पृष्ठभूमि :
नेपालको जनगणना २०६८ अनुसार नेपालमा १२३ वटा भाषा बोलिन्छ्न् । यो संख्याको ठूलो हिस्सा किराँती भाषाले लिएको छ । राईको जनसंख्या ६,२०,००४ रहको देखिन्छ । यो कुल जनसंख्याको २.३५% हो । जसमध्ये १४,४६७ जना (०.०५%) खालिङ भाषी रहेको जनगणना रिपोर्टमा देखाइएको छ । सिनो–तिब्बती अन्तर्गत भोट–बर्मेली परिवारको खालिङ भाषा (ख्याल ब्रा) आफ्नै प्रकारको विशेषता भएको भाषा हो । यो भाषा कोयी र दुमी भाषासंग नजिक रहेको नेत्रमणि दुमि राईले भाषाविज्ञान समाज नेपालद्वारा प्रकाशित जर्नल ‘नेपलिज् लिङ्गुइस्टिक्स्’ मा संग्रहित लेखमा उल्लेख गरेका छन् । जनगणना २०६८ अनुसार १४,४६७ जना खालिङ भाषाका वक्ता रहेका छन् । युनेस्कोले सन् २०१० को प्रतिवेदनमा खालिङ भाषा एक संकटापन्न भाषाको रूपमा सूचीकृत गरेको छ । मुख्य रूपमा खालिङ भाषीहरूको बसोवास सोलुखुम्बुमा रहेको छ । सोलुखुम्बु जिल्लाको जुभिङ, फुलेली, बासा, काँकु, वाकु र पावैमा खालिङ भाषाका वक्ता छन् । यसका अलवा अन्य जिल्लाहरू खोटाङ, संखुवासभा, उदयपुर, सुन्सरी, झापा, काठमाडौंमा पनि खालिङहरू छन् । खालिङहरू रोजगारी, शिक्षा जस्ता कुराहरूको खोजि गर्दै अन्य जिल्लाहरूमा बसाइ सर्दै आएको जङगबहादुर खालिङले किरात राई प्रज्ञा परिषदद्वारा प्रकाशित जर्नल ‘किरात प्रज्ञा’ मा उल्लेख गरेका छन् । सोलुखुम्बु थातथलोबाहिर रहेका खालिङहरूले आंशिक रूपमा मात्र बोल्ने गरेको पाइन्छ ।
‘ख्याल ब्रा थम् (खालिङ भाषाका शव्दसंग्रह)’, ‘क्रियापद शव्दकोश’, ‘खालिङ–नेपाली–अंग्रेजी शव्दकोश’ लगायतका पुस्तक प्रकाशित छन् । साथै बाइबल अनुवादको काम समेत भएको देखिन्छ । खालिङ भाषाका लागि अहिलेसम्म देवनागरी लिपी नै प्रयोग गरिदै आएको छ । यो भाषाको छुट्टै लिपि नहुदा देवनागरी लिपिले काम चलाउनु पर्ने बाध्यता छ । यो लिपिले खालिङ लगायत किराती भाषाका केही ध्वनिलाई जनाउन सक्दैन । यही देवनागरी लिपिमा कक्षा ३ सम्मको पाठ्यपुस्तक प्रकाशन भइसकेको छ । खालिङ भाषामा पाठ्यपुस्तक छापिनु खालिङ समुदायका लागि ठुलो उपलब्धी हो । यसबाहेक खालिङ भाषामा कविता, कथा, निबन्ध विधामा सहित्य रचना भएको पाइन्छ । त्यस्तै चार वटा खालिङ भाषाका गीति संग्रह छन् ।
भाषा संरक्षणमा कसको जिम्मेवारी रहने ?
भाषा संरक्षणको बहस चलिरहदा लोपोन्मुख सूचिमा परेको भाषा संरक्षणमा को–को जिम्मेवारी हुनुपर्छ ? भन्ने प्रश्न उठ्छ । सबैभन्दा पहिला त खालिङ भाषाका वक्ताको भूमिका रहन्छ । यसपछि खालिङ समुदायको उत्थानका निम्ति गठन भएका संगठनहरू जागरुक हुन आवश्यक हुन्छ । भाषा संरक्षणमा विभिन्न प्राज्ञिक संस्था र प्राज्ञहरूको भूमिका महत्वपूर्ण रहन्छ ।
मातृभाषाको उजागर गर्ने उद्देश्यले जिमी राई उत्थान समाजले संगठनमा आवद्ध राईहरूको भाषामा साहित्यिक रचना लेखन र वाचानको कार्यक्रम गर्दै आएको छ । यसले कुलुङ, खालिङ, थुलुङ, बाहिङ भाषाको संरक्षणमा टेवा पुगेको छ । भाषालाई साहित्यमा रूपान्तरण गर्नु पनि भाषा अभिलेखीकरण गर्नु हो । प्रकाशित कृतिहरूले भाषालाई जीवित राख्न मद्दत गर्दछ । भाषालाई बचाइराख्न साहित्य, कला, संगीत पनि उत्तिकै उत्तरदायी छन् । खालिङ भाषालाई अभिलेखिकरण गरिएको खासै पाइदैन । भाषाविद डा. तारामणि राईले सन् २०१५ मा खालिङ भाषामाथि गरेको समाजिक भाषावैज्ञानिक सर्वेक्षण प्रतिवेदनमा खालिङ भाषामा सबैभन्दा कम अध्ययन अनुसन्धान गरिएको उल्लेख छ ।
कोड मिक्सिङ/स्वीचिङ :
भाषाको मौलिकपन हराउदै जानुमा ‘कोड मिक्सिङ’ को पनि भूमिका हुन्छ । दुई वा दुईभन्दा बढी भाषा वोल्ने वक्ताले एउटा भाषा बोल्दा अर्को भाषाका शब्दहरू सापटी लिएर बोल्ने प्रक्रिया नै ‘कोड मिक्सिङ’ हो । यसलाई सामान्य रूपमा लिदै आए पनि पछि कुनै कालखण्डमा यसको परिणाम नराम्रो आउन सक्ने कुराप्रति सजग हुन जरुरी छ । शब्दहरू सापटी लिदालिदा टार्गेट ल्याङ्ग्वेज (जुन भाषाबाट शब्द लिइन्छ) मा आफ्नो आफ्नो भाषा समायोजित हुने पो हो कि? यसमा पनि ध्यान दिने काम खालिङ भाषाका वक्ताहरूकै हो । जुन आफ्नो मातृभाषा हो जसलाई ’सोर्स ल्याङ्ग्वेज’ र जुन भाषाका शब्द लिइन्छ त्यो भाषा ’टार्गेट ल्यङ्ग्वेज’ हो । यसरी कोड स्विचिङ हुदाहुदा ‘ल्याङ्ग्वेज सिफ्ट’ नै हुने हो कि ? यो पनि सम्भावना छ । कुनै भाषा बिर्सेर अर्को दोस्रो भाषा मात्र प्रयोग गर्ने प्रक्रिया नै ‘ल्याङ्ग्वेज सिफ्ट’ हो । ‘ल्याङ्ग्वेज सिफ्ट’ भएको अवस्था आउनु एउटा भाषाको वक्ता घट्नु र अर्काे भाषाको वक्ता बढ्नु हो । यदि खालिङ भाषीले कोड स्विच गर्दै जादा कुनै ‘टार्गेट ल्याङ्ग्वेज’ नेपाली होस् या अंग्रेजीभाषामा आफुलाई समायोजित गर्नुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न । अतः आफ्नो भाषालाई जोगाउनु पर्छ भन्ने नारा घन्काएर मात्र केही हुनेवाला छैन , यसमा आफै सजग रहन जरुरी छ । भाषाविद डा तारामणि राईले ६० जना वक्तामा गरेको सर्वेक्षणमा अनुसार ३०% खालिङ पुरुष र ३८.३३% महिलाले मात्रै खालिङ भाषा राम्रोसँग बोलेको देखाएको छ । बाकी वक्ता सामान्य रूपमा बोल्ने, अलिअलि बोल्न सक्ने र बोल्नै नसक्ने खालिङ पनि देखाएको छ । यसरी हेर्दा यसै पनि यो भाषाको भविष्य अनुमान गर्न सकिन्छ । आफ्नो भाषा आफुले नबोले अरु कसले बोलिदिने भनेर सोच्ने बेला आएको छ ।
खालिङ भाषामा खस भाषाबाट शब्द सापटी लिने गर्दा एकाएक खस भाषाका शव्दले खालिङ शव्दलाई प्रतिस्थापन गरिरहेको देखिन्छ । खालिङ भाषा बोल्दा वाक्यांश वा पुरै वाक्य बिचमा घुसाउने प्रवृत्ति हावी हुँदै जादा कालान्तरमा खालिङ भाषा ‘खालपाली’ भाषामा रूपान्तरण नहोला भन्ने ठाउँ रहदैनं । एक जना बोल्छ, ‘‘तपाई अ्या इअ्यास्त्याम्हेङ् इक् अ्या भोलिबाट काम गर्नुपर्छ । म्या कारण अ्या हामी आजैबाट यसरी चलौं, उसरी चलौं ।…’’ यस्ता कोड मिक्सिङले भाषालाई कति कुरूप बनाएको छ । यसमा नि सोच्ने हो कि? यो प्रवृत्तिले न खालिङ भाषा राम्रो हुन्छ न नेपाली नै राम्रो हुन्छ । ‘कोड स्विचिङ’ र ‘कोड मिक्सिङ’ प्रक्रियाले गर्दा एउटा वक्ताले बोल्ने सबै भाषा नकारात्मक रूपमा प्रभावित हुन्छन् । जसले गर्दा मातृभाषाको मौलिकता कायम् राखिरहन सकेसम्म अन्य भाषाका शब्दहरू सापटी नलिनु उचित हुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली र अंग्रेजी भाषा बिना काम नचल्ने यथार्थलाई पनि स्वीकार्नै पर्ने हुन्छ । भाषिक खिचडी बनाउनुभन्दा बरु नेपाली वा अंग्रेजी भाषा बोल्ने मौका पाउने वित्तिकै नेपाली वा अंग्रेजी फरररर बोलिदिदा ठिक होला कि ?
भाषामा अन्तरभाषिक विवाहको प्रभावः
फरक भाषिक परिवारका महिला र पुरुष बिच विवाह गर्ने प्रचलन पछिल्लो समय बढ्दै छ । पक्कै पनि उनीहरूबिच एउटाको भाषा अर्कोले नबुझ्ने समस्या हुन्छ । उनीहरू कुनै सम्पर्क भाषाको साहारा लिन बाध्य हुन्छन् । नेपाली भाषा नै उनीहरूका लागि सम्पर्क भाषाका रूपमा प्रयोग हुने हो । यसरी परिवारमा दम्पतीका बिच नेपालीमा मात्र बोलचाल हुदा ती दुबैको मातृभाषा ओझेल पर्न जान्छ । ती आमाबाबुका लागि यो कुनै समस्या होइन, उनीहरू आफ्नो भाषा भुल्दैनन् तर उनीहरूका छोराछोरीले भने न आमापट्टिको भाषा बोल्न सक्छन् न बाबुपट्टिको भाषा नै । अहिले यो अवस्था खालिङ समुदायमा पनि देखिदै छ । किराँती भाषीभित्रै पनि विविधता भएकोले खालिङभाषी महिलाले राईभित्रकै फरक भाषी पुरुष र खालिङभाषी पुरुषले कुनै फरक भाषा बोल्ने कुनै राईभाषी महिलासंग विवाह गर्दा उनीहरूबाट जन्मिने छोराछोरीले खालिङ भाषा मात्र होइन अरु कुनै पनि राई भाषा जान्ने मौका पाउदैनन् । उनीहरूले भाषा सिक्ने भनेकै अभिभावकबाट हो तर अभिभावकले नै आफ्नो मातृभाषा बोक्दैनन् भने छोराछोरीले सिक्ने कसरी ? यसरी नै भाषा पुस्तान्तरण हुन नसकी पुराना पुस्तामा सीमित हुन पुग्ने हो । जनगणनाले देखाएको भन्दा वक्ता कम वा वढी हुन सक्छ तर वास्तविक वक्ता कति छन्, यो महत्वपूर्ण कुरा हो । जुभिङ, टाक्सिन्दु, बासा, काँकु र वाकुमा डा. तारामणि राईले गरेको सर्वेक्षण अनुसार ९५% सहभागीले खालिङ समुदायमा अन्तरजातीय वा अन्तरभाषिक विवाह कायम रहेको बताएका छन् । जसमध्ये ६.६७% सहभागी अभिभावकले आफ्नो छोराछोरीले मातृभाषा बोलेको मन नपराएको बुझिएको छ ।
बहुभाषिक समाजमा मातृभाषाको अवस्था :
बहुभाषिक समाजमा एउटा भाषिक समुदायको प्रभाव अर्काे भाषिक समुदायमा पर्नु स्वाभाविक हो । खालिङ भाषी मात्रैको बसोबास नभएकोले अन्य भाषीसंगको निकटताले खालिङ भाषामा नेपाली र अन्य भाषाको प्रभाव परिरहेको हुन्छ । लिङ्गुवा फ्राङ्का (सम्पर्क भाषा) का रूपमा नेपाली भाषा प्रयोग गर्नु नेपालीका लागि अनिवार्य नै छ । तर परिवार भित्र नै भने नेपाली नबोल्दा पनि अहिलेसम्मको अवस्थामा सम्भव छ । केही खालिङ परिवारमा आमाबाबु दुबै खालिङ भइकन पनि उनीहरू आफ्नो छोराछोरीलाई नेपाली भाषा पहिलो भाषाका रूपमा बोल्न प्रेरित गर्छन् । जानेर वा नजानेर पनि खालिङ समुदायका केही अभिभावकले आफ्ना सन्तानलाई भाषा ग्रहणबाट बन्चित गराइरहेका हुन्छन् । यसर्थ, अभिभावकमा यसबारेमा चेतना जगाउन सकिए एकदमै राम्रो हुने थियो । सबैभन्दा बुद्धिमानी त यो हुने हुन्छ कि, सकेको खण्डमा दुवै भाषा संसंगै ग्रहण गराउन सक्नुपर्छ । सुरुमा सिक्ने भाषा मात्र ग्रहण हुने हो, पछि आर्जन गर्ने सबै भाषा सिकाइ मात्र हुन्छ । दुवै भाषा समानान्तर रूपमा सिकाउन सकियो भने बालबालिकाले दुवै भाषा समानान्तर रूपमा नै ग्रहण गर्न सक्छ । वाह्य समाजमा घुलमिल हुन केही हदसम्म बढी सजिलो होला तर दोस्रो भाषाका रूपमा नेपाली भाषा बोल्ने बालबालिका वाह्य समाजमा घुलमिल हुन गाह्रो हुने चाहिँ होइन ।
मातृभाषा खस भाषा :
खालिङ भाषाको भविष्य कति समयसम्म रहने भन्ने कुरा यसका वक्ताहरूमा निहित रहन्छ । शहरी क्षेत्रमा बस्ने अभिभावकका बालबालिकाका लागि नेपाली भाषा नै पहिलो भाषाका रूपमा सिकाउनुपर्ने बाध्यता हो । छिमेकमा बालबालिका साथीहरू नेपाली भाषी नै हुने र स्कुलमा पनि नेपाली वा अंग्रेजी भाषा बोल्नुपर्ने हुदा वाह्य वातावरणमा घुलमिल हुन नेपाली भाषा जान्नुपर्ने हुन्छ । एउटा दृष्टिकोणबाट हेर्दा यो स्वाभाविक छ । तर शहरी क्षेत्रमै बसेका खालिङ अभिभावकले आफ्नो छोराछोरीलाई खालिङ भाषामै बोलाउने गरेको पनि पाइन्छ । यसरी खालिङ भाषामै बोलाउदा उनीहरूका सन्तानले खालिङ भाषा मातृभाषाको रूपमा ग्रहण गर्ने मौका पाउँछन् । जुभिङ, टाक्सिन्दु, बासा , काँकु र वाकुमा डा. तारामणि राईले गरेको सर्वेक्षण अनुसार ७० बालबालिकाले मात्र घरमा मातृभाषा बोल्ने गरेका छन् । ७८.३३% युवाले खालिङ भाषा बोल्छन् भने ३०% अभिभावकले आफ्ना छोराछोरीलाई नेपाली भाषामा बोलाउने गरेको तथ्यांकले देखाएको छ । यसरी नेपाली भाषामा आफ्नो बालबच्चालाई बोलाउने ३०% लाई शून्यमा झार्ने कि अझ बढाउने? यसमा खालिङ समुदायका अगुवाहरूको ध्यान जान जरुरी छ ।
सुरुमा खस भाषा (नेपाली भाषा) सिकाउने प्रवृत्ति खालिङ समुदायमा फाट्टफुट्ट देखिन्छ जसले गर्दा सन्तानको मातृभाषा खस भाषा बन्न पुग्छ । बालबालिका बढ्दै जादा र परिवारमा अभिभावकले बोलेको सुनेर पनि खालिङ भाषा बुझ्न र बोल्न सक्छ । तर त्यो भाषा उसको लागि दोस्रो भाषा हो । खालिङ भइकन पनि बालबालिकाले आफ्नो खालिङ भाषा दोस्रो भाषाको रूपमा सिक्नुपर्ने हुन्छ । पहिला नै बालबालिकामा नेपाली भाषाले मातृभाषाको स्थान लिइसकेको हुन्छ । यदि बालबालिकाले खालिङ भाषा पहिलो भाषाको रूपमा ग्रहण गर्छ भने त्यो अवस्थामा मात्र उसको मातृभाषा खालिङ भाषा हुन सक्छ । यस्तो अवस्थामा उसको मातृभाषा नेपाली र दोस्रो भाषा खालिङ बन्छ । दोस्रो भाषाका रूपमा सिकेका भाषा वास्तवमा मातृभाषा होइन । मानवजातिमा मात्र रहेको भाषा जो मानवले पहिलो भाषाका रूपमा ग्रहण गर्छ, त्यसलाई भाषा ग्रहण (ल्याङ्ग्वेज एक्वीजिसन) भनिन्छ । मानिसले जुन भाषा दोस्रो भाषाका रूपमा सिक्छ, त्यो भाषा सिकाइ (ल्याङ्ग्वेज लर्निङ) हो ।
मातृभाषामा पठनपाठन र सरकारी कामकाज :
खालिङ भाषामा पाठ्य्पुस्तक निर्माण र यसको पठनपाठनले भाषालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पाठ्यक्रम विकास केन्द्रले मातृभाषामा पाठ्यक्रम निर्माण संगै पाठ्यपुस्तकको उत्पादन संकटमा परेको खालिङभाषालाई माथी उचाल्ने एउटा ठोस कदम हो । ऐच्छिक विषयका रूपमा विद्यालयमा अध्ययन–अध्यापन भएपछि खालिङ बालबालिकालाई खालिङ भाषाप्रति अपनत्वको भावना जागृत हुनेमा विश्वास गर्न सकिन्छ । यसका साथै खालिङ भाषा पढ्न चाहने गैरखालिङले पनि खालिङ भाषाको औपचारिक अध्ययन गर्ने मौका पाउछन् । साथै यसले भाषाका अध्येतालाई पनि सहयोग पुर्यारउँछ ।
स्थानीय तहमा मातृभाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्थान दिन सकिए एउटा ठुलो हुनेछ । खालिङ जातिको बाहुल्यता भएको माप्य दुधकोशी गाउँपालिकामा खालिङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन स्थानीय जनप्रतिनिधि र यसमा सरोकार राख्ने अगुवाले पहल गर्नुपर्ने देखिन्छ । यसो भयो भने भाषाको जगेर्ना हुनका साथै नेपाली भाषा राम्रोसंग बुझ्न नसक्ने सेवाग्रही लाभान्वित हुनेछन् । इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा लिम्बु भाषालाई कामकाजको भाषा बनाइएको उदाहरण लिन सकिन्छ । त्यस्तै काठमाडौं महानगरपालिकाले पनि नेपाल भाषाको छुट्टै डेस्क राखी सेवा दिइरहेको उदाहरण पनि हामीमाझ छ । यसरी नै खालिङ भाषालाई पनि माप्य दुधकोशी गाउँपालिकामा सरकारी कामकाजको भाषा बनाउन आवश्यक देखिन्छ । खालिङ भाषाको कक्षा ३ सम्मको पाठ्यपुस्तक प्रकाशन भए पनि पठनपाठन सुरु भयो भन्ने चाहिँ सुन्न पाइएको छैन । खालिङको बाहुल्यता भएका विद्यालयहरूमा सकेसम्म अध्यापन सुरु गरिहाल्नुपर्ने देखिन्छ ।
सारांश :
भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्ने कुरा बुझ्न जरुरी छ । खालिङ भाषाको अवस्था एउटा कोणबाट हेर्दा सन्तोषजनक देखिए पनि अर्काे कोणबाट हेर्दा खालिङ भाषाको अवस्था नाजुक छ । नेपाली र अंग्रेजी दुई शक्तिशाली भाषाहरूले खालिङ भाषालाई अप्रत्यक्ष रूपमा मिचिरहेको कुरा बुझ्न जरुरी छ । भाषालाई जिवन्त बनाउन भाषाका वक्ता स्वयम्को भूमिका महत्वपूर्ण रहन्छ । यसपछि भाषिक संस्था, प्राज्ञिक संस्था र भाषाको क्षेत्रमा दखल भएका प्राज्ञहरूले भूमिका खेल्नुपर्छ । भाषालाई अभिलेखीकरण गर्नु जरुरी छ । कला, साहित्य, संगीत, पुस्तक कुनै पनि माध्यमबाट खालिङ भाषालाई जोगाउन लागि पर्नुपर्छ । खालिङ भाषा बोल्ने भनेकै खालिङहरूले हो, अरु कसैले बोलिदिने होइन ।
सन्दर्भसामग्री :
साभार ः सुन्म्यासङ
M.A in Liguistics
Tribhavan University, Kirtipur, KTM