रमेशकुमार पौडेल-
जन्मले नभए पनि कर्मका हिसाबले पुष्पकमल दाहाल प्रचण्ड चितवनकै हुन् । विद्यालय शिक्षा मात्रै होइन, क्याम्पस तहको अध्ययन पनि उनले यहीँबाट पूरा गरे । उनले नेपालको राजनीतिक परिवर्तनमा असरदार भूमिका खेल्ने एउटा संघर्षको नेतृत्व गरे ।
उनको राजनीतिक जीवन पनि चितवनबाटै सुरू भएको हो । यसरी हिसाब गर्दै ल्याउँदा उनी चितवनकै हुन् भन्ने गरिएको हो । अरु नेताहरु छन्, जो राष्ट्रियस्तरको भइकन पनि आफ्नो जिल्ला, निर्वाचन क्षेत्र र वडा, टोलसम्मको विशेष ख्याल राख्छन् ।
तर, देशको कार्यकारी प्रमुख भइकन पनि प्रचण्डले चितवनलाई खासै ख्याल राखेको अनुभूति गर्न पाइएको छैन । एक हिसाबले हेर्दा यो राम्रो पनि हो, तर जिल्लावासीको हिसाबले सोच्दा दिक्क पनि लाग्ने विषय हो ।
विसं २०५२ सालको फागुनमा सुरू भएको सशस्त्र संघर्षलाई शान्ती सम्झौतामार्फत टुङ्ग्याएपछि प्रचण्ड प्रधानमन्त्रीसमेत भए । एकपटक उनी पहिलो ठूलो पार्टीको हैसियतमा प्रधानमन्त्री भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा तेस्रो पार्टी भए पनि प्रचण्डलाई दोस्रोपटक प्रधानमन्त्री हुने मौका जुट्यो ।
अहिले उनी संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसको साथ पाएर प्रधानमन्त्री भएका छन् । दोस्रोपटक प्रधानमन्त्री भइरहँदा प्रचण्डले घोषणा गरेका थिए– ‘यो पटक म रिबन काट्दै उद्घाटन गर्दै समय बिताउँदै हिँड्दिनँ ।’
तर, घोषणा गरेपछि पालना गर्ने ताकत नेतामा कहाँ हुन्छ र, प्रचण्ड पनि सोही कमजोरीबाट ग्रस्त छन् । परको कुरा के गर्ने ! उनी चितवनमै एकपटक, दुईपटक होइन, रिबन काट्दै उद्घाटन गर्न तेस्रोपटक चितवन आइसकेका छन् ।
प्रचण्डको मुखबाट प्याकेज शब्द झट्टै फुत्किहाल्छ । यसपटक चितवन आउँदा भरमार प्याकेजको घोषणा गर्ने वाचा गरेका छन् उनले । जहाँ गयो त्यहीँको माहोलअनुसार बोल्ने प्रचण्डको बानी नै हो । घोषणा गरेको कुरा व्यवहारमा लागू नगर्ने, रिबन नकाट्ने विषय मात्रै होइन प्याकेज पनि हो ।
तैपनि, उनले प्याकेज दिने भनेका छन् । हामी चितवनवासी मख्ख किन नहुने ! मुख्य कुरा देशको कार्यकारी प्रमुखको हैसियतबाट बोल्दा पहिलोपटक प्रचण्ड खाँटी चितौनेका रुपमा प्रकट भएका छन् ।
दोस्रोपटक प्रधानमन्त्री भएपछि उनी चितवन पहिलोपटक आउँदा खासै दमदार देखिएनन् । उनी जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन गर्न आएका थिए, त्यो बेला । मुख्य यो बाहेक अरु खुद्रा तथा मसिना कार्यक्रममा पनि उनी अल्झिए । तर, सम्झनलायक केही बोलेनन् ।
सो बेलामा उनले नागरिकता चितवन जिल्ला प्रशासनबाटै लिएको र त्यो बेलामा साह्रै दिक्दारी भोगेको सम्झना गरेका थिए । म चितवनकै हो है भन्ने पक्का प्रमाण दिन उनले त्यसो भने पनि उनको त्यो बोलीको खासै प्रभाव देखिएन । प्रधानमन्त्री प्रचण्डको दोस्रो चितवन यात्राको उद्देश्य भरतपुरमा हुने नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय अधिवेशनको उद्घाटन थियो ।
जहाँ जाने त्यहीँको हुन खोज्ने प्रचण्ड विशेषता त्यहाँ पनि प्रकट भयो । जनजाति हुँ भन्न उनको रुपरंगले दिँदैन थियो । तर, म अरुजस्तो बाहुन होइन भन्दै बाहुनको सत्तोसराप गर्न भने भ्याए त्यहाँ । देशको कार्यकारी प्रमुखले जनजाति समुदायका माझमा गएर क्षेत्री–बाहुनको विरोध गरे ।
यो पटक उनको भाषणको केही गाइँगुइँ दुई–चार दिनसम्म कायमै रह्यो । देशको राजनीतिक अवस्था सन्तोषजनक छैन । लामो समयसम्म संसद् अवरूद्ध भयो । संविधान संशोधन प्रस्तावका सवालमा ध्रुवीकरण तीव्र छ । प्रस्ताव दर्ता भएसँगै आन्दोलन उठ्यो । सत्तापक्ष र प्रतिपक्षबीच विवाद ह्वात्तै बढ्दै गयो ।
मिलापको बिन्दु देखिन छाड्यो । यस्तो बेलामा रिबन काट्दिनँ भन्ने बचन प्रचण्डले पूरा गर्नुपर्ने थियो । तर उनी रोकिएनन्, यहाँ–वहाँ पुगे, रिबन काटिनै रहे । प्रधानमन्त्रीको यो चाला देखेपछि चितवनवासी हौसिनु नौलो कुरा भएन । चितवन महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्रीलाई नै किन नबोलाउने ?
प्रचण्डलाई मनाउन सक्ने व्यक्तिहरुसहितको आयोजकहरुको टोली निम्तो बोकेर बालुवाटार पुग्यो । संसद्मा भिडन्त नै हुने समयको वरपर चितवन महोत्सवको उद्घाटन हुँदै थियो । तर पनि प्रचण्डले निम्ता गर्न आएकाहरुलाई निराश पारेनन् । आउँछु भन्ने बचन दिए र उद्घाटन गर्न आएर बचन पूरा गरे । अर्थात्, तेस्रोपटक पनि प्रचण्ड रिबन काट्न चितवन आए ।
चितवनका तत्कालीन ठूला समस्याका रुपमा रहेका छन्, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बेथिति र कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको सम्पत्ति हस्तान्तरण विवाद लम्बिँदै जाँदा उत्पन्न भएको शैक्षिक समस्या ।
प्रधानमन्त्री भएपछि प्रचण्डले यी दुई मुख्य समस्याको निराकरणमा तदारूकता देखाऊलान् भन्ने जिल्लावासीलाई ठूलो आशा थियो । तर, प्रचण्डले यतातर्फ ध्यान दिएको अनुभूति जिल्लावासीले गर्नै पाएनन् । जिल्लाका मुख्य दुईवटा समस्या हल गर्न चासो नदिने प्रधानमन्त्री प्रचण्ड उद्घाटन कार्यक्रममा सरिक हुन भने तीनपटक चितवन आए ।
तेस्रोपटक आउँदा प्रधानमन्त्री प्रचण्ड जिल्लामा दुई दिन बसे । उद्घाटनका चारवटा कार्यक्रममा सरिक भए । चितवन महोत्सव उद्घाटन गरे । त्योभन्दा पहिला वीरेन्द्रनगर पुगेर एउटा विद्यालयमा स्तम्भ अनावरण गरे । चितवन महोत्सवको उद्घाटन मञ्चमा उनले भाषण गर्दा साँझ पर्न खोज्दै थियो ।
त्यहाँबाट रात बिताउन उनी मेघौली पुगे । मेघौलीमा एउटा अत्याधुनिक रिसोर्टमा रात बिताए । भोलिपल्ट बिहान मेघौलीको खानेपानी आयोजनाको कार्यक्रममा सरिक भएका प्रधानमन्त्री प्रचण्डले मध्यान्ह भरतपुर उपमहानगरपालिकाको परिषद् पनि उद्घाटन गर्न भ्याए ।
चितवन महोत्सवदेखि नै प्याकेजको कुरा गरेका उनले अरु कार्यक्रममा पनि यसैको चर्चा गरे । नारायणगढदेखि गोलाघाटसम्म नारायणी नदीमा तटबन्धन गरेर त्यसैमाथि गाडी गुड्ने बाटो बनाउनेसम्मका योजना सुनाए । भरतपुर महानगरपालिका हुने पक्कापक्की भएको भन्दै आफू पनि महानगरवासी हुन पाइने भइयो भन्दै खुसी भएको ‘अभिनय’सम्म गर्न भ्याए, प्रचण्डले ।
पहिलोपटकको उद्घाटनमा नागरिकता बनाएको प्रसंग ल्याएर चितवनवासी भएको बताएका प्रचण्ड यसपटक भरतपुरवासी नै भएको घोषणा गर्न चुकेनन् । अर्थात्, जहाँ गयो उनी त्यहीँको हुन भने जानेकै हुन् । रोल्पा गए क्रान्तिकारी र मधेस झरे मसिहा, यस्तो घोषणा गर्दै हिँड्ने उनको बानी नै छ ।
प्याकेजमा नारायणी नदीमाथि दुई–दुईवटा पुल बनाउनेदेखि भरतपुरको चक्रपथसम्म अटाउने बताए उनले । प्रचण्डको यो प्याकेज घोषणा पनि नौलो विषय होइन । बाँदरमुढे विस्फोट काण्ड माओवादी सशस्त्र संघर्षकालकै सबैभन्दा ठूलो निन्दनीय घटना मानिन्छ ।
यात्रुवाहक बसलाई लक्षित गरेर माओवादीले थापेको विद्युतीय धराप विस्फोट हुँदा ३८ जना यात्रुको ज्यान गएको सो घटनामा प्रचण्डले दुःखमनाउ गर्दै तत्काल माफी पनि मागेका थिए । अनुकूल समयमा माडीमै गएर माफी माग्ने प्रचण्डको वाचाबन्धन थियो ।
सो घटना भएको एक वर्षपछि अवस्था फेरियो । देशमा जनआन्दोलन सफल भएर माओवादीले युद्धविराम ग¥यो । सरकारसँग शान्तिवार्ता चल्दै थियो सम्झौता भएको थिएन, यस्तो बेलामा प्रचण्डसहितको टोलीले बाँदरमुढेपीडितहरुलाई विसं २०६३ सालको कात्तिकमा भरतपुरनजिकै मंगलपुरसँगैको फूलबारी गाउँमा भेट्यो ।
सो भेटमा प्रचण्डले आफूसहितको माओवादी नेताको टोली चाँडै नै माडीमै आउने र पीडितको राहत र माडीको विकासका लागि प्याकेज घोषणा गर्ने बचन दिए । शान्ति सम्झौता भयो, माओवादी सरकारमा गयो, चुनाव पनि भयो र माओवादीले सत्ताको नेतृत्व पनि गर्ने अवसर पायो ।
तर, प्रचण्ड माडी जाने साइत जुरेन । यसबीचमा एकपटक माडी टेके प्रचण्डले । हेलिकप्टरबाट माडी ओर्लंदा बाँदरमुढे घटनाका प्रभावितहरु विरोधमा उत्रिए । माडी महोत्सव उद्घाटन गर्न आएका प्रचण्डले त्यो बेलामा पनि प्याकेज घोषणा गरेका हुन् । तर, प्याकेज खुल्न सकेन ।
प्रचण्ड र प्याकेजको यो साइनो पुरानै हो, अहिले पनि घोषणा भयो, आश्चर्य नमानौँ । तर, गरेका प्रतिबद्धता बिर्संदै जाने पुरानो रोगले प्रचण्डलाई यो पटक भने नछोओस् । नौ महिनाका लागि प्रधानमन्त्री भएका प्रचण्डको पालो पुग्न अब तीन महिनाभन्दा खासै धेरै छैन । यस्ता प्रधानमन्त्रीलाई १० औँला जोड्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले देश र जिल्लाको विकास गर्न पटकपटक बिन्ती गर्ने ! कामना गरौँ, राजनको यो बिन्ती खेर नजाओस् ।
चितवन पोष्टबाट/[email protected]