अर्जुन राई, ५ पुस । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका चार विद्यार्थीसंगठनले पूर्व विभागीय प्रमुख प्रा.डा. लयप्रसाद उप्रेतीले विश्वविद्यालयको कार्यविधीविपरीत परियोजना सञ्चालन गरेको भन्दै मानवशास्त्र केन्द्रीय विभागमा तालाबन्दीको चेतावनी दिएका छन् ।
बुधबार मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा विज्ञप्ति जारी गरी नयाँशक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (विप्लव, माओवादी), अखिल क्रान्तिकारी त्रि.वि समिति र नेपाल विद्यार्थी संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
तत्कालीन विभागीय प्रमुख उप्रेतीले ‘अ स्टडी अन स्टेट अफ सोसल इन्क्लुजन’ शीर्षकको परियोजना आफ्नो मनोमानी सञ्चालन गरेको भन्दै पाँच विद्यार्थी संगठनले गत साउन २९ गते तालाबन्दी गरेका थिए ।
नवनियुक्त विभागीय प्रमुख डा. डम्बर चेम्जोङ र विद्यार्थी संगठनबिच परियोजनामा भएको अनियमितताको छानबिन गर्न समिति गरी अगाडि बढ्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि साउन १९ गते ताला खुलेको थियो । आन्दोलनरत पक्षलाई बेवास्ता गरी एकलौटी ढंगबाट कार्य अगाडी बढाएको र दोषीलाई उन्मुक्ति दिने किसिमले छानबिन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।