Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रूपन्देही युवा संघका अध्यक्ष तिवारी हत्या प्रकरण झनै रहस्यपूर्ण – Gaule Khabar

रूपन्देही युवा संघका अध्यक्ष तिवारी हत्या प्रकरण झनै रहस्यपूर्ण

रूपन्देही युवा संघका अध्यक्ष तिवारी हत्या प्रकरण झनै रहस्यपूर्ण

दीपक ज्ञवाली,

बुटवल पुस १०-


रूपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या राजनीतिक स्वार्थप्रेरित रहेको आशंका बलियो बन्दैछ ।“अब जिल्लामा हत्या, हिंसा बन्द हुनेछन्”, २८ मंसीरमा बुटवलमा पत्रकारसामु हौसिरहेका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र सिंह धानुकको दाबी एक साता पनि टिकेन । ४ पुसमा देवदह, बुटवलमा दिनदहाडै एमाले निकट युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भयो । मोटरसाइकलमा सवार तिवारीलाई मोटरसाइकलमै आएका युवाले गोली प्रहार गरे ।

संविधान संशोधनमार्फत प्रदेश–५ को सीमा हेरफेर गर्न खोजिएको विरोधमा बुटवलमा चलेको आमहड्ताल टुंगिएको भोलिपल्टै तिवारीको हत्या भएको थियो । तिवारी पनि प्रदेश विभाजन विरुद्धको आन्दोलनमा सक्रिय थिए । प्रहरीका अनुसार, २० फागुन २०७२ मा पनि तिवारीको हत्या प्रयास भएको थियो ।

हत्यालगत्तै मलेशियाबाट मनोज पुन बोलेको बताउने एक व्यक्तिले प्रहरी, स्थानीय युवा र केही सञ्चारमाध्यममा फोन गरी हत्याको जिम्मेवारी लिए । त्यसैको आधारमा रूपन्देही प्रहरीले मुख्य अभियुक्त भन्दै पुनकै तस्वीर सार्वजनिक गर्‍यो ।

तिवारीसँग पुनको तिक्तता, यसअघिको हत्या प्रयासमा संलग्नता र टेलिफोनमा हत्या स्वीकार जस्ता आधारमा प्रहरीले पुनलाई नै दोषी ठानेको थियो ।

तर, युवा संघ यसलाई सहजै स्वीकार्न तयार भएन । ठोस अनुसन्धानविनै प्रहरीले घटना सामसुम बनाउन खोजेको भन्दै युवा संघले आपत्ति जनाएपछि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ ।

“शून्यबाट अनुसन्धान अघि बढाएका छौं, केही अनौठा परिदृश्य देखिइरहेका छन्”, रूपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डे भन्छन् । युवा संघको आन्दोलन चर्किएपछि गृह मन्त्रालयले एआईजी विज्ञानराज शर्माको नेतृत्वमा छानबीन समिति पनि गठन गरेको छ ।

यता युवा संघले पनि आफ्नै छानबीन समिति बनाएको छ । हत्यामा पूर्व प्रहरी र सेनाको संदिग्ध समूहको संलग्नताको चर्चा पनि चलेको छ ।

रूपन्देहीमा युवा संघका कार्यकर्ता मारिएको यो पहिलो घटना भने होइन । १३ चैत २०६५ मा पनि बुटवलमै युथ फोर्सका कार्यकर्ता प्रचण्ड थैवको हत्या भएको थियो । हत्यामा संलग्न माओवादी कार्यकर्ता सुजित बिक अहिले पनि जेलमा छन् ।

तिवारी–पुन ‘कनेक्सन’
तिवारी हत्यामा आफ्नो संलग्नता स्वीकार गर्ने मनोज पुन (मनोज बुढामगर) अरू कोही नभई पाँच वर्षअघि तत्कालीन युथ फोर्स (अहिलेको युवा संघ) कै कार्यकर्ता थिए । र, उनलाई स्वयं तिवारीले नै संगठनमा भित्र्याएका थिए । दुवैको घर देवदह नै हो ।

थैवको हत्याअघि पुन वाईसिएलका कार्यकर्ता थिए । त्यसपछि उनी तिवारीकै पहलमा युथ फोर्समा प्रवेश गरे । र, १ नम्बर क्षेत्रीय कमिटीको कोषाध्यक्ष समेत बने ।

तर युथ फोर्सका नाममा आपराधिक गतिविधि बढाएको आरोपमा उनी एक वर्षपछि नै संगठनबाट निष्कासनमा परे । आफू निकालिनुमा तिवारीको हात रहेको भन्दै पुन रुष्ट देखिन्थे । तीन वटा आपराधिक घटनाको अभियोग लागेका पुन प्रहरीको फरार सूचीमा छन् ।

१० महीनाअघि तिवारीको हत्या प्रयास गर्दै गोली हान्ने समूहमा पुनको समेत संलग्नता रहेको प्रहरीको दाबी छ । उक्त घटनामा पुनसहित अन्य ८ जनाको सहभागिता रहेको भन्दै तिवारीले किटानी जाहेरी पनि दिएका थिए । तर, गत जेठमा अन्य सबै पक्राउ परे पनि पुन फरार रहे ।

उनी भारतका विभिन्न शहरमा बसी नेपालमा आपराधिक गतिविधि चलाइरहेको प्रहरीको दाबी छ । घटना हुनुअघि पुनले तिवारीसँग रु.२० लाख मागेको तर नपाएपछि हत्या गरेको हुनसक्ने पनि प्रहरीको अनुमान छ ।

विद्यार्थी राजनीतिबाट आएका तिवारी ६ वर्ष वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया बसेर ७ वर्षअघि जिल्ला फर्केका थिए । उनले देवदहमा ईंटा उद्योग पनि सञ्चालन गरिरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका