सन्तकुमार चौधरी
चितवन ४, फागुन –
विभिन्न सरकारी तथा गैरसकारी निकायहरु उचित समन्वय गरी जनतालाई छिटो, सहज र सरल तरिकाले सेवा दिनका लागि चितवनमा बुधवार चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको छ । भरतपुर स्थित जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले घोषणा गर्नुभएको हो ।
नेपालको ऐन कानुन, सरकारले जारी गरेको विभिन्न घोषणापत्रलाई आधार मानेर जनतालाई प्रभावकारी सेवा दिने उद्देश्यले प्रमुख जिल्ला अधिकारी भट्टकै योजना अनुसार चितवन सुधार मार्ग चित्र २०७३ घोषणा गरिएको हो । यसलाई सुशासन, विकास र प्रभावकारी सेवाका लागि चितवन सुधार मार्ग चित्र २०७३ भनिएको छ । घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भट्टले यसलाई अभियानकै रुपमा लिन आग्रह गर्नुभयो । राजनीतिक दल लगायत विभिन्न सरकारी गैर सरकारी निकायहरुबीच सामुहिक प्रतिवद्धता, समन्वय गरी सेवा प्रवाह गर्ने, प्रभावकारी सेवाका लागि दवाव दिने, अनुगमन गर्ने निकायलाई प्रभावकारी बनाउने र सेवालाई निगरानी बढाउन आह्वान गर्ने उद्देश्यले चितवन मार्ग चित्र २०७३ घोषणा गरिएको हो ।
जिल्लाको समग्र पक्षको सुधारका लागि सामुहिक प्रतिवद्धता आवश्यक भएकाले यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन मार्ग चित्रमा सार्वजनिक सेवा प्रवाहमा सुधारका लागि सुशासन प्रवद्र्धन र भ्रष्टचार नियन्त्रणको प्रयास गर्ने , विकास व्यवस्थापन, शान्ति सुरक्षा, प्रत्येक कार्यालयको समग्र व्यवस्थापन र सरसफाईलाई प्राथमिकतामा राखिएको छ । यो अभियानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन तथा सहजीकरण संयन्त्र गठन भएको छ । संयन्त्रमा राजनीतिक दलका प्रमुखहरु सदस्य छन् । यस्तै स्थानीय विकास अधिकारी, सुरक्षा निकायका प्रमुहरु, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत, उपभोक्ता अधिकार मञ्चका प्रमुख, पत्रकार महासंघ चितवनका अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेशनलका प्रमुख सदस्यहरुको रुपमा रहनेछ । चितवन सुधार मार्ग चित्र घोषणा कार्यक्रममा चितवनका राजनीतिक दलका प्रमुखहरु, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरु सहभागी थिए ।