सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट जनसाँस्कृतिक महासङ्घ नेपाल, सोलुखुम्बु संयोजन समितिको एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सल्लेरी सदरमुकाममा आयोजित कार्यक्रममा महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा महासङ्घका केन्द्रीय संयोजक खगेन्द्र राईले सपथ ग्रहण गराएका थिए । महासङ्घको संयोजकमा पूर्व माओवादी केन्द्रका विशेष खालिङ निर्वाचित भएका छन् भने सह–संयोजकमा पूर्व एमालेका सूर्यकुमारी सुनुवार निर्वाचित भएका छन् । महासङ्घमा २५ सदस्य रहेका छन् । त्यसैगरी कार्यक्रममा महासङ्घअन्तर्गत ४ घटक संगठनहरुको पनि एकता भेला तथा शपथ ग्रहण सम्पन्न भएको छ ।
४ संगठनमध्ये पूर्वएमालेको भागमा जनसाहित्यक लेखक सङ्घ र जननाट्यकर्मी सङ्घ परेको छ भने पूर्व माओवादीको भागमा जनसंगीतकर्मी सङ्घ र चलचित्रकर्मी सङ्घ परेको छ । लेखक संघको संयोजकमा देवकी थुलदुङ र सहसंयोजकमा जंग बहादुर राई निर्वाचित भएका छन् भने नाट्यकर्मी सङ्घको संयोजकमा युकराज शर्मा र सहसंयोजकमा पर्वजीत राई निर्वाचित भएका छन् । त्यसैगरी जनसंगीतकर्मी सङ्घको संयोजकमा कुमार प्रयास र सहसंयोजकमा बलराम राई निर्वाचित भएका छन् भने चलचित्रकर्मी संघमा शिमसन राई संयोजक र प्रवीण कुलुङ सहसंयोजकमा निर्वाचित भएका छन् ।
कार्यक्रममा बोल्दै महासङ्घका केन्द्रीय संयोजक खगेन्द्र राईले ‘संस्कृतिकर्मी आफूले आफूलाई कसरी हेर्ने ?’ भनेर प्रश्न गरेका थिए । ‘संघीय, लोकतान्त्रिक गणतान्त्रिक संस्कृति कस्तो हुन्छ भन्ने कुरामा बहस गर्नुपर्ने हो ?’ राईले भने ‘सोलुखुम्बुको जनसाँस्कृतिक महासङ्घलाई सोलुखुम्बुकै विशेषताअनुसार बुझ्न जरुरी छ ।’ उनले पार्टी विभाजन नहुने कुरामा विश्वास समेत व्यक्त गरेका थिए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा संघीय सांसद हेम कुमार राई ‘शूरवीर’ले पार्टीलाई विभाजनकारी संस्कृतिबाट बचाउँदै सौहार्द वातावरणमा बहस गर्नुपर्ने बताएका थिए । ‘जनसाँस्कृतिक महासङ्घको एक्ता भेला सम्पन्न गरेर हामीले सगरमाथाको जिल्लाबाट एकताको विगुल फुकिरहेका छौं’ सांसद राईले भने, ‘एकताको यो सन्देश बुझेन भने नेतृत्व र पार्टी दुवैलाई घाटा हुनेछ ।’ पार्टीए एकताको पक्षमा नेताहरु लाग्न जरुरी भएको भन्दै उनले घिसेपिटे बिषयमा छलफल गर्नुको औचित्य नरहेको समेत बताएका थिए । ‘सबै विषयलाई महाधिवेशनले टुंग्याउने भनेपछि व्यक्तिविशेषको कुरा सुनेर अनावश्यक छलफल गर्नुले निश्कर्ष निस्कदैन’ राईले भने ।
कार्यक्रममा महासङ्घका केन्द्रीय संयोजकले १९ वर्षअघि सल्लेरीमा भएको लडाईंको स्मरण गर्दै योद्धाहरुले समाजको रुपान्तरणका लागि दिएको आहुतीलाई आत्मसात गर्नुपर्ने बताका थिए । कला र गला मात्रै संस्कृति नभएको बताउँदै सहयात्रीले जनताको आवश्यकतालाई बुझ्न नसके संस्कृतिमा लगातार स्खलन हुने र संस्कृतिमा स्खलन भइरहे त्यसले राज्यलाई गलत बाटोमा अघि बढाउने तर्क गरे । ‘जोकोही भोलीको देशको कार्यकारी व्यक्ति हो भने उसलाई अहिलेदेखि नै संस्कार सिकाउन जरुरी छ’, उनले भने, ‘उपभोक्ता संस्कृतिको विकास भइरहेको छ । यो कुरामा राजनीतिक तहबाट गम्भीर भएर पहल गरिएन भने दुर्घटना अवश्यम्भावी छ ।’
कार्यक्रममा बोल्दै नेकपाको जिल्ला कमिटीका अध्यक्ष मानबीर राईले पार्टी केन्द्रमा विवाद भइहँदा जिल्ला पार्टीले महासङ्घको एकता भेला गराएर पार्टी एकताको सन्देश दिएको भन्दै उक्त सन्देश पार्टी केन्द्रले सुन्नपुर्ने जिकिर गरेका थिए ।
कार्यक्रममा नेकपाको जिल्ला कमिटी सचिव गोम्बु शेर्पा ‘कज्र्याङ’ले आफूविरुद्धको विद्रोह नै सांस्कृतिक रुपान्तरण रहेको बताउँदै आमसमीक्षा र आत्मसंघर्षमा सकारात्मक पक्षको विजय भएपछि मात्रै देश रुपान्तरण गर्न सम्भव रहेको बताएका थिए । ‘अहिले आचरण र संस्कृतिबीच गम्भीर अन्तर देखा पर्न थालेको छ । यही कुरालाई निरन्तरता दिइरहने हो भने जनतासँगको सम्बन्ध विच्छेद हुन सक्दछ’ शेर्पाले भने, ‘सांस्कृतिक मोर्चाले यसको कार्यभार पूरा गर्न आवश्यक छ । सांस्कृतिक मोर्चाले यसको विरुद्धमा निरन्तर जुधिरहन आवश्यक छ ।
त्यसैगरी कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सांस्कृतिक मोर्चा महत्वपूर्ण मोर्चा रहेको बताएका थिए । ‘सिद्धान्त र ब्यहारबीचको ठूलो खाल्डो बन्दै गर्दा महासँङ्घले दिशानिर्देश गर्ने भूमिका निर्वाह गर्न सक्नुपर्छ’ अध्यक्ष राईले जोड दिएर भने, ‘सत्ता महत्वपूर्ण मानिएको अवस्थामा, पार्टी र संगठनमा बढि जिम्मेवारी बोध गराउने कार्य गरेर महासङ्घले पार्टीलाई अग्रगमनतर्फ डोहो¥याउने भूमिका खेल्नुपर्नेछ ।’
कार्यक्रममा प्रदेश सांसद उत्तमकुमार बस्नेत, महासङ्घका प्रदेश इन्चार्ज राकेश किराती, प्रदेश सहसंयोजक अनुषा राई, सोलुखुम्बु इन्चार्ज गणेश कुमार राई ‘वसन्त’, खोटाङ इन्चार्ज बम बानियाँ, सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राईलगायतले मन्तव्य राखेका थिए ।