Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो – Gaule Khabar

प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो

प्राधिकरणको अभियानले विद्युत्लाइन काट्दा गाउँ नै अँध्यारो

भक्तपुर, २१ मङ्सिर । नेपाल विद्युत् प्राधिकरण, भक्तपुर शाखाले विद्युत् चोरी गर्ने, मिटर जडान नगरी विद्युत्को प्रयोग गर्ने र कालोसूचीमा रहेकाको विद्युत्लाइन काट्ने अभियान सुरु गरेको छ ।

विद्युत् चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता असुली गर्ने अभियान सुरु गरेको प्राधिकरणले विद्युत्लाइन काट्न थालेपछि सिङ्गो गाउँ नै अध्यारो हुन थालेको छ ।

प्राधिकरणको अभियानअन्तर्गत लाइन काट्न थालेपछि नगरकोट नगरपालिका– ११ र १२ मा पर्ने बेँसीटोलका १०० घरमा विगत नौ दिनदेखि अँध्यारो भएको छ ।

प्राधिकरण भक्तपुर शाखाका प्रमुख विक्रम अमात्यले अत्यधिक हुकिङ गरी विद्युत्चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “नगरकोटका बेँसी टोलका करिब १०० घरको लाइन काटिएको छ, उहाँहरुले कार्यालयमा आएर विद्युत् चुहावट नगर्ने, मिटर जडान गर्ने र महसुल बुझाउने प्रतिबद्धता गर्नुभएको छ, अब केही दिनमै पुनः लाइन सञ्चालन गरिदिन्छौँ ।”

उहाँका अनुसार कालोसूचीमा रहेका उपभोक्ताले विद्युत् महसुल बुझाउने र मिटर जडानका लागि आवेदन दिएलगत्तै बेँसी टोलमा पुनः विद्युत्लाइन सञ्चालन गरिने भएको छ ।

यता चाँगुनारायण नगरपालिका–१० खोरिया टोल र छापमा करिब १०० घरका काटिएको विद्युत्लाइन प्राधिकरणले नौदिनपछि पुनः सुचारु गरेको छ ।

यस क्षेत्रमा पनि अत्यधिक हुकिङ गरी विद्युत् चोरी गर्ने गरेको, मिटर नै नहाली विद्युत्को प्रयोग गर्ने गरेको र लामो समयदेखि विद्युत् महसुल नबुझाई कालोसूचीमा परेका ग्राहकको विद्युत् लाइन काटिएको थियो ।

लाइन काटिएपछि स्थानीय उपभोक्ताले विद्युत् चोरी नगर्ने प्रतिबद्धता जनाउँदै मिटर जडान गर्न आवेदन दिने र बाँकी महसुल बुझाउन थालेपछि लाइन पुनः सुचारु गरेको शाखा प्रमुख अमात्यले जानकारी दिनुभयो ।

प्राधिकरण भक्तपुर शाखाले विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत बढी विद्युत् चुहावट हुने क्षेत्र भक्तपुर नगरपालिकाका विभिन्न टोल, नगरकोट, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्रमा आकस्मिक अनुगमन गरी कारबाही गर्ने कार्यलाई तीव्र पारेको छ ।

यसअन्तर्गत हालसम्म विद्युत् चुहावटमा संलग्न रहेकामध्ये ४८ जनालाई कारबाही गरी जरिवाना लगाएको र त्यसमध्ये मङ्सिरमा मात्रै २२ जनालाई कारबाही गरिएको अमात्यले जानकारी दिनुभयो ।

विद्युत्चोरी गर्ने कारबाहीमा परेकाबाट प्राधिकरणले रु १२ लाख ६४ हजार ७७५ जरिवाना असुल गरेको छ । हालसम्म प्रहरी र प्रशासनको सहयोगमा प्राधिकरणले विद्युत् चुहावटमा प्रयोग भएका करिब ६०० मिटर विभिन्न तार, नौवटा पानी तान्न प्रयोग हुने ठूला पम्प, एकवटा डिस होम, पिठो मिस्ने मेसिनमा प्रयोग हुने मोटर समेत नियन्त्रणमा लिएको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानलाई अझै सशक्त बनाउन शाखाले स्थानीय युवा क्लब, राजनीतिक प्रतिनिधि र सामाजिक संस्थासँग समन्वय गर्ने भएको छ ।

हाल भक्तपुरमा ३३ प्रतिशत चुहावटलाई घटाउन सफल भएकोमा क्लबलगायत विभिन्न निकायको साथ लिँदै यस वर्षभित्रमा चुहावटलाई शून्यमा झार्ने उद्देश्य अनुसार काम भइरहेको शाखा प्रमुख अमात्यले जानकारी दिनुभयो ।

दिउँसो आफू एक्लै कसैले नचिन्ने गरी विभिन्न क्षेत्रमा गएर चुहावटको अवस्था हेर्ने र त्योलगत्तै टोली मगाएर छापा मार्ने गर्दा अझै प्रभावकारी भएको उहाँको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका