३ सालको चैत्र २९ मा जिल्ला प्रशासनमा ‘हाम्रो घर’ नामक सडक बालबालिका पुर्नस्थापना केन्द्र विधिवत दर्ता भयो ।
हास्य कलाकारको नक्कल (क्यारिकेचर) गर्न सिपालु सुरजले मेरी बास्सै नामक टेलिश्रृङ्खलाको कलाकार माग्ने बूढाको अभिनय दुरुस्त गर्न थाले । तीन वर्षअघि उनले स्थानीय कालिका एफएममा कार्यक्रम चलाउन थाले । दुई वर्षपछि सोही एफएमअन्तर्गत रहेको टिभी कालिकामा पनि देखिए । ‘माग्ने बूढा’ बनेरै बसिरहन जरुरी थिएन । उनी पाङ्ग्रेका रुपमा उदाए ।
अहिले उनी रेडियो र टिभीमा गरेर पाँचवटा कार्यक्रम चलाउँछन् । ‘जम्काभेट’ नामबाट एफएममा कार्यक्रम सुरू गरेका सुरजले शुक्रबारबाट जीवनको नयाँ सुखद् मोड लिएका छन् । नागरिकता नभएको पिरलो थियो उनलाई कुनै बेला । गत असारमा त्यो पिरलो पनि सकियो । बाबुआमाको ठेगान नलाएका कारण उनले नागरिकताविहीन हुनु परेन । जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गर्यो ।