मानिस जति कुरुप रुप धारण गर्दै जान्छ
प्रकृतिले उति नै आफ्नो सुन्दरता निखार्दै जान्छिन्
मानिसले कहिल्यै सिकेन प्रकृतिसँग,
अरुलाई धेरै खुशी दिएर
आफ्नो खुशीको हिमाल उठाउन
त्यसैले उसलाई
आफैभित्रको बिकारहरुले किचिइरह्यो बारम्बार
र भासिदैँ भासिँदै गयो ऊ पापको दलदलभित्र
जब हिलोभित्र डुबेर उसका दुबै आँखासम्म हिलोले पुरियो
बल्ल हिलोबाहिर प्रकृतिको सुन्दरता देख्यो, लोभियो।
दुबै हात हिलोबाट बाहिर निकालेर आकाशतिर फिजायो
सकेसम्म माथी उठायो, गुहार माग्यो
यो बेलासम्म निकै ढिला भैसकेको थियो
उसलाई बाहिर निकाल्न सम्भव नै थिएन ।
अन्ततः ऊ
दलदलबाट कहिल्यै ननिस्किने गरी भासियो
उसङ्गै भासियो-
उसको अहम्
उसको जात,
उसको धर्म,
उसको वर्ग,
उसको बरबरता
ऊ जसलाई बाचिन्जेल आगोले पनि निल्न सक्दैनथ्यो।
हुरीले पनि बढार्न सक्दैनथ्यो।
आखिर यी सब उसङ्गै ऊ आफैले निर्माण गरेको
दलदलमा भासिनु रहेछ एकदिन, त्यो दिन आज नै रहेछ
दुबै हातका माझी औंलाको टुप्पो हिलोबाहिर अलिअलि देखिन्जेलसम्म हारगुहार माग्दै
आफ्नै पापको दलदलभित्र
डुब्दै गएको मानिसलाई हेरेर मलाई लाग्यो
मिल्ने भए म
ऊभित्रको बिकारहरुलाई मात्र दलदलभित्र दबाएर
एकै छिनको लागि मानिसलाई
सकुशल बाहिर निकाल्ने थिएँ
नुहाइदिने थिए उसलाई
फूलका केस्राकेस्रामा अल्झिएका
शितका थोपाहरुले
मात्र केही छिनको लागि
फूलजस्तै कोमल हृदय- घामजस्तै उज्यालो मस्तिष्क
प्रतिस्थापन गरिदिएर सोच्ने मौका दिने थिएँ
त्यो बेला मानिसले केके सोच्थ्यो होला ?
तर यतिखेरसम्म
यो सब असम्भव भैसकेको थियो
बाचिन्जेल उसले तुल्याएको अनमोल सम्पत्ती नै
यहीँ ‘असम्भव’भन्ने शब्द रहेछ !
अन्जना इछम्फूल्लाई सामाजिक संजालमा भेट्न यहाँ क्लिक गर्नुहोस् ।