Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आलेख : बालमैत्री शिक्षा कार्यक्रममा आमाहरू नै जुटे – Gaule Khabar

आलेख : बालमैत्री शिक्षा कार्यक्रममा आमाहरू नै जुटे

आलेख : बालमैत्री शिक्षा कार्यक्रममा आमाहरू नै जुटे

(बेनी) म्याग्दी,माघ ९ –

पाँच वर्षअघिदेखि जिल्लामा सुरु भएको बालमैत्री शिक्षा कार्यक्रम बालबालिकामाझ लोकप्रिय भएपछि त्यसको विस्तारका लागि अहिले आमाहरू नै जुटेका छन् । यस्तो शिक्षण विधिप्रति अहिले बालबालिका र अभिभावकहरू नै आकर्षित भएका छन् ।

यो आकर्षणका कारण जिल्लामा बालमैत्री शिक्षण सिकाइ प्रक्रिया लागू गर्ने विद्यालयहरूको सङ्ख्या पनि प्रतिदिन बढिरहेका छन् । पछिल्लो समयमा सामुदायिक विकास प्रवद्र्धन केन्द्र र जिल्ला शिक्षा कार्यालय म्याग्दीले जिल्लाका विकट पश्चिमी भेगका पाँच गाविसमा रहेका २० सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७० देखि बालमैत्री शिक्षा कार्यक्रम लागू गरेपछि अभिभावकहरूमा उत्साह बढ्न थालेको छ ।

बालबालिकालाई खेलकुद, गीत तथा मनोरञ्जनात्मक क्रियाकलापका साथ पठनपाठन गराउने विधि नै बालमैत्री शिक्षा हो । पठनपाठनको यो विधि देखेपछि आमाहरू नै बालमैंत्री शिक्षा कार्यक्रमलाई राम्रो बनाउनुपर्छ भनेर सङ्गठितरुपमा लागेका छन् ।

बालमैंत्रीपूर्ण शिक्षण सिकाइ प्रक्रियाद्वारा विद्यार्थीहरूलाई शिक्षा दिनुपर्छ भनेर विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक सङ्घका साथै सम्पूर्ण अभिभावकले नै जुटेर कक्षाकोठा, कार्पेट र चकटीको व्यवस्थापन गरेका छन् ।

यसका लागि पहिला शिक्षकलाई तालिममा पठाइएको थियो । तालिम प्राप्त शिक्षकले पढाउन सुरु गरेपछि बालबालिका पनि रमाएरै विद्यालय जान थालेका छन् र यस्तो पढाउने तरिका अपनाइएपछि कहिल्यै विद्यालय नआउने आमाबुबाहरू पनि विद्यालयमा आउन थालेको बाल जागृति प्रावि बगुवाखोलाका प्रअ भक्त कार्की बताउनुहुन्छ । “यस्तो पढाइ पहिला नै सञ्चालन गर्नुपर्ने रहेछ, हामी पछाडि परेछौं,” उहाँ भन्नुहुन्छ ।

बालमैत्री तरिकाले पढाउन थालेपछि आफ्नो बच्चामा निकै परिवर्तन आएको स्थानीयवासी शेरबहादुर बानियाँ बताउनुहुन्छ । “पहिला मेरो छोरा मसंँग बोल्न पनि सक्दैनथ्यो तर आजभोलि सबैसँंग आफ्नो कुरा राख्छ आफ्नो काम र सरसफाइबारे घरपरिवारलाई सल्लाह दिन्छ,” उहाँले भन्नुभयो ।

पहिला विद्यालय जाउ भनेर कर गर्दा पनि नमान्ने बालबालिका आजभोलि समय हुनासाथ आफैँ सरासर विद्यालय गएको देख्दा खुसी लाग्छ भन्नुहुन्छ सरस्वती प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की ।

जब विद्यालयमा बालमैंत्री तरिकाले रमाइलो वातावरणमा विद्यार्थीलाई नै सक्रिय बनाएर पढाउन थालियो त्यसपछि बालबालिकाका बुबाआमाहरूमा विद्यालयलाई सहयोग गर्नु पर्दोरहेछ भन्ने महसुस भएर सहयोग गर्न थालेको सरस्वती प्रावि बगरफाँटका प्रअ प्रेमबहादुर कार्कीले बताउनुभयो ।

आफ्ना छोराछोरीलाई पढाएको देखेर प्रफुल्लित आमाहरू स्वयम्ले सङ्गठित भएर विद्यालयमा आमा समूह गठन गर्न थालेका छन् । आमा समूहले आ–आफना छोराछोरीलाई समयमा खान दिने, सरसफाइ गरेर दैनिक विद्यालय पठाइदिन र महिनामा एक पटक विद्यालयमा कक्षा शिक्षकसंँग बैठक बसेर छलफल गने गर्नाले आफूलाई अध्यापन गर्न सजिलो भएको शिक्षक नवीन घिमिरे बताउनुहुन्छ ।

आमा समूहले छोराछोरीको पढाइलाई गुणस्तरीय बनाउन मासिकरुपमा रकम जम्मा गर्दै रु। दश हजारसम्मको कोष स्थापना गरेका छन् । त्यसको व्याज रकमले कक्षा सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीको जाहो गर्न थालेको जयन्ति मावि भकिम्लीका प्रअ रामबहादुर पुनले बताउनुभयो ।

बालबालिकालाई नै बढी सक्रिय गराएर शैक्षिक सामग्रीको व्यवस्थापन गरिदिँदा शिक्षण विधि सजिलो भएको शिक्षकहरुको अनुभव छ । बालमैत्री तरिकाले अध्यापन गराइँदा विद्यार्थीको सक्रियता र सहभागिता बढ्ने तथा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध राम्रो हुने अर्जुन उच्चमावि स्रोत केन्द्रका स्रोतव्यक्ति दुर्गाराम सुबेदीे बताउनुहुन्छ ।

बालमैत्री शिक्षा प्रक्रियाले विद्यार्थीको नियमितता र विद्यालयप्रति अभिभावकको चासो बढ्न थालेकामा पनि उहाँ खुसी हुनुहुन्छ ।

बालमैत्री विद्यालय कार्यक्रमले विद्यालयको शैक्षिक प्रगति हुने निश्चित रहेको बुद्ध एकेडेमीका प्रिन्सिपल राजेन्द्रप्रसाद सेढाइँ बताउनुहुन्छ । कक्षामा केटाकेटीलाई खेल खेलाएर पढाएको देखेपछि २ कक्षामा पढ्दै गरेको आफ्ना छोरालाई फेरि कक्षा १ मा ल्याएर पढाउन पाए हुन्थ्यो भन्छन् अर्जुन उमाविका प्रधानाध्यापक शिवकुमार खत्री ।

अहिले सबै अभिभावक बालबालिकालाई दण्ड सजायबिना नै रमाइलो तरिकाले शिक्षा दिनुपर्छ भनिरहेका छन् ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीका विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मी बाल अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै बालबालिकाको चौतर्फी विकासलाई ध्यानमा राखेर बालकेन्द्रित विधिहरू प्रयोग गर्दै बालमनोविज्ञान अनुसार गरिने शिक्षण सिकाइ प्रक्रिया नै बालमैत्री शिक्षण हो भन्नुहुन्छ । आफूहरु यस दिशामा अगाडि बढिसकेको र जिल्लाका सबै विद्यालयलाई बालमैत्री विद्यालयमा रुपान्तरण गर्न लागिपरेको जानकारी उहाँले दिनुभयो ।

जिल्लाभित्र असल छिमेकी नेपालले पनि २४ वटा विद्यालयमा शिक्षकलाई तालिम दिएर बालमैत्री तवरले शिक्षण सिकाइ गर्न थालिएको छ । बालमैत्री कक्षा सञ्चालन भएका विद्यालयको अनुभवमा यो कार्य सकारात्मक देखिएको छ । बालमैंत्री शिक्षण प्रक्रियालाई इमान्दारीकासाथ सबै विद्यालयमा लागू गर्न सकिए बालबालिकाको भविष्य उज्ज्वल हुने सरोकारवालाहरु बताउँछन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका