Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मदनकृष्णको पुस्तक चाँडै बजारमा आउँदै – Gaule Khabar

मदनकृष्णको पुस्तक चाँडै बजारमा आउँदै

मदनकृष्णको पुस्तक चाँडै बजारमा आउँदै

पोखरा, माघ १७–

बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको पहलमा फेवाताल किनारामा जारी छैटौँ संस्करणको साहित्य महोत्सवको आज अन्तिम दिन महजोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल गरिएको छ ।

खचाखच भरिएका सर्वसाधारणबीच मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना साझेदारीका अनुभूति पस्कँदा उपस्थित जो कोही अत्यन्त जिज्ञासाका साथ सुन्न लालयित देखिन्थे ।

छलफलको प्रारम्भमा नै आचार्यले आफूहरूको ३७ वर्षे सहयात्रा निरन्तर रुपमा बढेको बताउँदै सफल साझेदारीका पाठहरू विषयको सो छलफललाई आफूले स्याबासी समारोहका रुपमा लिएको टिप्पणी गर्नुभयो ।

साझेदारी सफल बन्नका लागि कसैको आलोचना भन्दा पनि उसका राम्रा कुराको खोजी आवश्यक हुनेमा जोड दिँदै आचार्यले भन्नुभयो, “मभन्दा धेरै राम्रा गुण मदन दाइमा छन्, उहाँसँग ९० प्रतिशत राम्रा कुरा छन्, मसँग त्यस्तै ५० प्रतिशत मात्र ।” आफ्नो सहयात्रालाई नेपाली दाजुभाइ दिदीबहिनीको आशीर्वादले झन्झन् गाढा बनाएको बताउँदै उहाँले मायासँगै प्राप्त सफलताले सामाजिक दायित्व पनि बढाएको उल्लेख गर्नुभयो ।

‘चिना हराएको मान्छे’ का लेखकले भन्नुभयो “किताब लेख्छु भनेर लेखेको होइन, श्रीमती बितेपछि आफ्नो पीडालाई कापीमा उतारेको हुँ ।”आचार्यले सुरुका दिन बिहान ६ बजेदेखि कार्यालय पुगेर काम गरेको जस्ता धेरै अनुभव दर्शकमाझ सुनाउनुभयो ।

कलाकार मदनकृष्ण श्रेष्ठले एकापसमा विश्वासका साथ सँगै हिँडेकै कारण आफूहरूको साझेदारी लामो समयसम्म सफलताका साथ बढेको धारणा व्यक्त गर्नुभयो । सुरु सुरुमा हास्यव्यङ्ग्यलाई हेय भावले हेरिने गरे पनि पछिल्ला समयमा यसको गरिमा र महत्व बढ्दै गएको जिकिर गर्नुभयो । उहाँले आध्यात्मिकता सबैमा आवश्यक हुनेमा जोड दिँदै राजनीतिज्ञमा पनि आध्यात्मिक भावना हुनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो पुस्तक चाँडै आउने विश्वास दिलाउनुभयो । दर्शकको उत्साहपूर्ण सहभागितामा भएको छलफलको अन्त्यमा कलाकार आचार्यले कुलमान घिसिङको प्रशंसाका साथ विद्युत् चोरी गर्ने गिरोहप्रति कटाक्ष गर्दै कवितासमेत सुनाउन भ्याउनुभएको थियो –“सानो मन भएका ठूलाठूला साहु, बिजुलीमा हुक हाली खानसम्म खाऊ ।” दर्शक मनोरञ्जन लिँदै निरन्तर ताली बजाइरहेका थिए ।

आचार्यले कविता पढेसँगै श्रेष्ठले पनि सुनाए, “हातमुख जोर्न काम धेरै गरियो, बाहुला है माथि सारेर, हाँसीमा हाँसी खुसी भई खाइयो पानीमा गुन्द्रुक तारेर, जतिकै दुःख हुँदामा पनि खाइएन कसैलाई मारेर ।”

गत शुक्रबार सुरु भई आजसम्म जारी महोत्सवका विभिन्न सत्रमा साहित्यकार, लेखक, राजनीतिज्ञ, समाजशास्त्री, कलाकर्मी र विचारकले विभिन्न विषयमा छलफल गरेका थिए । महोत्सवमा साहित्य, कला, चलचित्र, समाज, संस्कृति र राजनीतिसँग जोडिएका विभिन्न सत्र, पुस्तक विमोचन तथा साङ्गीतिक प्रस्तुति गरिएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका